जलविरे भ्याली क्याम्पस संचालक समितिको अध्यक्षमा पुनः सापकोटा

ब्रह्मायणी करिडोरकै एकमात्र उच्च शैक्षिक हबको रूपमा स्थापित जलविरे भ्याली क्याम्पसको सञ्चालक समिति अध्यक्षमा चन्द्र सापकोटा पुनः सर्वसम्मत चयन भएका छन्।

९ जेठ, सिन्धुपाल्चोक । ब्रह्मायणी करिडोरकै एकमात्र उच्च शैक्षिक हबको रूपमा स्थापित जलविरे भ्याली क्याम्पसको सञ्चालक समिति अध्यक्षमा चन्द्र सापकोटा पुनः सर्वसम्मत चयन भएका छन्। उनी यसअघि तीन वर्ष अध्यक्ष थिए ।
शनिबार क्याम्पसको सभाहलमा आयोजित छैठौँ क्याम्पस सभा तथा सञ्चालक समिति पुनर्गठन कार्यक्रमबाट सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको हो। समितिको उपाध्यक्षमा अमृत थापा चयन भएका छन्। सदस्यहरुमा अम्बिका नेपाल, हुप बहादुर खड्का, अशोक ढुङ्गाना, कुबेर थापा, प्रकाश थापा, सुनील खत्री, कुश थापा चन्द्रप्रसाद काफ्ले र सुबोध राउत सदस्य रहेका छन । बलेफी गाउँपालिका वडा नं. १, जलविरेमा वि.सं. २०६६ सालमा स्थापना भएको यस क्याम्पसमा हाल शिक्षा र व्यवस्थापन संकायमा पठनपाठन हुँदै आएको छ।
यसअघि गत वैशाख २६ गते आह्वान गरिएको सभामा आजीवन सदस्यहरूको गणपूरक संख्या (कोरम) नपुगेपछि बैठक जेठ ९ गतेका लागि सारिएको थियो। सभामा गंगाप्रसाद पौडेलको संयोजकत्वमा राजकुमार ढुंगाना र राजेशकुमार थापा सदस्य रहेको निर्वाचन मण्डलले निर्वाचन प्रक्रिया सम्पन्न गराएको थियो। समितिले विधान बमोजिम नयाँ कार्यसमितिको सर्वसम्मत नामावली पढेर सुनाएपछि हलले पारित गरेको हो ।
सभाको बन्द सत्रमा क्याम्पस प्रमुख कुमार सापकोटाले क्याम्पसको प्रगति विवरण प्रस्तुत गरेका थिए। सो अवसरमा क्याम्पसको विकासमा पुर्‍याएको योगदानको कदर गर्दै पूर्वअध्यक्ष एवं पूर्वसांसद माधव सापकोटाप्रति आभार व्यक्त गरिएको थियो। सापकोटाको कार्यकालमा क्याम्पसको भवन निर्माण लगायत भौतिक एवं प्राविधिक सामग्रीहरू जुटाइएको पूर्वक्याम्पस प्रमुख शिवबहादुर क्षेत्रीले जानकारी दिए।

प्रमुख अतिथि माधव सापकोटाले नव निर्वाचित समितीलाई बधाई ज्ञापन गर्दै क्याम्पसको शैक्षिक प्रगति र उन्नतिको कामना गरे । उनले कलेजको उन्नलागी कामगर्ने सबैलाई धन्यवाद दिए। यसैगरी जुगल गाउँ पालिका अध्यक्ष रेशम स्याङ्बो, पूर्व अध्यक्ष होम नारायण श्रेष्ठ, अरनिको यातायात ब्यवसायी संघका अध्यक्ष केदार क्षेत्री, बलेफी १ का अध्यक्ष हुप बहादुर खड्का लगायतले शुभकामना प्रदान गरेका थिए ।
हाल यस क्याम्पसलाई बलेफी, जुगल र चौतारा साँगाचोकगढी नगरपालिकाले आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउँदै आएका छन्। यस क्याम्पसको संस्थापक अध्यक्ष गोकर्णदास श्रेष्ठ रहेका थिए।

प्रतिक्रिया