

२३ चैत, काठमाडौँ, आगामी बजेटमा बालबालिकासँग सम्बन्धित कार्यक्रमहरूको प्रभावकारी प्राथमिकीकरण र संस्थागत समावेशीकरणका लागि सरकारका सातवटा प्रमुख निकायले साझा प्रतिबद्धता जनाएका छन्। बालबालिका लक्षित लगानीलाई थप पारदर्शी र व्यवस्थित बनाउने उद्देश्यले काठमाडौँमा आयोजित ‘बाल उत्तरदायी बजेट संकेत प्रणालीसम्बन्धी संघीय तहका कार्यक्रमहरूको प्राथमिकीकरण कार्यशाला’ मार्फत यस्तो प्रतिबद्धता व्यक्त गरिएको हो।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आयोजना तथा सामाजिक सुरक्षा नागरिक समाज सञ्जाल, युनिसेफ, युरोपियन युनियन, सशक्त महिला समृद्ध नेपाल कार्यक्रम, सेभ द चिल्ड्रेन र विद्यालय शान्ति क्षेत्र अभियानको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो। कार्यशालामा अर्थ मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, राष्ट्रिय बाल अधिकार परिषद्, राष्ट्रिय योजना आयोग र राष्ट्रिय परिचयपत्र विभागका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव चक्र बहादुर बुढाले संघीय शासन प्रणालीपछि विभिन्न क्षेत्रमा बालबालिकासँग सम्बन्धित कार्यक्रमहरू सञ्चालन भए पनि ती शीर्षकहरू छरिएर रहँदा लगानीको वास्तविक मूल्याङ्कन हुन नसकेको स्वीकार गरे । उनले आगामी आर्थिक वर्ष २०८३/८४ को संघीय बजेटमा ‘बाल–उत्तरदायी बजेट संकेत प्रणाली’ पूर्ण रूपमा समावेश गरी बालबालिकाका लागि छुट्याइएको स्रोतको सही पहिचान र व्यवस्थापन गरिने जानकारी दिए ।
कार्यशालाका क्रममा सहभागी सरकारी निकायहरूले ‘बालबालिका उत्तरदायी बजेट संकेत कार्यविधि, २०८२’ अनुसार आफ्ना कार्यक्रमहरूलाई प्रत्यक्ष, अप्रत्यक्ष र तटस्थ वर्गमा वर्गीकरण गर्ने अभ्यास गरेका थिए। कार्यविधि अनुसार ८० प्रतिशत वा सोभन्दा बढी लाभ बालबालिकालाई पुग्ने कार्यक्रमलाई प्रत्यक्ष, ५० देखि ८० प्रतिशतसम्म लाभ पुग्नेलाई अप्रत्यक्ष र २० प्रतिशतभन्दा कम लाभ पुग्नेलाई तटस्थ कार्यक्रमका रूपमा वर्गीकरण गरी बजेट सुनिश्चित गर्ने गरिन्छ।
अभ्यासका क्रममा सहभागी सातवटै निकायले आ–आफ्ना मन्त्रालय र विभागका कार्यक्रमहरूलाई सोही मापदण्डका आधारमा संकेतिकरण गरी प्रस्तुतीकरण गरेका थिए। यस साझा पहलले संघीय बजेट प्रक्रियालाई दिगो रूपमा बालमैत्री बनाउन र राज्यको लगानीलाई बालबालिकाको हितमा केन्द्रित गर्न महत्त्वपूर्ण कोसेढुङ्गा सावित हुने विश्वास गरिएको छ।

