

२२ जेठ काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का वन, वातावरण तथा जलवायु विभाग प्रमुख माधव सापकोटाले जलवायु परिवर्तन र वातावरणीय संकट वर्तमान समयको सबैभन्दा ठूलो र डरलाग्दो खतराको रूपमा खडा भएको बताएका छन्।
विश्व वातावरण दिवसको अवसरमा एक भिडियो सन्देश जारी गर्दै उनले मुलुक अझै पनि गाँस, बास, कपास जस्ता आधारभूत आवश्यकताको परिपूर्ति र राजनीतिक आर्थिक संघर्षमै अल्झिएका कारण प्रकृति, पर्यावरण र जलवायु परिवर्तन जस्ता महत्त्वपूर्ण विषयहरूमा पर्याप्त बहस हुन नसकेको उल्लेख गरेका छन्। हामीले जुन विषयलाई बेवास्ता गरिरहेका छौँ, त्यही विषयले आज सबैभन्दा ठूलो खतराको घन्टी बजाइरहेको भन्दै उनले यो संकटले हाम्रो दैनिक जीवन, कृषि, स्वास्थ्य र समग्र अर्थतन्त्रमा नराम्ररी प्रभाव पारिसकेको बताएका छन्।
भौगोलिक संवेदनशीलताका कारण नेपाल बहुप्रकोपयुक्त देश रहेको स्मरण गराउँदै विभाग प्रमुख सापकोटाले जलवायु परिवर्तनको विश्वव्यापी असरका कारण हाम्रा हिमालहरू पग्लिँदै गएको, पहाडहरूमा बाढी पहिरोको हैरानी बढेको र तराई डुबानमा पर्दै गएको उल्लेख गरेका छन्। यो संकटको सबैभन्दा ठूलो मूल्य हामीले चुकाउनु परिरहेको र बेलैमा सजग नभए भोलिको पुस्ताले अझ बढी खतराको सामना गर्नुपर्ने निश्चित रहेको उनले औंल्याएका छन्। यस वर्षको वातावरण दिवसको नारालाई नारामा मात्र सीमित नराखी मार्गदर्शक सिद्धान्त बनाउनुपर्नेमा जोड दिएका छन्दै । साथै उनले हाम्रा नीति, योजना र विकासका मोडलहरू तय गर्दा प्रकृतिसँग द्वन्द्व गरेर नभई प्रकृतिबाट प्रेरित भएर अगाडि बढ्नुपर्ने बताएका छन्। वर्तमान समयमा बलपूर्वक र अन्यायपूर्ण तवरले प्रकृतिको चरम दोहन भइरहेको प्रति उनले चिन्ता व्यक्त गरेका छन्।
हामी बस्ने साझा र मूल घर पृथ्वी भएको र हाम्रा घर, गाउँ एवं सहरहरू पृथ्वीमाथिका अस्थायी बासस्थान मात्र भएको उल्लेख गर्दै उनले यदि हाम्रो मूल घर पृथ्वी नै संकटमा पर्यो भने सम्पूर्ण मानव जाति र जीवहरू स्वतः महासंकटमा पर्ने बताएका छन्। पृथ्वीको स्वास्थ्य नै हाम्रो जीवनको आधार भएको भन्दै उनले सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, युवा र आम जनसमुदायलाई बेलैमा सजग बन्न र विषयको गम्भीरतालाई आत्मसात गर्न अपिल गरेका छन्। प्रकृति र पर्यावरणको रक्षा गर्नु कसैको एकल दायित्व नभई प्रत्येक नागरिकको कर्तव्य भएको स्पष्ट पार्दै विभाग प्रमुख सापकोटाले विश्व वातावरण दिवसले सबैलाई वातावरण संरक्षणको महाअभियानमा लाग्न ऊर्जा प्रदान गरोस् भनी कामना समेत गरेका छन्।
यसैविच पार्टि एकिकरण अघि विभाग विभागको प्रमुख रहेका सापकोटाले पुन यो जिम्मेवारी पाएका छन् । पार्टीको केन्द्रीय कार्यसमिति बैठकले उक्त विभागको इन्चार्जको जिम्मा सापकोटालाई सुम्पेको हो । पार्टी केन्द्रीय कार्यालयद्वारा जारी पत्र अनुसार, विभागको उपप्रमुखको जिम्मेवारी लक्ष्मण पौडेललाई प्रदान गरिएको छ। पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव कुमार नेपालद्वारा संयुक्त रूपमा हस्ताक्षरित पत्रमा यो निर्णय सार्वजनिक गरिएको हो।

