

३१ असार, सिन्धुपाल्चोक। सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका हुँदै प्रसिद्ध जुगल हिमालको आधार शिविरसम्म पुग्ने गौरवशाली ‘बलेफी जलविरे कत्तिकाे तेम्बाथान सडक अन्तरगत मुखैमा पर्ने बलेफी बजारको महत्त्वपूर्ण बाटो बिस्तार र कालोपत्रेमा महत्त्वपूर्ण सफलता काम सम्पन्न भएको छ ।
लामो समयदेखि स्थानीयस्तरमा सडक फराकिलो पार्ने विषयलाई लिएर कायम रहेको विवाद अन्ततः सहमतिमा टुंगिएसँगै यस सडक खण्डको सुरुआती बिन्दु बलेफी बजार क्षेत्रमा कालोपत्रे (पिच) गर्ने कार्य सफलतापूर्वक सम्पन्न भएको छ । विगत लामो समयदेखि ठेकेदारले काम नगर्ने र निर्माण कार्य अलपत्र पारेर भाग्ने प्रवृत्तिका कारण यो सडक आयोजना संकटमा परेको थियो । बजार क्षेत्रको साँघुरो बाटो र जग्गा विवादले स्थानीयस्तरमा गतिरोध सिर्जना भएको थियो । पूर्व सांसद एवं नेकपाका युवा नेता माधव सापकोटा ‘सुबोध’ ले बजारको विवाद मिलाउन र सडक कालोपत्रे गर्ने कामलाई गति दिन विशेष समन्वयकारी भूमिका निर्वाह गरेका थिए । नेता सापकोटाको निरन्तरको पहल र निर्देशनपछि बलेफी गाउँपालिकाका अध्यक्ष गंगा तामाङ ‘प्रवेश’ ले निर्माण व्यवसायी र स्थानीय बजारवासी सरोकारवालाहरूबीच सघन समन्वय गरी सहमति जुटाएका हुन् । सोही सहमतिका आधारमा बजारको साँघुरो बाटोका कारण सिर्जित वर्षौँदेखिको सास्ती र अप्ठेरो अहिले पूर्ण रूपमा हटेको छ।
हाल बलेफी बजार हुँदै जलविरे र ढाडे सम्मको सडक खण्ड कालोपत्रे भइसकेको छ। आयोजनाका अनुसार अब दोस्रो चरणमा ढाडे देखि सुनखोला सम्मको खण्डमा कालोपत्रे गर्ने अन्तिम तयारी भइरहेको छ । यो सडकखण्ड क्रमशः तेम्बाथान हुँदै सिधै जुगल हिमालको फेदी अर्थात् जुगल बेसक्याम्प सम्म पुग्ने गरी गुरुयोजना अन्तर्गत तीव्र गतिमा अघि बढिरहेको छ । पूर्व सांसद सापकोटाले आफ्नो कार्यकालमा यो रणनीतिक सडकको प्रयोग गरी संघीय राजधानी काठमाडौँबाट एकै दिनमा सबैभन्दा नजिकको हिमाल ‘जुगल’ पुगेर हिउँ छुन सकिने महत्वाकांक्षी र दूरगामी योजना अघि सारेका थिए । यद्यपि उनी हालैको निर्वाचनमा पराजित भए । हार बेरोरेपनि युवा नेता सापकोटा स्थानीय विकास, पूर्वाधार निर्माण र जनसरोकारका मुद्दामा उत्तिकै सक्रिय रहँदै आएका छन् । बलेफीको सडक कालोपत्रे भएसँगै स्थानीयवासीले उनको निरन्तरको पहलकदमीप्रति धन्यवाद ज्ञापन गरेका छन् । सापकोटाले आफू जनप्रतिनिधिको रूपमा पदमा रहे वा नरहे पनि जनताको सुखदुःखमा र क्षेत्रको समग्र विकासमा जीवनभर लागिरहने प्रतिबद्धता व्यक्त गरेका छन्।
यो सडक पूर्वाधारको विकासले सिन्धुपाल्चोकको पर्यटन क्षेत्रमा ठूलो परिवर्तन ल्याउने अपेक्षा गरिएको छ । राजधानी काठमाडौँबाट भौगोलिक रूपमा सबैभन्दा नजिक पर्ने हिमाल भएकाले अब बाह्य तथा आन्तरिक पर्यटकहरू लामो र खर्चिलो हवाई यात्रा बिना नै छोटो समयमै जुगल बेसक्याम्प पुग्न सक्नेछन् । यसले जलविरे, तेम्बाथान हुँदै जुगल बेसक्याम्पसम्म जाने पदमार्गलाई सहज बनाउनुका साथै साहसिक पर्यटन र पर्वतारोहण प्रशिक्षणको नयाँ ढोका खोल्नेछ । साथै यस क्षेत्रमा रहेका ऐतिहासिक बौद्ध गुम्बाहरू, गुरु रिम्पोछेको ध्यानस्थल नेपेमाछाल र प्रसिद्ध पाँचपोखरी जस्ता पवित्र धार्मिक स्थलहरूमा आन्तरिक तथा बाह्य धार्मिक पर्यटकहरूको आगमन उल्लेख्य रूपमा बढ्ने निश्चित छ।
ग्रामीण विकास र स्थानीयको जीवनस्तर सुधारका दृष्टिले पनि यो सडक निर्माण कोशेढुङ्गा साबित हुनेछ । बलेफी, जलविरे, कात्तिके र तेम्बाथानका दुर्गम गाउँहरू सडक सञ्जालमा जोडिएपछि स्थानीय बासिन्दाहरूले प्रशासनिक, स्वास्थ्य र शैक्षिक सेवाका लागि भोग्नुपर्ने भौगोलिक विकटताको अन्त्य हुनेछ । कालोपत्रे सडकका कारण एम्बुलेन्स तथा अन्य यातायातका साधनहरू सहज रूपमा सञ्चालन हुन सक्ने हुँदा दुर्गम गाउँका बिरामीहरूलाई समयमै अस्पताल पुर्याउन सकिनेछ । यसले सो क्षेत्रको स्वास्थ्य सेवामा पहुँच बढाउनुका साथै आकस्मिक स्वास्थ्य संकट टार्न ठुलो मद्दत पुर्याउनेछ ।
सो सडक खण्डको स्तरोन्नतिले स्थानीय कृषि र अर्थतन्त्रलाई प्रत्यक्ष फाइदा पुर्याउनेछ । सिन्धुपाल्चोकको माथिल्लो भेगमा उत्पादित प्राङ्गारिक कृषि उपज, आलु, बहुमूल्य जडीबुटी तथा दुग्धजन्य पदार्थहरूले अब सहजै बजार पाउनेछन् । सडक अभावमा यसअघि कुहिएर खेर जाने गरेका स्थानीय उत्पादनहरू अब सिधै काठमाडौँका ठूला बजारहरूमा पुर्याई किसानहरूले उचित मूल्य प्राप्त गर्नेछन् । यसका साथै, पर्यटकको आवगमन बढेसँगै सडक आसपासका तामाङ र शेर्पा बस्तीहरूमा सामुदायिक होमस्टे तथा स्थानीय होटल व्यवसायहरू फस्टाउनेछन्। जसले स्थानीय युवाहरूलाई पथप्रदर्शक र हस्तकला व्यवसाय जस्ता क्षेत्रमा गाउँमै स्वरोजगार बन्ने अवसर सिर्जना गरी वैदेशिक रोजगारीको निर्भरतालाई घटाउनेछ।

