विभागको भेला: स्थानीय सरकारमार्फत जनविश्वास आर्जन गर्ने रणनीति पारित

पार्टी एकताको सात महिना बितिसक्दा पनि तल्लो तहसम्म साङ्गठनिक संरचना पूर्ण रूपमा एकीकृत भइनसकेको र भर्खरै सम्पन्न निर्वाचनमा अपेक्षित परिणाम आउन नसकेको पृष्ठभूमिमा नेकपाले स्थानीय तहलाई नै आफ्नो मुख्य 'शक्ति केन्द्र' का रूपमा ब्युँताउन खोजेको देखिन्छ।

जेठ १५ काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको समीक्षा र पार्टी सङ्गठन सुदृढीकरणको बहस चलिरहेका बेला नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो सम्पूर्ण ध्यान स्थानीय सरकारमार्फत जनविश्वास आर्जन गर्ने रणनीतिमा केन्द्रित गरेको छ। काठमाडौँमा सम्पन्न ‘स्थानीय तह जनप्रतिनिधि राष्ट्रिय प्रशिक्षण भेला’ ले पारित गरेको १० बुँदे ‘कार्यदिशा २०८३’ ले पार्टीको आगामी राजनीतिक र चुनावी रोडम्याप स्पष्ट पारेको छ।

पार्टी एकताको सात महिना बितिसक्दा पनि तल्लो तहसम्म साङ्गठनिक संरचना पूर्ण रूपमा एकीकृत भइनसकेको र भर्खरै सम्पन्न निर्वाचनमा अपेक्षित परिणाम आउन नसकेको पृष्ठभूमिमा नेकपाले स्थानीय तहलाई नै आफ्नो मुख्य ‘शक्ति केन्द्र’ का रूपमा ब्युँताउन खोजेको देखिन्छ।

जनमुखी नारा र डिजिटल सुशासनको जग

नेकपाको यो कार्यदिशाले परम्परागत कम्युनिष्ट शैलीभन्दा आधुनिक, प्रविधिमैत्री र परिणाममुखी कार्यशैलीलाई जोड दिएको छ। कार्यदिशामा स्थानीय सरकारलाई ‘जनताको घरदैलोको सरकार’ का रूपमा परिभाषित गर्दै उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गर्ने संकल्प गरिएको छ।

कार्यदिशाका मुख्य रणनीतिक पिल्लरहरू

मुख्य लक्ष्य: मिसन २०८४ को तयारी

नेकपाको यस प्रशिक्षण र कार्यदिशाको घोषित उद्देश्य आगामी २०८४ सालको आवधिक निर्वाचन नै हो। दस्तावेजको बुँदा नम्बर १० मा “नेपाली कम्युनिष्ट पार्टीको पहिचान नै स्थानीय सरकारसँग जोडिएको सन्दर्भमा आगामी २०८४ को निर्वाचनमा हालका पालिकासँगै अन्य पालिकाहरू पनि विजय सुनिश्चित हुने गरी आवश्यक आधार तयार गरिनेछ” भनिएको छ ।

यसका लागि पार्टीले नतिजा देखाउने’ रणनीति लिएको छ । जसमा २०७९ को स्थानीय निर्वाचनदेखि २०८४ सम्मका उपलब्धिहरूको तुलनात्मक अध्ययन गरी शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा भएका परिवर्तन समेटेर वृत्तचित्र निर्माण गरिने भनिएको छ। यस्तै सफलता तथा असल अभ्यासहरूको डिजिटल अभिलेखीकरण गरी सामाजिक सञ्जालमार्फत व्यापक प्रचार–प्रसार गर्ने नीति लिइएको छ, यसले युवा मतदातालाई आकर्षित गर्न सहयोग पुर्‍याउने विश्वास नेकपाको छ। नेकपाले प्रत्येक पालिकाले कम्तीमा एउटा नमुना तथा उदाहरणीय कार्य गर्नुपर्ने बाध्यात्मक व्यवस्थाले दलका जनप्रतिनिधिहरूबीच कार्यसम्पादनमा प्रतिस्पर्धा गराउने देखिन्छ ।

चुनौती र सम्भावनाको दोभानमा नेकपा

नेकपाको ‘कार्यदिशा २०८३’ निकै आकर्षक, परिणाममुखी र ‘समाजवादउन्मुख’ देखिन्छ। तर, यसको कार्यान्वयनमा केही गम्भीर चुनौतीहरू तेर्सिएका छन् । नेकपाका नेता एवं स्थानीय विभाग प्रमुख अग्निप्रसाद सापकोटाले प्रशिक्षणमा भनेझैँ, यो भेला र कार्यदिशा आगामी निर्वाचनमा ‘गुणात्मक सफलता’ हासिल गर्न जनप्रतिनिधिहरूलाई धारिलो बनाउने प्रयास हो। यदि नेकपाले आफ्ना स्थानीय सरकारहरूलाई साँच्चिकै उत्तरदायी, बेरुजुमुक्त र डिजिटल बनाउन सक्यो भने यसले ‘मिसन २०८४’ का लागि बलियो राजनीतिक पुँजी निर्माण गर्नेछ।

नेकपाले जितेका १४४ स्थानीय तहका प्रमुख उपप्रमुखहरुको भेलामा पार्टीका संयोजक प्रचण्ड, सहसंयोजक माधव नेपाल, नेता नारायणकाजी श्रेष्ठ र वामदेव गौतम लगायतको उपस्थिति रहेको थियो । उक्त भेलामा विभागले यस पटक स्थानीय तहका नेताहरूलाई सुन्ने परिपाटी बसालेको छ। यसले पार्टीको कार्यशैलीमा नवीनता ल्याए पनि पार्टीका सबै संयन्त्रहरूमा एकरूपता आउने विषय भने अझै ‘पर्ख र हेर’ कै अवस्थामा छ।

प्रतिक्रिया