बराहक्षेत्रमा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि पूर्व सूचना टावर बन्ने

सुनसरीको बराहक्षेत्र नगरपालिकामा जंगली हात्ती र मानवबीचको द्वन्द्व कम गर्ने उद्देश्यले अत्याधुनिक प्रविधियुक्त पूर्व सूचना टावर निर्माण कार्यको औपचारिक शिलान्यास गरिएको छ।

२६ चैत सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिकामा जंगली हात्ती र मानवबीचको द्वन्द्व कम गर्ने उद्देश्यले अत्याधुनिक प्रविधियुक्त पूर्व सूचना टावर निर्माण कार्यको औपचारिक शिलान्यास गरिएको छ।

संयुक्त राष्ट्र परियोजना सेवा कार्यालय, संयुक्त राज्य अमेरिका, विश्व वातावरण कोषको साना अनुदान कार्यक्रम तथा संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको साझेदारीमा सञ्चालित “बराहक्षेत्रमा जलवायु–उत्थानशील पारिस्थितिक प्रणाली पुनस्र्थापना र विपद् जोखिम न्यूनीकरण” परियोजना अन्तर्गत यस कार्यको थालनी गरिएको हो। राष्ट्रिय प्रकोप व्यवस्थापन संजाल नेपाल र स्थानीय महिला सरोकार समाज, सुनसरीको संयुक्त पहलमा सञ्चालित यस कार्यक्रमले बराहक्षेत्र नगरपालिका वडा नं. १ र २ का बासिन्दाहरूको सुरक्षालाई प्राथमिकता दिएको छ।

उक्त टावरको निर्माण कार्यको शिलान्यास बराहक्षेत्र नगरपालिकाका नगर प्रमुख रमेश कार्कीले गरेका छन्व । सो अवसरमा डा नं. २ का वडा अध्यक्ष होम प्रसाद गौतमलगायतको विशेष उपस्थिति रहेको थियो । समुदायको सक्रिय जनसहभागितामा निर्माण हुन लागेको सो टावरले प्रविधिको प्रयोगमार्फत वन क्षेत्रबाट बस्तीतर्फ आउने हात्तीहरूको निगरानी गर्नेछ। टावरमा जडान गरिने क्यामेराले करिब दुई किलोमिटर टाढाबाटै हात्तीको आवागमन पत्ता लगाउन सहयोग गर्नेछ भने सम्भावित जोखिम देखिएसँगै तुरुन्तै चेतावनीमूलक आवाज दिने यन्त्रमार्फत स्थानीय समुदायलाई सचेत गराइने व्यवस्था मिलाइएको छ।

यस नवीन पहलले स्थानीय स्तरमा विपद् जोखिम न्यूनीकरण र जलवायु अनुकूलनको क्षमतालाई थप सुदृढ बनाउने अपेक्षा गरिएको राष्ट्रिय प्रकोप व्यवस्थापन संजाल नेपाल डिमानका अध्यक्ष सुर्य बहादुर थापाले जानकारी दिए। समयमै सूचना प्रवाह हुँदा सम्भावित मानवीय क्षति रोकिनुका साथै स्थानीयको बालीनाली र धनमालको समेत सुरक्षा हुने विश्वास लिइएको अध्यक्ष थापाले बताए । यस परियोजनाले सुरक्षित समुदाय निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्दै मानव र वन्यजन्तुबीचको द्वन्द्वलाई दीर्घकालीन रूपमा व्यवस्थापन गर्न मद्दत पुर्‍याउने अपेक्षा गरिएको छ । बसाई सराइ लगायतका विविध कारण पछिल्लो समयमा पहाड देखि चुरे र तराइसम्म मानव-वन्यजन्तु द्वन्द्व बढ्दै गएको तथ्यहरु सार्वजनिक भइरहेका छन् ।

प्रतिक्रिया