

१४ वैशाख, काठमाडौँ । नेपालको पर्यटन क्षेत्रमा एक नयाँ र ऐतिहासिक अध्याय थप्दै राजधानी काठमाडौँबाट सबैभन्दा नजिकको दूरीमा रहेको जुगल हिमशृङ्खलामा पर्यटकीय गन्तव्य ‘जुगल एभरेष्ट भ्यु पोइन्ट’ पहिचान गरिएको छ।
जुगल गाउँपालिकाको आयोजना तथा गाउँपालिका पर्यटन विकास समितिको अगुवाइमा सञ्चालित अन्वेषण परियोजना अन्तर्गत ५,५७० मिटर उचाइको यो नयाँ ‘ट्रेकिङ पिक’ को सफल आरोहण भएसँगै यसलाई विश्वव्यापी पर्यटन मानचित्रमा स्थापित गर्ने लक्ष्य राखिएको छ। २०८३ वैशाख ३ गते सम्पन्न गरिएको यस अभियानले काठमाडौँबाट ५ दिनको छोटो समय र नेपालीका लागि करिब ४० हजार रुपैयाँको न्यूनतम खर्चमा सगरमाथासहित ८ हजार मिटरभन्दा अग्ला ५ वटा हिमालहरू (चोयु, मकालु, ल्होत्से र शिशपाङ्मा) को प्रत्यक्ष अवलोकन गर्न सकिने नयाँ सम्भावना उजागर गरेको छ। विदेशी पर्यटकले भने १ हजार डलर खर्चमा यो प्वइन्ट पुगेर आउन सक्नेछन् ।
सोमबार काठमाडौैको पर्यटन बोर्डमा आयोजित पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा सो गौरवपूर्ण उपलब्धिको घोषणा गरिएको हो । कार्यक्रममा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का पूर्व सांसद माधव सापकोटा ‘सुबोध’, बागमती प्रदेश सभा सदस्य सरल सहयात्री, पर्यटन बोर्डका उपाध्यक्ष कमल सापकोटालगायतले यो खोजले सिन्धुपाल्चोकको पर्यटन र स्थानीय अर्थतन्त्रमा कोशेढुङ्गा सावित हुने विश्वाससहित उत्साह व्यक्त गरे । आरोहण टोलीका टिम लिडर मिलन तामाङले ५,५७० मिटरको उचाइमा पुगेर सगरमाथाको प्रस्ट दृश्य देख्दा टोलीले ठुलो सन्तुष्टि प्राप्त गरेको अनुभव सुनाउँदै जान चाहने आन्तरिक तथा बाह्य पर्यटकका लागि आफूहरु सहजीकरण गर्न तयार रहेको जानकारी दिए । कार्यक्रममा जुगल गाउँपालिकाका अध्यक्ष रेशम स्याङ्बोले नयाँ गन्तव्य पत्ता लागेकाले पालिकाले आउने पर्यटकका लागि सहजिकरण गर्ने बताए । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौरव राज केसीले स्वागत मन्तव्य राख्दै पर्यटन प्रवर्द्धनमा सबैको साथका लागि सुभेच्छा प्रकट गरे । सिन्धु पर्यटन व्यवसायी संघका अध्यक्ष महेन्द्र थापालगायतका पर्यटनसंग सम्बन्धित व्यक्तिहरुले यस गन्तव्यको व्यावसायिक महत्त्व र सुरक्षाको सुनिश्चिततामा जोड दिँदै खुसी व्यक्त गरेका थिए ।
नयाँ पहिचान गरिएको यो पदमार्ग काठमाडौँ-जुगल-नेपेमासाल-भ्यु पोइन्ट र फिर्ता गरी कुल ५ दिनमा सम्पन्न गर्न सकिनेछ। पदयात्रीहरू काठमाडौँबाट यातायात मार्फत जुगलको दिपु पुग्नेछन् । त्यहाँबाट धार्मिक र प्राकृतिक रूपमा महत्त्वपूर्ण नेपेमासाल हुँदै ५,५७० मिटरको भ्यु पोइन्टमा पुग्नेछन् र पुन सोही बाटो फर्कनेछन्। यो मार्ग प्राविधिक रूपमा सहज भएकाले विशेष उपकरण विना नै सामान्य शारीरिक तन्दुरुस्ती भएका जो-कोहीले आरोहण गर्न सक्ने जानकारी दिइएको छ । यो सबैले चढ्न सक्ने पोइन्ट हो टिम लिडर तामाङले भने । काठमाडौँबाट छोटो दूरी, सस्तो लागत र सगरमाथाको उत्कृष्ट दृश्य यस गन्तव्यका मुख्य विशेषता हुन् । यसले आन्तरिक तथा बाह्य पर्यटकका लागि जुगललाई प्रमुख गन्तव्य बनाउने अपेक्षा गरिएको छ। यो गन्तव्य पहिचानका लागि तामाङको नेतृत्वमा चार सदस्यीय टोली यहि वैशाख ३ गते त्यहाँ पुगेको थियो । सो टोलिमा तामाङसँग किर्तिमानी सगरमाथा आरोहि लाक्पा डेन्डी शेर्पा, १५ वर्षिय युवा न्गीमा वाङ्चु शेर्पा र स्थानीय बासिन्दा पेमा शेर्पा सहभागि भएका थिए । टोलिले आरोहरणको डकुमेन्ट्रि समेतर कार्यक्रममा प्रस्तुत गरेको थियो ।
लामो समयदेखि आरोहणका लागि बन्द रहेको जुगल हिमालको ढोका २०७५ साल चैतमा पहिलो सफल आरोहण भएसँगै औपचारिक रूपमा खुलेको थियो। पहिलो आरोहण एवं जुगलका थप चुचुराहरू आरोहणका लागि खुला गर्न र यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न तत्कालीन समयदेखि नै पूर्व सांसद सापकोटा र सांसद सहयात्रीले महत्त्वपूर्ण योगदान दिएका छन् । यसकै निरन्तरमा जुगलका विभिन्न चुचुराहरू क्रमशः आरोहणका लागि खुला हुँदै गएका छन् । कार्यक्रममा जुगलको ग्ल्यासियरसम्म हाइड्रो पावर विकासका नाममा डोजर पुगेको भन्दै चिन्ता व्यक्त गरिएको थियो ।

