महाकाव्यकार न्यौपानेलाई ‘वसन्तराधा पद्यकाव्य पुरस्कार’

नयाँ वर्ष २०८३ को पहिलो दिन तथा राष्ट्रिय साहित्य दिवसका अवसरमा नेपाली पद्य साहित्यका विशिष्ट साधक चन्द्रप्रसाद न्यौपानेलाई 'वसन्तराधा पद्यकाव्य पुरस्कार-२०६५' बाट सम्मानित गरिएको छ।

१ वैशाख काठमाडौँ ।  नयाँ वर्ष २०८३ को पहिलो दिन तथा राष्ट्रिय साहित्य दिवसका अवसरमा नेपाली पद्य साहित्यका विशिष्ट साधक चन्द्रप्रसाद न्यौपानेलाई ‘वसन्तराधा पद्यकाव्य पुरस्कार-२०६५’ बाट सम्मानित गरिएको छ। राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सिद्धिचरण हलमा आयोजित एक भव्य साहित्यिक समारोहका बीच न्यौपानेलाई यो प्रतिष्ठित पुरस्कार अर्पण गरिएको हो।

साहित्य संवर्द्धन केन्द्र, नेपालद्वारा आयोजित उक्त समारोहमा कवि न्यौपानेले विगत चार दशकदेखि नेपाली शास्त्रीय छन्दको संरक्षण र संवर्द्धनमा अतुलनीय योगदान गरेको विषयमा चर्चा गरिएको थियो। छन्द कविताका फुटकर रचनादेखि विशाल महाकाव्यसम्मको सिर्जनामार्फत समाजमा सकारात्मक र शाश्वत मानवीय सन्देश प्रवाह गरेको भन्दै संस्थाले न्यौंपानेलाई यस वर्षको (चौधौँ) पुरस्कारका लागि चयन गरेको हो। पुरस्कारको राशि नगद ५०,०००/- (पचास हजार रुपैयाँ) र सम्मानपत्र रहेको छ।

पुरस्कार ग्रहण गरेपछि न्यौपानेले नेपाली शिक्षा र साहित्य क्षेत्रका मूर्धन्य व्यक्तित्व वसन्तकुमार शर्म्मा नेपाल र उहाँकी धर्मपत्नी राधाको संयुक्त नाममा स्थापित यस गरिमामय पुरस्कारबाट सम्मानित हुन पाउनु ठूलो गौरवको विषय भएको बताए । यसले पद्य साहित्यको साधनामा थप जिम्मेवारी बोध गराएको उनको भनाई छ । महाकाव्यकार न्यौपानेले आफ्नो अनवरत साधनालाई चिन्ने संस्था र पदाधिकारीहरूप्रति विशेष आभार समेत प्रकट गरेका छन् ।

साहित्य संवर्द्धन केन्द्रका अध्यक्ष भुवनहरि सिग्देलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि एवं केन्द्रका सल्लाहकार ठाकुर शर्मा भण्डारीले न्यौपानेको साहित्यिक उचाइको प्रशंसा गरेका थिए । त्यस्तै, महासचिव एवं पुरस्कारका संस्थापक विनयकुमार शर्मा नेपालले नेपाली पद्य साहित्यको जग बचाउन पुरस्कारको स्थापना गरिएको जानकारी दिँदै न्यौपानेजस्ता समर्पित स्रष्टालाई सम्मान गर्न पाउनु संस्थाकै लागि खुसीको विषय भएको बताए । कार्यक्रममा प्रबुद्ध साहित्यकार, छन्द प्रेमी र विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया