नेपालमा १८औँ गणतन्त्र दिवस भव्य रूपमा मनाइँदै, संस्थागत परिपक्वतातर्फ लम्किँदै मुलुक

नेपालमा २४० वर्ष पुरानो शाहवंशीय राजतन्त्रको अन्त्य भई सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको ऐतिहासिक दिनको स्मरण गर्दै आज देशभर १८औँ गणतन्त्र दिवस भव्य रूपमा मनाइँदैछ ।

१५ जेठ, काठमाडौँ – नेपालमा २४० वर्ष पुरानो शाहवंशीय राजतन्त्रको अन्त्य भई सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको ऐतिहासिक दिनको स्मरण गर्दै आज देशभर १८औँ गणतन्त्र दिवस भव्य रूपमा मनाइँदैछ ।

जनयुद्ध र जनआन्दोलनको बलमा वि.सं. २०६५ जेठ १५ गते ऐतिहासिक संविधानसभाको पहिलो बैठकले नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको ऐतिहासिक उपलब्धिको १८ वर्ष पुगेको अवसरमा आज राजधानीको सैनिक मञ्च टुँडिखेलसहित देशभर विभिन्न कार्यक्रमहरूको आयोजना गरिएको छ । डेढ दशकभन्दा लामो यो यात्रामा गणतन्त्र व्यवस्था परिवर्तनमा मात्र सीमित नरही नागरिकको तहसम्म संस्थागत हुँदै गएको सन्दर्भमा यस वर्षको दिवसलाई विशेष महत्त्वका साथ हेरिएको छ ।

गणतन्त्र दिवस मूल समारोह समितिद्वारा आज बिहान सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रधानन्यायाधीश लगायत राज्यका उच्चपदस्थ अधिकारीहरूको उपस्थिति रहने छ । समारोहमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा मार्च पास्ट, विशेष सैनिक कला र सांस्कृतिक झाँकीहरू प्रस्तुत हुने छन् । सो अवसरमा देश र जनताको स्वतन्त्रता एवं गणतन्त्र स्थापनाका लागि आफ्नो अमूल्य जीवन आहुति दिने सम्पूर्ण ज्ञात-अज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिने कार्यक्रम छ । नेपाली आकाशबाट हेलिकप्टरमार्फत पुष्पवृष्टि गराई ‘गणतन्त्र दिवस अमर रहोस्’ अंकित ब्यानर प्रदर्शन गर्ने चलन छ ।

१८औँ वर्षको यो मोडमा आइपुग्दा गणतन्त्र राजनीतिबाट अघि बढेर सामाजिक र नागरिक चेतनाको तहमा संस्थागत हुँदै गएको विश्लेषण गरिएको छ । देशमा अधिकारमुखी आन्दोलन, विचार अभिव्यक्तिको पूर्ण स्वतन्त्रता र समावेशी प्रतिनिधित्व सुनिश्चित हुनुले गणतन्त्रको जग बलियो बनेको दलहरूले दाबी गरेका छन् । विशेष गरी पछिल्लो समय युवा पुस्ता र नयाँ नेतृत्वले देशको बागडोर सम्हाल्ने आकांक्षा देखाउनु र राज्यका संयन्त्रहरूमा नागरिक उत्तरदायित्वको प्रश्न जोडदार रूपमा उठ्नुले गणतान्त्रिक पद्धति परिपक्वतातर्फ उन्मुख भएको सङ्केत गर्दछ । यद्यपि, व्यवस्था परिवर्तन भए पनि जनताको दैनिक जीवनस्तर, सुशासन र आर्थिक समृद्धिमा अपेक्षाकृत सुधार आउन नसक्दा नागरिक तहमा अझै पूर्ण सन्तुष्टि देखिन सकेको छैन ।

गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले समस्त नेपाली नागरिकहरूमा हार्दिक शुभकामना व्यक्त गर्दै यस ऐतिहासिक दिनले देशको अखण्डता, राष्ट्रिय एकता र लोकतान्त्रिक मूल्य मान्यतालाई थप सुदृढ बनाउन प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् । काठमाडौै उपत्यका बाहिर सातै प्रदेशका राजधानी, जिल्ला सदरमुकामहरू र स्थानीय तहहरूमा पनि प्रभातफेरी, विचार गोष्ठी, खेलकुद तथा रचनात्मक कार्यक्रमहरू गरी यो दिवस उल्लासमय वातावरणमा मनाइँदैछ । विभिन्न सरकारी भवन तथा चोकहरूमा दीपावली गर्ने र राष्ट्रिय झण्डा फहराउने कार्यक्रमहरू तय गरिएका छन् । नागरिक समाज र आम सर्वसाधारणले भने शासन व्यवस्था संस्थागत भइरहँदा दलहरूले राजनीतिक खिचातानी भन्दा माथि उठेर मुलुकको आर्थिक विकास, युवा पलायनको रोकथाम र दिगो शान्तिका लागि ठोस काम गर्नुपर्ने औंल्याएका छन् ।

प्रतिक्रिया