पहिरो अनुगमनमा गएका मन्त्री लम्साल सडक खोल्ने टुङ्गोमा नपुगी फर्किए, स्थानीय आक्रोसित, देखिएनन् सांसद पराजुली

पहिरोका कारण १० दिनदेखि पूर्ण रूपमा अवरुद्ध रहेको अरनिको राजमार्ग अनुगमन गर्न गएका पूर्वाधार विकास मन्त्री सुनील लम्साल र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम सडक खोल्ने कुनै टुङ्गोमा नपुगी फर्किएका छन्।

१० साउन, सिन्धुपाल्चोक पहिरोका कारण १० दिनदेखि पूर्ण रूपमा अवरुद्ध रहेको अरनिको राजमार्ग अनुगमन गर्न गएका पूर्वाधार विकास मन्त्री सुनील लम्साल र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम सडक खोल्ने कुनै टुङ्गोमा नपुगी फर्किएका छन् ।

वार्षिक २५ अर्ब राजस्व सङ्कलनको लक्ष्य राखिएको नेपाल–चीन व्यापारिक तातोपानी नाका जोड्ने सडकको अवस्थाबारे जानकारी लिन भन्दै मन्त्रीद्वय आज पहिरो प्रभावित इको क्षेत्र पुगेका थिए । तर स्थलगत अनुगमनका क्रममा उनीहरूले सडक सञ्चालनबारे स्थानीयवासी र व्यापारीलाई कुनै स्पष्ट जवाफ दिन सकेनन् । भौतिक पूर्वाधार विकास मन्त्री लम्सालले स्थानीयको जोखिमयुक्त बस्ती अन्यत्र सार्ने प्रस्ताव राखेका थिए तर, राजमार्ग कहिले र कसरी खुल्छ भन्ने स्थानीयको सीधा प्रश्नको भने मन्त्रीहरूसँग कुनै उत्तर थिएन ।

सडक अनुगमनका लागि स्थानीय बासिन्दाले मन्त्रीहरूलाई तातोपानी नाकासम्मै पुगेर वस्तुस्थिति बुझ्न आग्रह गरेका थिए। तर मन्त्रीहरूले त्यहाँसम्म जाने इच्छा देखाएनन् । क्षेत्र नं. १ का स्थानीय सांसद भारत पराजुली भने जनता संकटमा परेका बेला अनुगमनस्थलमै देखिएनन् । उनले यसबारे चासो नदिएको स्थानीय र व्यापारिक सर्कलमा गुनासो छ । यसप्रति स्थानीयले आज समेत तीव्र आक्रोश व्यक्त गरेका छन् । उनीहरुले तीन वस्ती विस्थापित भइसकेको जानकारी दिँदै हरेक वर्ष हिउँदमा चुप लाग्ने सरकार बर्षातमा देखा पर्ने भन्दै रोष प्रकट गरे ।

राष्ट्रिय अर्थतन्त्र र उत्तरी व्यापारका दृष्टिले अत्यन्तै महत्त्वपूर्ण मानिने तातोपानी नाका जोड्ने मुख्य राजमार्ग १० दिनसम्म ठप्प रहँदा पनि सरकारको लाचारीपन र उदासीनता पराकाष्ठामा पुगेको छ। अनुगमनका नाममा मन्त्रीहरूको लावालस्कर पुग्नु, तर कामको ठोस खाका र स्पष्ट जवाफ नदिई पन्छिनुले सरकार जनताको सास्तीमा रमिते मात्र बनेको स्थानीयको भनाई छ । वार्षिक अर्बौँ राजस्व उठाउने नाकाप्रति राज्यको यो तहको गैरजिम्मेवारीपन र जनप्रतिनिधिको बेवास्ताले सिन्धुपाल्चोकका जनतालाई फेरि एकपटक अभिभावकविहीन बनाएको स्थानीयको भनाई छ । निर्वाचन क्षेत्रमा विपत्ती आइपर्दा निवर्तमान सांसद माधव सापकोटा तत्काल स्थलगत अनुगमनमा पुगेर संददमा आवाज उठाउनेदेखि सम्वन्धित निकायको ध्याकार्षण गराउँथे । विपि राजमार्ग अनुगमनमा जाँदा फेसबुमा तस्विर हालेका मन्त्री लम्सालले राति अबेरसम्म सिन्धुपाल्चोक पुगेकाे बारे कुनै पोष्ट गरेका छैनन् ।

प्रतिक्रिया