

जेठ १५ , काठमाडौं। जनकपुर उपमहानगरपालिका वडा नम्बर १७ मा सञ्चालित ‘मैथिली जलश्रोत व्यवस्थापन परियोजना’ को महत्त्वपूर्ण कार्य तथा सिकाइहरूका बारेमा समीक्षा गरिएको छ। एसियन डिजास्टर रिडक्सन एण्ड रेस्पोन्स नेटवर्क (एडिआरआरएन) को सहयोगमा डिमान र अनन्त नेपालद्वारा सञ्चालन गरिएको कार्यक्रम बारेमा सरकारी अधिकारीहरु र विपद व्यवस्थापन विज्ञहरुकाे उपस्थितिमा महत्वपूर्ण छलफल भएको हो ।
कार्यक्रममा डीमानका अध्यक्ष सूर्यबहादुर थापाले विपद् जोखिम न्यूनीकरणका कामलाई मुख्य प्राथमिकतामा राखेर सरकारले योजना बनाउनुपर्ने र त्यसमा समुदायको सहभागिता अनिवार्य हुने बताएका थिए । यसैगरी सामुदायिक वन उपभोक्ता महासंघ नेपालकी महासचिव पार्वता गौतमले विपद न्यूनिकरण गर्न समुदायलाई सहयोग र सूचनामा पहुँच चाहिने बताउँदै प्रकोपको प्रकृति र यसको विज्ञानलाई सही ढंगले बुझ्नसके मात्र सम्भावित जोखिमलाई न्युनिकरण गर्न सकिने बताइन । कार्यक्रममा कृषि वन तथा पर्यावरण मन्त्रालयका उपसचिव प्रकाश सिंह थापाले जलवायु परिवर्तनका असरहरू अब प्राविधिक अवधारणामा मात्र सिमित नरही वास्तविक जीवनको अपरिहार्यता बनेको उल्लेख गरे ।
जलवायु विज्ञ डा. धर्म उप्रेतीले प्रकोपलाई वैज्ञानिक दृष्टिले बुझ्नुपर्ने बताउँदै सरकारी निकायहरूबीच एकीकृत कार्ययोजनाको माग गरे । सरकारी प्रतिनिधिले विपद् पूर्वतयारीमा ७० प्रतिशत र प्रतिकार्यमा ३० प्रतिशत बजेट विनियोजन गर्ने नीति अघि सारेको जानकारी दिए । जलवायु परिवर्तन र विपद् व्यवस्थापनलाई अलग अलग विषयका रूपमा हेर्ने विद्यमान प्रवृत्तिले समस्या निम्त्याएको उनीहरुको भनाइ छ ।
कार्यक्रममा राष्ट्रिय प्रकोप व्यवस्थापन संजाल, नेपाल डिमानका प्राविधिक सल्लाहकार एवं परियोजना प्रमुख रोहित यादवले परियोजनाले हासिल गरेका उपलब्धि र सिकेका पाठहरूका बारेमा विस्तृत जानकारी गराएका थिए । काठमाडौंमा आयोजित उक्त कार्यक्रममा जनकपुरका सरोकारवालाहरूले जुम मार्फत भर्चुअल रूपमा सहभागी भई आफ्ना अनुभव तथा सुझावहरू आदानप्रदान गरेका थिए।
कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव रामबहादुर केसीले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०८३’ बारे जानकारी गराएका थिए । उपसचिव केसीले मनसुनजन्य जोखिम न्यूनीकरणका लागि तय गरिएका योजनाहरूलाई समुदाय स्तरमा प्रभावकारी रूपमा कार्यान्वयन गर्न डिमान लगायतका नागरिक समाज संस्थाहरूको भूमिका अत्यन्त महत्त्वपूर्ण रहने कुरामा जोड दिएका थिए ।
डिमानका अध्यक्ष थापाको अध्यक्षतामा भएको कार्यक्रमका क्रममा सहभागीहरूले विपद् जोखिम न्यूनीकरण, जलवायु परिवर्तन र अनुकूलनका कार्यक्रमहरूलाई परिणाममुखी बनाउन सबै सरोकारवाला निकायहरूबीच प्रभावकारी समन्वय, सहकार्य र साझेदारी हुनुपर्ने आवश्यकता औंल्याएका थिए। कार्यक्रममा एडिआरआरएनका अध्यक्ष ताकेसी कोमिनोबाट प्राप्त शुभकामना सन्देश एडिआरआरएनका वोर्ड सदस्य खड्ग सेन वलीले वाचन गरेर सुनाएका थिए ।

