

३० असार , काठमाडौँ – राजधानीका स्थापित सञ्चारगृह र प्रतिपक्षी नेताको घरलक्षित गरी असार २९ गते एकाबिहानै गरिएको रहस्यमयी ‘कार-नाकाबन्दी’ को घटनाले चौतर्फी आक्रोश र संशय जन्माएको छ ।
कान्तिपुर मिडिया ग्रुप, अनलाइनखबर र हिमालय टेलिभिजन जस्ता मुख्यधारका सञ्चारमाध्यमका प्रवेशद्वारहरू ठप्प पार्ने गरी एकै समयमा गरिएको यो हर्कत सामान्य ट्राफिक उल्लंघन मात्र नभएर नेपाली सञ्चार क्षेत्रलाई त्रसित बनाउने नियोजित भिजिलान्ते गतिविधि भएको ठहर समीक्षकहरूले गरेका छन् । जनसरोकारका आलोचनात्मक समाचार सम्प्रेषण गरेकै कारण रिसइबी साँध्न र प्रेसलाई ‘सांकेतिक धम्की’ दिन शक्ति र सत्ताको आडमा यो कदम चालिएको दाबी चौतर्फी रूपमा भइरहेको छ ।
साेमबार बिहान करिब सवा ७ बजेको समयमा फरक फरक स्थानमा मास्क र चस्मा लगाएका व्यक्तिहरूले गाडी तेर्स्याएर चालकहरू फरार हुनुले यो घटना आकस्मिक नभई अत्यन्तै योजनाबद्ध ढंगले रचिएको पुष्टि गर्छ । कान्तिपुरको मूल गेट अगाडि राखिएको बा प्र. ०१-०३४ च ८४८० नम्बरको कालो जिप सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय विभाग सदस्य रवि जयसवालको भएको पुष्टि हुनुले यस घटनाको राजनीतिक कनेक्सनलाई सतहमा ल्याइदिएको छ । आलोचना सहन नसक्ने राजनीतिक शक्ति र तिनका संगठित कार्यकर्ताहरूले सञ्चारकर्मीहरूमा मनोवैज्ञानिक त्रास सिर्जना गर्ने र उनीहरूको दैनिक रिपोर्टिङको काममा अवरोध पुर्याउने नियत राखेको स्पष्ट देखिन्छ।
यस गम्भीर घटनामा राज्यको सुरक्षा प्रशासन र प्रहरीको भूमिका भने निकै फितलो र शंकास्पद देखिएको छ । घन्टौँसम्म सञ्चारगृहका ढोका थुनिँदा समेत मूकदर्शक बनेको प्रहरी प्रशासनले पछि क्रेन बोलाएर गाडी हटाए पनि यसलाई गलत पार्किङको सामान्य प्राविधिक मुद्दा बनाएर सामसुम पार्न खोजेको छ । यति ठूलो सङ्गठित र नियोजित षड्यन्त्रलाई ट्राफिक प्रहरीले सामान्य जरिवाना मात्रै गराएर गाडीहरू छाडिदिएको विषयमा संसद्देखि सडकसम्म तीव्र आलोचना भइरहेको छ । अपराधको गहिराइमा पुगेर मुख्य योजनाकारलाई कानुनी कठघरामा उभ्याउनुको साटो सामान्य जरिवानामा मुद्दा टुङ्ग्याउने प्रयासले विधिको शासनकै उपहास गरेको भन्दै नागरिक समाज र पत्रकार महासंघले निष्पक्ष र उच्चस्तरीय छानबिनको माग गरिरहेका छन्।

