

८ वैशाख, काठमाडौं । नेपालका युवा पुस्तालाई नेतृत्व विकास, नवीन सोच र नेपाल चीनबीचको जनस्तरको सम्बन्ध सुदृढ गर्न चिनियाँ दूतावासले चाइनिज एम्बेसी युथ पायोनियर प्रोग्राम (सी.एन.वाई.पी.) नामक एक वर्षे कार्यक्रम औपचारिक रूपमा सुरु गरेको छ।
यो कार्यक्रम २२ देखि ३४ वर्ष उमेर समूहका नेपाली युवालाई लक्षित छ। व्यवसाय, राजनीति, समाजशास्त्र, संस्कृति लगायत विभिन्न क्षेत्रका युवा पेशाकर्मी, सामाजिक अभियन्ता र परिवर्तनकारी सोच भएका व्यक्तिहरू यसमा सहभागी हुन सक्नेछन्। कार्यक्रमको मुख्य उद्देश्य नेपालको सामाजिक तथा आर्थिक रूपान्तरणमा योगदान दिन सक्ने ‘गेम चेन्जर’ युवा नेतृत्वको विकास गर्नु भएको दूतावासले जनाएको छ ।
कार्यक्रममा छनोट भएका सहभागीहरूलाई नेतृत्व तालिम, नीति तथा सामाजिक मुद्दामा छलफल, कार्यशाला, नेटवर्किङ कार्यक्रम र चीन भ्रमणको अवसर प्रदान गरिनेछ। उनीहरूले स्थानीय समस्यालाई सम्बोधन गर्ने सामुदायिक परियोजना पनि सञ्चालन गर्न सक्नेछन्। कार्यक्रम समाप्तिपछि पनि सहभागीहरूलाई एलुम्नी नेटवर्कमार्फत निरन्तर सहयोग र संलग्नता उपलब्ध गराइने छ। चिनियाँ दूतावासका अनुसार, यो कार्यक्रमले युवालाई नागरिक सहभागिता, सांस्कृतिक आदानप्रदान र व्यावसायिक विकासका माध्यमबाट सशक्त बनाउने छ। नेपालको प्रगतिका लागि समर्पित र परिवर्तनकारी युवाहरूको नेटवर्क निर्माण गर्नु यसको लक्ष्य रहेको जनाइएको छ।
इच्छुक युवाले अंग्रेजीमा भरेको आवेदन फारम cnypnepal@163.com मा इमेल गर्नुपर्नेछ। आवेदन बुझाउने अन्तिम मिति २०८३ जेठ ३ गते (मे १७, २०२६) रहेको छ। छनोट प्रक्रिया कार्यक्रमको उद्देश्यसँग आवेदनको सान्दर्भिकताका आधारमा हुनेछ। समावेशीतामा जोड दिइएको यस कार्यक्रममा नेपाल समाजको प्रतिनिधित्व गर्ने विभिन्न समुदायका युवालाई प्रोत्साहन दिइएको छ। थप जानकारी र आवेदन फारमका लागि चिनियाँ दूतावास नेपालको आधिकारिक वेबसाइट https://np.china-embassy.gov.cn/eng/ हेर्न सकिने छ।

