सुकुटे क्षेत्रमा पर्यटकको गोपनीयता र व्यावसायिक मर्यादा कायम राख्न व्यवसायीहरूको माग

देशकै चर्चित पर्यटकीय हबका रुपमा विकसित सुकुटे क्षेत्रका व्यवसायीहरूले पर्यटकहरूको गोपनीयता र व्यावसायिक मर्यादाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

२३ वैशाख सिन्धुपाल्चोक । देशकै चर्चित पर्यटकीय हबका रुपमा विकसित सुकुटे क्षेत्रका व्यवसायीहरूले पर्यटकहरूको गोपनीयता र व्यावसायिक मर्यादाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

सिन्धु सुकुटे पर्यटन व्यवसायी सङ्घले वैशाख २२ गते मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो समय पत्रकारको आवरणमा केही व्यक्तिहरूले अनुमति बिना रिसोर्टका संवेदनशील क्षेत्रमा प्रवेश गरी पर्यटकहरूको गोपनीयता भङ्ग गर्ने र सामाजिक सञ्जालमा भ्रामक सामग्री फैलाउने कार्य गरेकोमा गम्भीर चिन्ता व्यक्त गरेका हुन् । भूपरिवेष्ठित देश नेपालमा ‘बीच’ (नदी किनारा) को अवधारणालाई स्थापित गरेर देरभरका पर्यटक आकर्षित गरिरहेको पर्यटकीय नगरी सुकुटेमा निश्चित स्वार्थ समूहका कारण परिरहेको नकारात्मक असरप्रति संघले चिन्ता व्यक्त गरेको हो । केहि दिन अघि सुकुटे क्षेत्रका रिसोर्टमा पत्रकारको आवरणमा प्रवेश गरी स्वार्थ समूहले घुम्न आएका पर्यटकलाई अप्ठेरो पारेको जनाइएको छ । यसबार स्थानीय सुरक्षा निकायले पनि चासो राखेको पाइएको छ ।

तीन दशक अघिसम्म बगरका रुपमा रहेको कुटेलाई सुनकोशी नदीको किनारमा रिसोर्ट र राफ्टिङ सहितको आकर्षक र उदाहरणीय गन्तव्यका रुपमा विकसित सो क्षेत्रमा हाल दुई दर्जन बढि साना ठूला विच रिसोर्ट सञ्चालनमा छन्। गत वर्ष चौतारा साँगाचोकगढ नगरपालिका सरकारले यस क्षेत्रलाई ‘पर्यटन क्षेत्र’ घोषणा गरिसकेको अवस्थामा यस्ता अमर्यादित गतिविधिले समग्र देशकै पर्यटन छविमा नकारात्मक असर पार्ने व्यवसायीहरूले उल्लेख गरेका छन्। सिन्धु सुकुटे पर्यटन व्यवसायी संघका सचिव कृष्ण बहादुर सापकोटाद्वारा जारी विज्ञप्तिमा यसबारे सम्बद्द सबैलाई ध्यानाकर्षण गराइएको छ ।

सुकुटे के क्षेत्र

सुकुटे नेपालको सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका र सिन्धु सुकुटे क्षेत्रमा अवस्थित एक प्रमुख पर्यटकीय गन्तव्य हो। भोटेकोशी (सुनकोशी) नदीको किनारमा रहेको यो ठाउँलाई “नेपालको बीच” भनेर चिनिन्छ। काठमाडौंबाट करिब ७० किलोमिटरको दूरीमा रहेको सुकुटे नदीको संलो पानी, बालुवा किनार, रमणीय प्राकृतिक दृश्य र एडभेन्चर गतिविधिका लागि प्रसिद्ध छ। र्‍याफ्टिङ, क्याम्पिङ, स्विमिङ, बिच भलिबल जस्ता क्रियाकलापका कारण यो क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकहरूको लोकप्रिय गन्तव्य बन्दै गएको छ।

विज्ञप्ती

सिन्धुपाल्चोक जिल्लाको सुकुटे क्षेत्र नेपालकै एक प्रमुख पर्यटकीय हबको रूपमा विकास भइरहेको तथ्य सर्वविदितै छ। सुनकोशी (भोटेकोशी) नदीको तटमा होटल, रिसोर्ट, राफ्टिङ, रेस्टुरेन्ट तथा पर्यटनसँग सम्बन्धित व्यवसाय सञ्चालन गर्दै आएका हामी व्यवसायीहरूले आन्तरिक तथा बाह्य पर्यटकहरूलाई सामान्य देखि उच्च स्तरीय सेवा प्रदान गर्दै स्थानीय अर्थतन्त्र र राष्ट्रिय पर्यटनमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएका छौं। यसै कुरालाई मध्यनजर गरेर गत वर्ष यस सुकुटे करिडोरलाई पर्यटकीय नगरीको रूपमा चौतारा साँगाचोकगढी नगरपालिकाले समेत “पर्यटन क्षेत्र” घोषणा गरेको कुरा सम्पूर्णमा सर्वविदितै छ।

तर, पछिल्लो समय केही व्यक्तिहरू पत्रकारको आवरणमा बिना अनुमति रिसोर्टको संवेदनशील क्षेत्रमा प्रवेश गरी पर्यटकहरूको गोपनीयता (Privacy) भङ्ग गर्ने, भ्रामक भिडियो सामग्री तयार गर्ने र त्यसलाई सामाजिक सञ्जालमा अतिरञ्जित ढङ्गले फैलाउने जस्ता अमर्यादित कार्यहरू भइरहेको प्रति सिन्धु सुकुटे पर्यटन व्यवसायी सङ्घको गम्भीर ध्यानाकर्षण भएको छ। पर्यटकहरू आफ्नो व्यक्तिगत समय र मनोरञ्जनका लागि रिसोर्टमा आउने हुनाले उनीहरूको गोपनीयता र शान्ति सुरक्षा कायम गर्नु हाम्रो पहिलो कर्तव्य हो। अनुमति बिना पाहुनाहरूको तस्बिर वा भिडियो खिच्नु र त्यसलाई नकारात्मक आशयले फैलाउनु कानुनी र नैतिक दुवै दृष्टिले गलत छ। यस्ता गतिविधिले सुकुटेको मात्र नभई समग्र देशकै पर्यटन छविमा नकारात्मक असर पार्ने निश्चित छ।

यस विज्ञप्तिमार्फत हामी निम्न बुँदाहरू स्पष्ट पार्न चाहन्छौं:

१. नियमको पालना: सुकुटे क्षेत्रका सबै रिसोर्टहरूले प्रचलित नियम र कानुनको पूर्ण पालना गर्दै व्यवसाय सञ्चालन गरिरहेका छन्। यस सम्बन्धमा कुनै पनि जिज्ञासा वा जानकारी आवश्यक भएमा बलेफीस्थित प्रहरी चौकीमा गएर आधिकारिक जानकारी लिन सकिने व्यवस्था छ।

२. भ्रामक समाचारमा रोक: तथ्यहीन समाचार वा भिडियो सामग्री सम्प्रेषण गरी व्यवसायीहरूलाई निरुत्साहित गर्ने र पर्यटकीय क्षेत्रलाई बदनाम गर्ने कार्य तुरुन्त बन्द गर्न हामी कडा चेतावनी (खबरदारी) दिन चाहन्छौं।

३. कानुनी उपचार: कसैको व्यक्तिगत गोपनीयतामा दखल पुर्याउने र झुटा सामग्री फैलाउने व्यक्तिहरू विरुद्ध प्रचलित कानुन बमोजिम साइबर अपराध लगायतका कानुनी प्रक्रियामा जान सङ्घ बाध्य हुने व्यहोरा समेत जानकारी गराइन्छ।

अन्तमा, सुकुटे क्षेत्रको शान्त, सुरक्षित र मर्यादित पर्यटकीय वातावरण जोगाउन स्थानीय प्रशासन, सुरक्षा निकाय, सञ्चारकर्मी र नागरिक समाज सबैबाट सकारात्मक सहयोगको अपेक्षा गर्दछौं।

धन्यवाद!

कृष्ण ब. सापकोटा सचिव, सिन्धु सुकुटे पर्यटन व्यवसायी सङ्घ सुकुटे, सिन्धुपाल्चोक, नेपाल

प्रतिक्रिया