नेकपाले थाल्यो स्थानीय चुनावको तयारी, विभाग प्रमुख सापकोटाको प्रतिवेदनमाथि छलफल

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी २०८४ सालमा हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी आफ्नो आन्तरिक तयारी तीव्र पारेको छ।

१४ जेठ, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी २०८४ सालमा हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी आफ्नो आन्तरिक तयारी तीव्र पारेको छ।

यसै सिलसिलामा नेकपा स्थानीय तह विभागको आयोजनामा देशभरबाट पार्टीका तर्फबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूको विशेष प्रशिक्षण भेला बुधबारदेखि काठमाडौंमा सुरु भएको छ। पार्टीका संयोजक प्रचण्डद्वारा उद्घाटित प्रशिक्षण भेलामा देशभरका ७५३ स्थानीय तहमध्ये नेकपाले नेतृत्व गरिरहेका १४४ वटा स्थानीय तहका प्रमुख, उपप्रमुख तथा जनप्रतिनिधिहरूको उत्साहजनक सहभागिता रहेको छ। नेपालको राजनीतिक इतिहासको एउटा अत्यन्त असहज र असाधारण स्थितिमा आयोजना गरिएको यो भेलालाई स्थानीय सत्तालाई समाजवादको भ्रूणको रूपमा विकास गर्ने वैचारिक र राजनीतिक कार्यशालाको रूपमा हेरिएको छ। पार्टीको मुख्य अडान, त्याग र क्रान्तिकारी दबाबकै कारण इतिहासमा पहिलो पटक सिंहदरबारमा केन्द्रित रहेको राज्यको अधिकार र स्रोत आज संवैधानिक हिसाबले अधिकारसम्पन्न स्थानीय सरकारका रूपमा क्रियाशील रहेको निष्कर्ष पार्टीले निकालेको छ।

भेलाको पहिलो दिन स्थानीय तह विभागका प्रमुख अग्निप्रसाद सापकोटाले कार्यप्रगतिको समीक्षा र आगामी योजनाबारे एक संक्षिप्त प्रस्ताव प्रस्तुत गरेका छन्र्नु । विभाग प्रमुख सापकोटाद्वारा प्रस्तुत प्रतिवेदनमा अबको करिब १ वर्षपछि २०८४ मा हुने स्थानीय तहको निर्वाचनलाई समाजवादी क्रान्तिको आधार तयार पार्ने ऐतिहासिक अग्निपरीक्षा र वैचारिक राजनीतिक लडाइँको रूपमा परिभाषित गरिएको छ। चालु कार्यकालको यो अन्तिम वर्ष सुरु गरिएका कामहरू सफलतापूर्वक सम्पन्न गर्ने, स्पष्ट परिणाम दिने र जनताको मनमा सकारात्मक छाप छोड्ने वर्ष भएको उल्लेख गर्दै प्रतिवेदनमा जनताको जीवनमा प्रत्यक्ष देखिने परिवर्तन, सुशासन, सेवा प्रवाहको सुधार, नागरिक सन्तुष्टि र अधुरा योजनाहरूको पूर्णतालाई यस वर्षको मुख्य प्राथमिकता बनाउनुपर्नेमा जोड दिइएको छ। जनप्रतिनिधिहरू शासक नभएर जनताका सेवक र रूपान्तरणका संवाहक हुनुपर्ने भन्दै उनले बाँकी कार्यकालमा गुणात्मक नतिजा निकाल्न निर्देशन दिए।

प्रतिवेदनमा अन्तर्राष्ट्रिय अभ्यासहरूको चर्चा गर्दै स्वीजरल्याण्डको संघीयता र जनमतमार्फत हुने प्रत्यक्ष शासन प्रणालीका असल अभ्यासहरू अध्ययनयोग्य रहेको बताइएको छ। साथै, चीनको समाजवादी मोडलअन्तर्गत अर्थशास्त्री खयु जिनले सन् २०२३ को आफ्नो पुस्तक ‘न्यू चाइना प्लेबुक’ मा प्रस्तुत गर्नुभएको ‘मेयर इकोनोमी’ को अवधारणा नेपालको स्थानीय सन्दर्भमा समेत अत्यन्त उपयोगी हुनसक्ने सापकोटाको प्रस्तावमा उल्लेख छ, जसले चीनलाई उत्पादनको केन्द्र बनाई गरिबी उन्मूलनमा चमत्कारिक सफलता दिलाएको थियो। अन्य राजनीतिक दल र नेकपाबीच दृष्टिकोण, वर्गीय पक्षधरता र कार्यशैलीमा आधारभूत भिन्नता हुनुपर्ने र त्यसलाई व्यवहारबाटै प्रमाणित गरिनुपर्ने आवश्यकता औंल्याइएको छ। सुशासन, पारदर्शिता र जनसहभागितामार्फत कर्मचारीतन्त्रको जटिल संरचना र प्रशासनिक ढिलासुस्तीलाई चिर्दै श्रमिक, किसान, महिला, दलित, आदिवासी जनजाति तथा सीमान्तकृत समुदायको जीवनस्तर सुधार्न उत्पादनमुखी कार्यक्रम ल्याउनुपर्नेमा प्रतिवेदनले जोड दिएको छ।

प्रस्तावमा गत भदौ २३ र २४ गतेका घटनाक्रमपछि नेपाली राष्ट्रिय राजनीति र सामाजिक मनोविज्ञानमा अभूतपूर्व फेरबदल आएको विश्लेषण गरिएको छ। भदौ २३ गते युवाहरूको आन्दोलन सकारात्मक मागबाट प्रेरित भए तापनि २४ गतेको विध्वंस र ठूलो क्षति सुनियोजित रहेको तथ्यहरूले पुष्टि गरेको प्रतिवेदनमा उल्लेख छ। नागरिकमा देखिएको असन्तोषको बलमा प्रियतावादीहरूको उदयले स्थापित दलहरूमाथि गम्भीर चुनौती खडा गरेको स्वीकार गर्दै सापकोटाले प्रियतावादीहरूको असलियत जनतासामु स्पष्ट पार्न र युवाहरूले उठाएका प्रश्नहरूको व्यवहारद्वारा उत्तर दिन बढी मेहनत गर्नुपर्ने औंल्याइएको छ। युवाहरूको सूचना प्रविधिसम्बन्धी दक्षता र नवीन सोचलाई स्थानीय नीति निर्माणमा उपयोग गर्दै युवा उद्यमशीलता, स्टार्टअप–नवप्रवर्तन र डिजिटल गभर्नेन्सलाई उच्च प्राथमिकतामा राख्नुपर्ने प्रस्ताव गरिएको छ।

छलफल

नेकपाको नेतृत्व रहेका पालिकाहरूले शिक्षा र स्वास्थ्यको क्षेत्रमा निजी विद्यालयबाट सरकारी विद्यालयमा विद्यार्थी आकर्षित गर्ने गरी गुणस्तरीय निःशुल्क शिक्षा दिएको तथा विपन्न, ज्येष्ठ नागरिक र शहीद परिवारलाई निःशुल्क स्वास्थ्य बीमा गरिदिएका जस्ता धेरै नवीन र असल अभ्यासहरूको दस्तावेजीकरण गर्नुपर्ने आवश्यकता प्रतिवेदनमा औंल्याइएको छ। साथै न्यायिक समितिहरूमार्फत खर्चिलो अदालती प्रक्रिया बिना स्थानीय स्तरमै न्यायोचित मेलमिलाप गराई गरिब र निमुखाहरूलाई घरदैलोमै न्याय दिने उत्कृष्ट काम भइरहेको उल्लेख छ।

स्थानीय सरकार जनताको सुख-दुःखको प्रत्यक्ष अभिभावक भएकाले खस्किएको जनविश्वासलाई पुनः स्थापित गर्ने महत्वपूर्ण जिम्मेवारी जनप्रतिनिधिहरूको काँधमा रहेको विभाग प्रमुख सापकोटाले बताए । विगतका कमजोरीहरूको गम्भीर समीक्षा गर्दै नयाँ पुस्तालाई पूर्ण विश्वासमा लिएर उनीहरूको ऊर्जालाई देश निर्माणमा परिचालन गर्नु आजको प्रमुख आवश्यकता रहेको उनको भनाइ छ। दृढ आदर्श, स्पष्ट लक्ष्य र जनसेवाप्रति समर्पणका साथ गाउँ, शहर र टोल–बस्तीमा पुगेर नागरिकका कुरा ध्यानपूर्वक सुनी योजना तर्जुमा गरेमा आगामी २०८४ को निर्वाचनमा गुणात्मक सफलता हासिल गर्न सकिने र सोही दिशामा अग्रसर हुन यस राष्ट्रिय भेलामार्फत ऐतिहासिक संकल्प गर्न उनले सबैलाई आव्हान गरे ।

प्रस्तावमा व्यापक छलफल पछि यो दुई दिने विशेष प्रशिक्षण भेला बिहीबार आज पार्टी संयोजक प्रचण्डले सम्बोधन गरेपछि औपचारिक रूपमा समापन हुने नेकपाले जनाएको छ।

प्रतिक्रिया