

२५ जेठ, काठमाडौँ । कलिला मनका गेयात्मक तरङ्ग र शब्दशिल्पी विद्यार्थीहरूको साहित्यिक प्रस्फुटनका बीच ‘पाठशाला प्रकृति काव्योत्सव २०८३’ भव्य रूपमा सम्पन्न भएको छ। पाठशाला नेपाल फाउन्डेसन, बागडोलको नेपाली भाषा साहित्य क्लबद्वारा आयोजित यस दोस्रो संस्करणमा उपत्यकाका ३१ विद्यालयका ३१ जना नवप्रतिभाहरूले आ-आफ्ना काव्यिक सिर्जनामार्फत प्रतिस्पर्धाको मञ्चलाई गुञ्जायमान बनाएका थिए। जेठ २२ गते आयोजित उक्त काव्यिक महाकुम्भको नेतृत्व क्लबकी कप्तान श्रीनिषा बोगटीको सभापतित्वमा भएको थियो ।
भाषाशास्त्री प्रा. डा. माधव पोखरेलको प्रमुख आतिथ्यता रहेको उक्त प्राज्ञिक अनुष्ठानमा निर्णायकको भूमिका वरिष्ठ समालोचक धर्मप्रसाद पोखरेल, कवि बलराम दाहाल र कक्षा १० को नेपाली पाठ्यपुस्तकमा समाविष्ट प्रख्यात ‘आयाम’ कथाकी स्रष्टा बिना थिङले निर्वाह गरेका थिए। काव्योत्सवमा प्रतिस्पर्धी विद्यार्थीहरूले प्रकृति, मानवता, राष्ट्रियता, महिला सशक्तीकरण एवं समसामयिक चेतनाका विविध आयाम र रङ्गहरूलाई शब्दमा उनेर ओजपूर्ण कविताहरू प्रस्तुत गरेका थिए। प्रस्तुत कविताहरूको मूल्याङ्कन मौलिकता, भाषाशिल्प, भाव गाम्भीर्य र सटीक उच्चारण जस्ता शास्त्रीय सूचकका आधारमा गरिएको थियो। प्रतिस्पर्धात्मक प्रस्तुतिका अतिरिक्त मञ्चमा पूर्व विद्यार्थी कप्तान आरुष पन्त, कक्षा ९ की छात्रा अदिति आचार्य (बागडोल), तथा बानेश्वर शाखाबाट कक्षा १० की छात्रा प्रियन्षा बुढाथोकी र छात्र अनुग्रह श्रेष्ठले अप्रतियोगीका रूपमा आ-आफ्ना अब्बल कविता वाचन गरेर कार्यक्रममा थप रौनकता थपेका थिए।
कडा काव्यिक प्रतिष्पर्धाको बीच भ्याली भ्यू स्कुलकी छात्रा अधिश्री शाहले १२५ अङ्कका साथ प्रथम स्थानको उपाधि चुम्न सफल भइन्। त्यसैगरी, ललितपुर माध्यमिक विद्यालयकी छात्रा खुसी बल्छौढीले १२० अङ्क प्राप्त गर्दै द्वितीय स्थान सुरक्षित गरिन् भने नाइटिङ्ग्ल विद्यालयका छात्र क्षितिज पौडेलले ११७ अङ्कका साथ तृतीय स्थान हासिल गरे। विजयी स्रष्टाहरूलाई क्रमशः २५ हजार, १५ हजार र १० हजार रुपैयाँ नगद राशि, ट्रफी, पदक तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरियो। यसका साथै, नेपाल वेद विद्याश्रमका विपिन दाहाल र संस्कृति विद्यालयका आर्नव मानन्धरलाई उनीहरूको प्रतिभाको कदर गर्दै जनही ५ हजार रुपैयाँको प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो। यस उत्सवले नयाँ पुस्तामा साहित्यप्रतिको अभिरुचि जगाउनुका साथै उनीहरूको अन्तर्निहित सिर्जनशीलता प्रस्फुटनका लागि एउटा बलियो र गौरवमय मञ्च दिएको अनुभूति सहभागीहरूले व्यक्त गरे।
कार्यक्रमको समापनको पूर्वसन्ध्यामा विद्यालयका संस्थापक सदस्य तथा पाठशाला नेपाल फाउन्डेसनका प्राज्ञिक निर्देशक प्रा. डा. रामप्रसाद ज्ञवालीले काव्योत्सवलाई भव्य र सभ्य रूपमा सफल पार्न अहोरात्र खटिने सम्पूर्ण विद्यालय, प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, कर्मचारी एवं अभिभावकहरूप्रति हार्दिक कृतज्ञता तथा धन्यवाद ज्ञापन गरे। प्रमुख अतिथि तथा विद्यालयका संस्थापक सदस्य एवं फाउन्डेसनका अध्यक्ष, वरिष्ठ व्यङ्ग्य कवि अर्जुन पराजुलीका चोटिला र बौद्धिक व्यङ्ग्य चेतका प्रस्तुतिले हलमा उपस्थित सबैलाई मन्त्रमुग्ध पार्दै कार्यक्रमलाई थप ओजिलो र आकर्षक बनाएको थियो।

