नेकपाको सिन्धुपाल्चोक इन्चार्जमा अमृता नेपाल, संयोजकमा विनोद खनाल

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले सिन्धुपाल्चोक जिल्ला इन्चार्जको जिम्मेवारी केन्द्रीय सदस्य एवं बागमती प्रदेश सभा सदस्य अमृता नेपाल प्रभालाई दिएको छ।

१० असार, सिन्धुपाल्चोक । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले सिन्धुपाल्चोक जिल्ला इन्चार्जको जिम्मेवारी केन्द्रीय सदस्य एवं बागमती प्रदेश सभा सदस्य अमृता नेपाल प्रभालाई दिएको छ।

नेकपा बागमती प्रदेश समितिको गत जेठ १५ गतेको निर्णयअनुसार नेपाललाई जिल्ला इन्चार्जको जिम्मेवारी दिइएको सूचना सार्वजनिक भएको हो। यसअघि सिन्धुपाल्चोक जिल्ला इन्चार्जको भूमिकामा नेता केशव नेपाल रहेका थिए। पार्टी समायोजनपछि महाधिवेशनको तयारी स्वरूप जिल्ला र प्रदेश तहमा जिम्मेवारी हेरफेर गर्ने क्रममा युवा नेतृ नेपालले सिन्धुपाल्चोकको कमान्ड सम्हाल्ने अवसर पाएकी हुन्।

यस्तै, सिन्धुपाल्चोक जिल्ला संयोजकको जिम्मेवारी भने विनोद खनालले पाएका छन्। खनाल तत्कालीन समाजवादी पार्टीका नेता हुन्। नेकपा माओवादी र समाजवादी सहित २३ वटा राजनीतिक दलहरूबीच पार्टी समायोजन भएपछि अहिले देशैभर जिम्मेवारी हेरफेरको कार्य भइरहेको छ। बागमती प्रदेशमा इन्चार्ज र संयोजक तत्कालीन फरक-फरक दलबाट हुने गरी जिम्मेवारी बाँडफाँट गर्ने नीति अनुरूप सिन्धुपाल्चोकमा यो समीकरण बनेको हो।

भूमिगत कालदेखि नै पार्टीमा सक्रिय रहँदै आएकी अमृता नेपाल सिन्धुपाल्चोकको बलेफी गाउँपालिका वडा नं. ६ की स्थायी बासिन्दा हुन्। उनले पार्टीले दिएको नयाँ जिम्मेवारीलाई आफूले एक महत्त्वपूर्ण अवसरका रूपमा लिएको प्रतिक्रिया दिएकी छन्।

प्रतिक्रिया