सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता व्यवस्थापनमा एकरूपता ल्याउन अभिमुखीकरण

सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता व्यवस्थापनसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

११ जेठ काभ्रे । सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता व्यवस्थापनसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागको आयोजना तथा सामाजिक सुरक्षा नागरिक समाज सञ्जालको सहयोगमा सम्पन्न कार्यक्रममा बनेपा, धुलिखेल, पनौती, मण्डनदेउपुर, नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाका ७० भन्दा बढी स्थानीय पञ्जीकाधिकारी तथा एम आइएस अपरेटरहरूको सहभागिता रहेको कार्यक्रममा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता व्यवस्थापन र बाल पोषण भत्ता र सकारात्मक अभिभावक शिक्षा सम्बन्धी विषयमा अभिमुखीकरण गरिएको थियो।
कार्यक्रममा विभागका निमित्त महानिर्देशक विजया कुमारी प्रसाईँ, निर्देशक सानुबाबु अधिकारी, सेभ द चिल्ड्रेनका कार्यक्रम व्यवस्थापक हेमन्त दङ्गाल, विभागका शाखा अधिकृत मुनीकुमार तामाङ तथा आईटी इन्जिनियर उज्ज्वल मिश्रले सहजीकरण गरेका थिए ।
निर्देशक अधिकारीले स्थानीय पञ्जीकरण अधिकारीहरू कानुनत महत्वपूर्ण जिम्मेवारीमा रहेको उल्लेख गर्दै व्यक्तिगत घटना दर्ता प्रणालीलाई प्रभावकारी बनाउन उनीहरू अझ जिम्मेवार, संवेदनशील र जानकार हुनुपर्नेमा जोड दिए । त्यसैगरी निमित्त महानिर्देशक प्रसाईँले सामाजिक सुरक्षा भत्ताको दर्ता तथा नवीकरण प्रक्रियालाई राष्ट्रिय परिचय पत्र र बायोमेट्रिक भेरिफिकेसन प्रणालीसँग आबद्ध गरिएको जानकारी दिँदै योग्य नागरिक नछुटून् र दोहोरोपना नियन्त्रण होस् भन्ने उद्देश्यसहित विभागले काम गरिरहेको बताइन । सेभ द चिल्ड्रेनका कार्यक्रम व्यवस्थापक दङ्गालले पाँच वर्षमुनिका बालबालिकालाई प्रदान गरिँदै आएको बालपोषण भत्तासँगै अभिभावक सचेतना तथा सकारात्मक अभिभावकत्वलाई पनि प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याए । उनले बालबालिकामा गरिने लगानी दीर्घकालीन मानव पूँजी निर्माणसँग जोडिएको उल्लेख गर्दै बालबालिकाको क्षेत्रमा राज्यले थप लगानी बढाउनुपर्ने धारणा राखे ।
यस्तै, विभागका शाखा अधिकृत मुनीकुमार तामाङले व्यक्तिगत घटना दर्ता प्रणालीमा देखिएका समस्या, गुनासा तथा कानुनी व्यवस्थाका विषयमा जानकारी गराउँदै स्थानीय तहले नीतिगत आधारमा कार्य गर्नुपर्नेमा जोड दिएकि थिइन । विभागका आईटी इन्जिनियर उज्ज्वल मिश्रले प्रणाली विकासक्रम, प्राविधिक चुनौती तथा समाधानका विषयमा जानकारी गराउँदै सामाजिक सुरक्षा लाभग्राहीहरूको दोहोरोपना नियन्त्रण तथा तथ्याङ्क व्यवस्थापनलाई थप प्रभावकारी बनाउन विभागले निरन्तर काम गरिरहेको बताए ।
कार्यक्रममा सहभागीहरूले यस्ता अभिमुखीकरण कार्यक्रम समय–समयमा आवश्यक रहेको उल्लेख गर्दै आगामी दिनमा जनप्रतिनिधिहरूलाई समेत सहभागी गराएर कार्यक्रम सञ्चालन गर्न सके कार्यसम्पादनमा अझ एकरूपता ल्याउन सहयोग पुग्ने धारणा व्यक्त गरेका थिए। कार्यक्रमको संचालन सामाजिक सुरक्षा नागरिक समाज सञ्जालका कार्यकारी निर्देशक राजेन्द्र चौलागाईंले गरेका थिए भने कार्यक्रममा सञ्जालका कोषाध्यक्ष प्रमोद कुमार आचार्यको समेत सहभागिता रहेको थियो।

प्रतिक्रिया