

१० असार सिन्धुपाल्चोक – जिल्लाको बलेफी गाउँपालिकाको नवनिर्मित सुविधासम्पन्न भव्य प्रशासनिक भवनको आज एक विशेष समारोहका बीच गाउँपालिकाका अध्यक्ष गंगा बहादुर तामाङले औपचारिक उद्घाटन गरेका छन् । उनले भवनको मूल ढोकामा टाँसिएको शिलापत्र खोलेर भवन उद्घाटन गरेका हुन् । उनलाई पालिका उपाध्यक्ष सरु तामाले साथ दिएकी थिइन ।
भवन निर्माणका लागि आफ्नो पुर्ख्यौली तथा अमूल्य करिब ६ रोपनी जग्गा निःशुल्क रूपमा दान गर्ने स्थानीय बगालेगाउँबासी ९ जना मनकारी जग्गादाताहरूलाई समारोहमा भव्य रूपमा सम्मान तथा कदरपत्र प्रदान गरिएको थियो। साथै प्रशासनिक भवन निर्माणका लागि आफ्नो अमूल्य जग्गा निःशुल्क उपलब्ध गराई स्थानीय सरकारको स्थायी संरचना खडा गर्न अतुलनीय योगदान पुर्याउने जग्गादाताहरूको विवरण भवनकै मूल ढोकामा सार्वजनिक गरिएको छ।
पालिकाको विकास र सार्वजनिक सेवा प्रवाहलाई सहज बनाउन नि:स्वार्थ भावनाले जग्गा दान गर्ने बलेफी-५ का ९ जना मनकारी जग्गादाताहरूमा १ रोपनी ११ आना २ पैसा २ दाम जग्गा उपलब्ध गराउने दिवंगत उदि नारायण श्रेष्ठ हुन। यसैगरी जग्गा दान गर्नुहुने अन्य दाताहरूमा १२ आना ३ पैसा जग्गा दान गर्ने हर्क बहादुर श्रेष्ठ, ११ आना २ पैसा जग्गा दान गर्ने राम्जी श्रेष्ठ र ६ आना १ दाम जग्गा दान गर्ने चित्र बहादुर श्रेष्ठ हुनुहुन्छ। त्यस्तै, भवन निर्माणका लागि पदम बहादुर श्रेष्ठले ५ आना २ पैसा ३ दाम, लोक बहादुर श्रेष्ठले ५ आना २ पैसा २ दाम, कुल बहादुर श्रेष्ठले ५ आना २ पैसा २ दाम, तुलसी श्रेष्ठले ५ आना २ पैसा २ दाम र ईन्द्र बहादुर श्रेष्ठले ४ आना २ दाम जग्गा प्रदान गरेका छन् ।
उद्घाटन समारोहमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत होम बहादुर राउत र राष्ट्रसेवक कर्मचारीहरूले नयाँ प्रशासनिक भवनबाट प्रवाह हुने सेवा, प्राविधिक व्यवस्थापन र आगामी कार्ययोजना सम्बन्धी विशेष प्रस्तुति गरेका थिए भने नयाँ संरचनासँगै अबका दिनमा पालिकाको सेवा प्रवाह थप सहज, सुदृढ, व्यवस्थित र जनमुखी बन्ने विश्वास व्यक्त गरिएको छ। भवन उद्घाटन हुनुअघि आजै बिहान गाउँपालिकाको ऐतिहासिक १९औँ गाउँ सभा भव्यताका साथ सम्पन्न भएको थियो। सोही नयाँ र आधुनिक भवनबाट चालू कार्यकालको अन्तिम गाउँ सभा र प्रशासनिक कार्य सँगसँगै अगाडि बढाइँदा उपस्थित जनप्रतिनिधि, कर्मचारी र स्थानीयबासीमा ठूलो उत्साह देखिएको थियो ।
औपचारिक कार्यक्रममा उपस्थित राष्ट्रसेवक कर्मचारीहरूद्वारा विविध सांस्कृतिक नाचगान समेत प्रस्तुत गरिएको थियो । यसले समारोहलाई थप हर्षोल्लासमय बनाएको थियो। उक्त ऐतिहासिक कार्यक्रममा पालिकाका जनप्रतिनिधिहरू, कर्मचारीहरू, सञ्चारकर्मी, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, शिक्षक, स्वास्थ्य स्वयंसेविका, स्थानीय संघ-संस्थाका पदाधिकारीहरू तथा ठूलो संख्यामा बलेफीबासी आम नागरिकहरूको उत्साहजनक उपस्थिति रहेको थियो।




