

२२ जेठ, काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूको भारत भ्रमणले कूटनीतिक वृत्तमा ठूलो तरंग पैदा गरेको छ। रास्वपा सभापति रवि लामिछाने नयाँ दिल्लीको उच्चस्तरीय राजनीतिक भेटघाट सकेर उत्तर प्रदेशको लखनउ पुगेका छन् भने सोही पार्टीका तर्फबाट सरकारमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल आजै (शुक्रबार) ३ दिने औपचारिक भ्रमणका लागि भारतको राजधानी नयाँ दिल्ली पुग्दै छन्। पार्टी सभापति भारतमै रहेको समयमा परराष्ट्रमन्त्रीको पनि दिल्ली प्रस्थान हुनुलाई राजनीतिक वृत्तमा रास्वपाको दिल्ली दौड र विशेष कूटनीतिक सक्रियताका रूपमा हेरिएको छ।
भारत भ्रमणमा रहेका सभापति लामिछानेले दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस. जयशंकर र गृहमन्त्री अमित शाहसँग उच्चस्तरीय भेटवार्ता सम्पन्न गरिसकेका छन्। भाजपा नेता नितिन नवीनको निमन्त्रणामा जेठ १८ गते दिल्ली पुगेका लामिछानेले प्रधानमन्त्री मोदीसँग करिब एक घण्टा विशेष वार्ता गर्दै नेपालको नयाँ राजनीतिक सोच र भारतसँगको सहकार्यबारे खुला छलफल गरेका थिए। दिल्लीको महत्त्वपूर्ण राजनीतिक शृङ्खला सकेर लखनउ ओर्लिएका लामिछानेलाई लखनउ विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्री तथा भाजपा नेताहरूले स्वागत गरेका छन्।
सभापति लामिछाने लखनउमै व्यस्त रहेका बेला परराष्ट्रमन्त्री शिशिर खनाल आज नयाँ दिल्ली उत्रन लागेका हुन्। परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनाल भारतीय विदेशमन्त्री डा. एस. जयशंकरको औपचारिक निमन्त्रणामा जुन ५ देखि ७ (जेठ २३ देखि २५) सम्मको भ्रमणका लागि दिल्ली जान लागेका हुन्। लामिछानेले राजनीतिक तहमा बनाएको संवादको वातावरणलाई परराष्ट्रमन्त्री खनालको यो भ्रमणले सरकारी स्तरमा आधिकारिक रूपमा अगाडि बढाउने अनुमान गरिएको छ।
नयाँ दिल्लीमा रहँदा परराष्ट्रमन्त्री खनालले आफ्ना भारतीय समकक्षी डा. एस. जयशंकरसँग द्विपक्षीय औपचारिक वार्ता गर्नेछन्। उक्त बैठकमा दुई देशबीचको व्यापार, लगानी, कनेक्टिभिटी, ऊर्जा र जनता-जनताबीचको सम्बन्ध जस्ता महत्त्वपूर्ण र रणनीतिक क्षेत्रहरूमा सहयोग अभिवृद्धि गर्ने एजेन्डा रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। रास्वपाका शीर्ष नेताहरूको यो ब्याक-टु-ब्याक भारत भ्रमणले नेपाल-भारतबीचको बहुआयामिक सम्बन्धलाई नयाँ उचाइ दिने र थाती रहेका द्विपक्षीय विषयहरूलाई निकास दिने विश्वास लिइएको छ। परराष्ट्रमन्त्री खनाल आफ्नो औपचारिक भ्रमण पूरा गरी आगामी जेठ २५ गते आइतबार काठमाडौँ फर्किने तालिका छ।

