जापानमा नेपालीको संख्यासँगै बढ्दो विकृति

जापानमै रहेका केही टाठाबाठा र पुराना भनिने नेपालीहरूले नै काम लगाइदिने वा भिसा थपिदिने बहानामा रकम असुलेर बेपत्ता हुने घटनाहरू पछिल्लो समय निकै बढेका छन्।

टोकियो, जापान – मध्यमवर्गीय परिवारका लागि सहज कागजी प्रक्रियाका कारण धेरै नेपाली विद्यार्थीको रोजाइमा परेको जापान पछिल्लो समय रोजगारीका लागि पनि निकै आकर्षक गन्तव्य बनेको छ। व्यवसाय, अध्ययन, रोजगारी, तालिम तथा भिजिट भिसामा आएर जापानमा बसोबास गरिरहेका नेपालीहरूको संख्या ३ लाख ४० हजारभन्दा बढी भइसकेको तथ्यांक केही समयअघि नै सार्वजनिक भएको थियो। तर, नेपालका विभिन्न कन्सल्टेन्सी र म्यानपावर कम्पनीहरूले आकर्षक काम र तलबको प्रलोभन देखाएर नेपाली श्रमिक पठाउने गरे पनि जापान पुगेपछि धेरैले भनेजस्तो काम, सेवा र सुविधा नपाएको गुनासो बढ्दै गएको छ।

नक्कली कागजात र ‘गिजिन्कोकु’ भिसाको सास्ती

नक्कली शैक्षिक प्रमाणपत्र (ब्याचलर डिग्री) बनाएर जापानको ‘गिजिन्कोकु’ (इन्जिनियरिङ/ह्युमानिटिज/इन्टरनेसनल सर्भिस भिसा), होटलको कुक भिसा र तालिम (ट्रेनिङ) भिसा जस्ता माध्यमबाट १५ देखि १६ लाख रुपैयाँ बुझाएर जापान आउने नेपालीहरू अहिले निकै संकटमा छन्। जापानको बदलिँदो आप्रवासी नीति, भाषाको कमजोरी र रोजगारदाताले दिने न्यून सेवा-सुविधाका कारण उनीहरू अप्ठ्यारोमा परेका हुन्।

यही बाध्यताको फाइदा उठाउँदै जापानमै रहेका केही टाठाबाठा र पुराना भनिने नेपालीहरूले नै काम लगाइदिने वा भिसा थपिदिने बहानामा रकम असुलेर बेपत्ता हुने घटनाहरू पछिल्लो समय निकै बढेका छन्। ‘गिजिन्कोकु’ भिसामा कामदार माग गर्ने कतिपय कम्पनीहरू नेपाली, बंगाली वा भारतीय मूलका व्यवसायीका ‘झोलामा सीमित’ (कागजी मात्र) छन् । उनीहरुले जापान पुगेपछि कामदारलाई काम दिन सक्दैनन्। बाहिर काम खोज्दा सुरुको भिसाको प्रकृति र फेला परेको कामको प्रकृति नमिल्दा कामदारहरू अवैधानिक बन्न पुग्छन्। यस्तो अवस्थामा अध्यागमन विभाग (इमिग्रेसन) ले छापा मार्दा पक्राउ परेमा नेपाल डिपोर्ट (निष्कासन) हुनुपर्ने कानुनी जोखिम रहन्छ।

कुक भिसामा ठगी र शोषण

जापानमा कुक भिसाका लागि कम्तीमा १० वर्षको कार्यअनुभव आवश्यक पर्छ। तर, नेपालबाट आउने कतिपय कुकहरूको मःम सम्म बनाउने सीप हुँदैन। उनीहरू नक्कली डकुमेन्ट बनाएर आएका हुन्छन्। काम नजानेपछि होटलका साहुहरूले काम नदिने, काम दिए पनि विभिन्न मानसिक तनाव दिने र हातपात समेत गर्ने गरेको सुनिन्छ। उनीहरूलाई मासिक ७०-८० हजार येन मात्र तलब दिने गरिएको छ।

कतिपय एजेन्टहरू जापान ल्याइदिने काम मात्र गर्छन् र कामको जिम्मा लिँदैनन्। कुक भिसामा आएर बाहिर अन्य अवैध काम गर्नुपर्ने बाध्यताका कारण त्यस्ता नेपालीहरूको मनमा सधैं जापानी प्रहरी र अध्यागमनको डर रहिरहन्छ। पीडितहरूका अनुसार, यही अवस्थाको फाइदा उठाउँदै केही नेपाली दलालहरूले यहाँका ‘हाक्केन’ (कामदार आपूर्ति गर्ने ठेकेदार कम्पनी) मार्फत काममा लगाइदिएबापत कामदारसँग मोटो रकम असुल्छन्। कम्पनीबाट आएको प्रतिघन्टाको तलबको आधा हिस्सा आफूले राखेर आधा मात्र कामदारलाई दिने प्रवृत्ति यहाँका केही बदनाम हाक्केन सञ्चालकहरूको ‘अधिकार’ जस्तै बनेको छ। यहाँका होस्टल, नेपाली पसल (हलाल फुड), हाक्केन, र कागजी कम्पनीका कारण नेपालीहरू दिनानुदिन पीडित बनिरहेका छन्।

भाषाको कमजोरी, कलेज, बसोबास र कार्यस्थलको बेमेल तथा पारिवारिक ऋणको बोझका कारण नेपाली विद्यार्थीहरूमा मानसिक समस्या (डिप्रेसन) तीव्र रूपमा बढिरहेको छ। यसैका कारण कतिपय विद्यार्थीले आत्महत्या समेत गर्ने गरेको दुःखद समाचारहरू पछिल्लो समय थपिएका छन्।

सन् २०२५ को नयाँ नियम र व्यवसायमा संकट

जापान सरकारले सन् २०२५ देखि परिमार्जन गरेको नयाँ नियमका कारण विदेशीहरूद्वारा सञ्चालित साना होटल, पसल तथा व्यवसायहरू चरम संकटमा परेका छन्। यसले व्यवसायी मात्र होइन, त्यहाँ कार्यरत कामदार पनि मारमा परेका छन्।

पहिले बिजनेस म्यानेजमेन्ट (व्यवसाय लगानी) भिसाका लागि ५० लाख येन (करिब ५० लाख रुपैयाँ) पुँजी देखाए पुग्थ्यो। तर, नयाँ नियमअनुसार अब नयाँ दर्ताका लागि ३ हजार मान येन (करिब ३ करोड रुपैयाँ) पुर्‍याउनुपर्ने र २ जना स्थायी कर्मचारी (जसमा १ जना अनिवार्य जापानी नागरिक) राख्नुपर्ने नियम लागू भएको छ।

विगतमा वर्षमा २ जना कामदार जापान ल्याउने, उनीहरूबाट १२ देखि १५ लाख रुपैयाँ लिने र सम्झौताभन्दा फरक काममा लगाउने गरी ‘व्यवसायको नाममा मानिसको व्यापार’ गर्ने प्रवृत्ति बढेकाले जापान सरकारले यो कडा नीति लिएको हो। यो नियमसँगै धेरै साना नेपाली होटल र पसलहरू बन्द हुने अवस्थामा पुगेका छन्, जसको प्रत्यक्ष असर त्यहाँ कार्यरत नेपाली कामदारको भिसा नवीकरणमा परेको छ। यो पनि एक प्रकारको संगठित ठगी नै हो।

दूतावासको मौनता र सामाजिक विकृति

यसरी नेपालीहरू ठगिएका र शोषित भएका घटनाहरू लगातार बाहिरिए पनि जापानस्थित नेपाली दूतावास र एनआरएनए (NRNA) जस्ता सामाजिक संस्थाहरूले ठोस कदम चालेका छैनन्। पछिल्लो समय केही जागरुक युवाहरूले पीडितहरूलाई कानुनी र भाषायुक्त सहयोग गर्ने प्रयास त थालेका छन्, तर जापानको कडा कानुनी दायराभित्र रहेर काम गर्नुपर्ने हुँदा यस्ता व्यक्तिगत प्रयासहरू सोचेजस्तो उपलब्धिमूलक हुन सकेका छैनन्।

जापानमा नेपालीहरूको संख्या बढेसँगै सामाजिक अनुशासनहीनता पनि बढेको छ। नेपालीहरू सार्वजनिक पार्कमा जम्मा भएर नारा-जुलुस गर्ने, रेलको लिक नजिकै बसेर ‘चटपटे पार्टी’ गर्ने, मादक पदार्थ सेवन गरेर बाटोमा होहल्ला गर्ने, रक्सीका बोतल, बियरका क्यान र चुरोटका ठुटाहरू जथाभाबी फाल्ने तथा समूह बनाएर रातभर समाजलाई अशान्त पार्ने जस्ता उच्छृङ्खल गतिविधि गरिरहेका छन्। यस्ता अवाञ्छित कार्यहरूका कारण जापानी समाज र स्थानीय सरकार नेपाली समुदायप्रति नकारात्मक बन्दै गएको समाचारहरू बेलाबेलामा आउने गरेका छन् । यसले समग्र देशकै प्रतिष्ठामा आँच पुर्‍याइरहेको छ।

प्रतिक्रिया