वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा जुगल गाउँपालिका देशमै १५ औँ र बागमती प्रदेशमा दोस्रो स्थानमा, फोटो फिचर

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको संस्थागत क्षमता र वित्तीय अनुशासनको क्षेत्रमा सिन्धुपाल्चोकको जुगल गाउँपालिकाले उत्कृष्ट नतिजा हासिल गरेको प्रतिवेदन सार्वजनिक गरेको छ।

८ जेठ, काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको संस्थागत क्षमता र वित्तीय अनुशासनको क्षेत्रमा सिन्धुपाल्चोकको जुगल गाउँपालिकाले उत्कृष्ट नतिजा हासिल गरेको प्रतिवेदन सार्वजनिक गरेको छ।

मन्त्रालयले गत २०८३ वैशाख ३१ गते सार्वजनिक गरेको स्थानीय तहको संस्थागत क्षमता विकास अवस्था विश्लेषण तथा क्षेत्र पहिचान प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०/०८१ को वित्तीय सुशासन जोखिम मूल्याङ्कन (Financial Governance Risk Assessment – FRA) मा जुगल गाउँपालिकाले देशैभरका स्थानीय तहहरूमध्ये अग्रणी स्थान सुरक्षित गर्न सफल भएको हो।

राष्ट्रिय र प्रादेशिक स्तरमा ऐतिहासिक सफलता

सार्वजनिक प्रतिवेदन अनुसार जुगल गाउँपालिका राष्ट्रिय स्तरमा देशभरका कुल ७५३ स्थानीय तहमध्ये जुगल गाउँपालिका १५ औँ स्थान मा पर्न सफल भएको छ। प्रादेशिक स्तरमा बागमती प्रदेशका कुल ११९ स्थानीय तहहरूमध्ये यस गाउँपालिकाले दोस्रो स्थान हासिल गर्दै उत्कृष्ट प्रदर्शन गरेको छ। मन्त्रालयका अनुसार यो मूल्याङ्कन मुख्यत: स्थानीय तहको योजना/बजेट तथा कार्यक्रम तर्जुमा, राजश्व व्यवस्थापन, अनुगमन, मूल्याङ्कन तथा लेखापरीक्षण, बजेट कार्यान्वयन क्षमता, र सार्वजनिक सम्पत्तिको संरक्षण जस्ता महत्त्वपूर्ण सुचकाङ्कहरूका आधारमा गरिएको थियो। वित्तीय जोखिम न्यूनीकरण र पारदर्शितामा गाउँपालिकाले देखाएको चुस्तताका कारण यो नतिजा सम्भव भएको हो।

जुगल गाउँपालिका

जुगल गाउँपालिका बागमती प्रदेश अन्तर्गत सिन्धुपाल्चोक जिल्ला मा अवस्थित एक रमणीय तथा दुर्गम भूगोल समेटिएको स्थानीय तह हो। यो गाउँपालिका नेपालको प्रसिद्ध ‘जुगल हिमाल’ को काखमा अवस्थित छ । यसका कारण यसको नामकरण पनि ‘जुगल’ राखिएको हो। यसको कुल क्षेत्रफल करिब २७३.६२ वर्ग किलोमिटर रहेको छ। यस गाउँपालिकाको प्रशासनिक केन्द्र बराम्चीमा रहेको छ। यस अन्तर्गत साविकका सेलाङ, गोल्चे, गुम्बा, पाङताङ, बराम्ची, हागाम र याङलाकोट गरी कुल ७ वटा वडाहरू रहेका छन्।

राष्ट्रिय जनगणना २०७८ अनुसार यस गाउँपालिकाको जनसंख्या करिब १८,३०३ रहेको छ। यहाँ तामाङ, शेर्पा, नेवार र क्षेत्री-ब्राह्मण समुदायको मुख्य बसोबास छ। भौगोलिक रूपमा विकट र चुनौतीपूर्ण भूभाग भए पनि स्थानीय सरकारको सक्रियताका कारण पछिल्ला वर्षहरूमा यहाँको साक्षरता दर (हाल ६०.५८ प्रतिशत) र पूर्वाधार विकासमा तीव्र सुधार भइरहेको छ। जुगल हिमालको फेदीमा रहेकाले यो गाउँपालिका पर्यटन, जडीबुटी संकलन, जलविद्युत् आयोजनाहरू र कृषि (विशेष गरी अलैँची र आलु खेती) का लागि अत्यन्तै सम्भावना बोकेको क्षेत्र हो।

भौगोलिक विकटताका बाबजुद पनि नीतिगत र नियमहरूको पूर्ण पालना गर्दै वित्तीय सुशासनमा देशकै उत्कृष्ट १५ भित्र पर्नुले जुगल गाउँपालिकाले देशका अन्य दुर्गम स्थानीय तहहरूका लागि समेत एउटा बलियो र अनुकरणीय उदाहरण प्रस्तुत गरेको छ। गाउँपालिकाको यो कार्यसम्पादनले स्थानीय नागरिकमा सरकारप्रतिको उत्तरदायित्व र भरोसा अझ बढाएको विश्लेषण गरिएको छ। नतिजा सार्वजनिक भएपछि पालिका अध्यक्ष रेशम स्याङ्बोले सबै जुगलबासीलाई बधाई ज्ञापन गरेका छन् । -https://jugalmun.gov.np/

default

प्रतिक्रिया