

२० चैत, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी सिन्धुपाल्चोक २ का सांसद युवराज दुलालले सरकारलाई प्राप्त समयको सदुपयोग गर्न सुझाव दिएका छन् । आइतबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले भने, ‘सरकारलाई म भन्न चाहन्छु । सरकार एक्सनमा जाओस् । तर, सरकारले स्टन्ट गरेर समय बर्बाद नगरोस् ।’ उनले आज संघीय सांसदका रुपमा पहिलो सम्बोधन गरेका हुन् ।
राज्यको समय ट्रायल गरेर, स्टन्ट गरेर बर्बाद गरियो भने नवयुवाहरूको भावनालाई सम्बोधन गर्न सक्ने अवस्था नरहने उनले बताए । विगतमा राज्यदारा नै विभेदमा पारिएका वर्ग र समुदाय खासगरी दलित समुदायसँग सरकारले माफी मागेको विषयलाई उनले सकारात्मक भने ।
उत्पिडमा परेका वर्गलाई अधिकार दिने गरी संविधान बनेको र उक्त संविधानको असली कार्यान्वयले समाजमा समानता ल्याउने पनि उनले बताए । सभामुखमा निर्वाचित डोलप्रसाद अर्याललाई शुभकामना दिँदै उनले तटस्थताको अपेक्षा गरिएको बताए । ‘यो बहुमतको पेलान गर्ने थलो नहोस्’ उनले भने । जेनजी आन्दोलन व्यवस्थाको विरुद्ध नभएर अवस्था परिवर्तनका लागि भएको भनेर उनले त्यसअनुसारको व्यवहार हुनुपर्ने बताए ।
अनलाइनखबरबाट

