जापान: सपना र वास्तविकता

मँहगा र निजी गाडी चढ्नेहरूले साइकल चढ्नेलाई हेप्दैनन्, किनकि साइकल यहाँको जीवनशैली र संस्कार हो । महिलाहरूले साइकलको अगाडि र पछाडि बालबालिका राखेर यात्रा गरेको दृश्य यहाँ सामान्य मानिन्छ । स्मरण रहोस्, विश्वविख्यात अटोमोबाइल कम्पनी टोयोटा, होन्डा, निसान, मित्सुबिशी, सुजुकी र कावासाकी जापानकै उत्पादन हुन्; तैपनि प्रायः सबैको घरमा व्यक्तिपिच्छे साइकल हुन्छ ।

सफा, सुन्दर, झिलिमिली अनि अनुशासित र सभ्य देशका रूपमा चिनिएको जापान वास्तवमै धेरै मानिसहरूको सपनाको गन्तव्य हुन सक्छ । भौगोलिक दृष्टिले जापानको कुल क्षेत्रफल ३,७७,९७५ वर्ग किलोमिटर छ, जसमा जमिनको भू-भाग ३,६४,५६९ वर्ग किलोमिटर र समुद्री क्षेत्र १३,४१५ वर्ग किलोमिटर पर्छ । यहाँको जनसंख्या १२ करोडभन्दा बढी छ भने विदेशीहरूको संख्या पनि ४१ लाखभन्दा बढी रहेको तथ्यांक छ।

विशाल जनसंख्या भए पनि एक अर्कामा साना ठूला सबैलाई झुकेर अभिवादन गर्नु यहाँको मुख्य संस्कार हो । नियम र कानुनको कडा घेराभित्र रहेर काम, मनोरञ्जन र दैनिकी गुजार्ने जापानी नागरिकहरू आफ्नो देशप्रति अत्यन्त संवेदनशील र बफादार हुन्छन् । प्रत्येक घर र कम्पाउन्डमा सकेसम्म धेरै रुख रोपेर हरियालीलाई पहिलो प्राथमिकता दिनु यहाँको अर्को राम्रो संस्कार हो ।

एउटै पसलबाट औषधि र रक्सी बिक्री गरिन्छ । मानिसहरू मातेर बाटोमै सुत्न सक्छन् तर जथाभावी बसेर धूम्रपान गर्दैनन् । आगो यहाँको ठूलो शत्रु मानिन्छ । फोहरलाई अलग अलग छुट्याएर फाल्नुका साथै आफ्नो घरअगाडिको सडक दैनिक सफा गर्छन् । बाटोको दायाँ-बायाँ सडकपेटीमा भेटिएका फोहर टिपेर झोलामा राख्ने र सम्बन्धित ठाउँमा मात्र विसर्जन गर्ने परिपाटीकै कारण जापान सधैँ सफा र सुग्घर रहन्छ । नेपालमा जस्तो फुटपाथ ओगटेर पसल राख्ने, फोहर पसलअगाडि फाल्ने अनि सडक भत्कियो भनेर धान रोप्ने चलन यहाँ हुँदैन । देश बनाउने जिम्मेवारी नागरिकको पनि हो भन्ने चेतना यहाँका जनतामा छ ।

ठूला र फराकिला बाटो नभए पनि सडक जाम हुँदैन । समयमै छुटेको सार्वजनिक बस बाटोमा जति नै ट्राफिक बत्ती भए पनि समयमै गन्तव्यमा पुर्याउनु यहाँको कर्तव्य र नियमभित्र पर्छ । मेरो घरअगाडिको सडक मेरो मात्रै हो, मैले गाडी वा सामान जे पनि राख्न पाउनुपर्छ भन्ने भ्रम यहाँका जनतामा छैन । त्यसैले लाग्छ देश बनाउन नेता मात्र होइन, पहिले जनता सुध्रिनुपर्छ । सडकमा ठूला गाडीहरूले सधैँ पैदल यात्री, साइकल र साना गाडीहरूलाई पहिलो प्राथमिकता दिन्छन् । मँहगा र निजी गाडी चढ्नेहरूले साइकल चढ्नेलाई हेप्दैनन्, किनकि साइकल यहाँको जीवनशैली र संस्कार हो । महिलाहरूले साइकलको अगाडि र पछाडि बालबालिका राखेर यात्रा गरेको दृश्य यहाँ सामान्य मानिन्छ । स्मरण रहोस्, विश्वविख्यात अटोमोबाइल कम्पनी टोयोटा, होन्डा, निसान, मित्सुबिशी, सुजुकी र कावासाकी जापानकै उत्पादन हुन्; तैपनि प्रायः सबैको घरमा व्यक्तिपिच्छे साइकल हुन्छ ।

बिहान ७:३० देखि ८:३० बजेसम्म गल्ली र टोलका बाटाहरू बन्द गरिन्छ । यो बालबालिका विद्यालय जाने समय हो । यसले सरकार जनताप्रति कति संवेदनशील छ भन्ने स्पष्ट पार्छ । शान्ति सुरक्षाका हिसाबले यो देश अत्यन्त मजबुत छ। २४ सै घण्टा ढुक्क भएर हिँड्न सकिन्छ । न बदमासहरूको डर, न त बाटोमा भुस्याहा कुकुरको। कतै-कतै भालुको आतङ्क भने हुने गर्छ।

उच्च कर तिरेरै भए पनि स्वास्थ्य र शिक्षामा सहज पहुँच भएकाले यहाँ प्रायः मानिसहरू एक महिनाको क्रेडिट कार्ड भुक्तानीका लागि कमाउँछन् र खुसी नै देखिन्छन् । हामी भने भावी पुस्ताका लागि कमाउन खोज्छौँ र भौँतारिरहन्छौँ । काम गरेबापत पाइने राम्रै पारिश्रमिक र सेवासुविधाले मन लोभ्याउँछ तर तिर्नुपर्ने करले उत्तिकै मन काटिन्छ । पेन्सन र बिमाजस्ता सामाजिक सुरक्षासम्बन्धी करहरू सबैले अनिवार्य तिर्नुपर्छ; र कर तिरेपछि पाइने सेवासुविधा पनि उत्तिकै राम्रो हुन्छ ।

सफा समाज, सफा सडक, सफा रेल, विमानस्थलजत्रा बस र रेल स्टेसन, २४ सै घण्टा खुल्ने पसल र सुरक्षित वातावरण नै यहाँको पहिचान हो । मनोरञ्जनका लागि बनाइएका पार्क, बगैँचा र बाटोको दायाँ-बायाँ मौसमी फूल तथा हरिया रुखहरूले सुन्दरतामा सुनमा सुगन्ध थपेझैँ लाग्छ । नेपालको पैयूँ जापानमा ‘साकुरा’ बनेपछि फुल्ने सिजनमा हेर्ने र फोटो खिच्नेहरूको मेला नै लाग्छ । मौसम अनुसार फुल्ने फूलहरू, मानवनिर्मित ताल, झरना, जङ्गल र अग्ला टावरजस्ता संरचनाहरूले आन्तरिक तथा बाह्य पर्यटनलाई आकर्षित गरिरहेका छन् । यसले देशको आम्दानी बढाइरहेको छ । यहाँ पित्तललाई सुन बनाइँदै छ तर हामी सुनलाई पित्तल बनाइरहेछौँ । प्रकृतिले दिएका उपहारहरूलाई पनि जोगाउन सकेका छैनौँ । यसमा दोष नागरिकको हो कि शासकको ? जापानलाई जापान बनाउन सत्ता, कानुन र जनता सबैको राम्रो तालमेल र समर्पण छ ।

दुःखको कुरा, यहाँको समाज एकल परिवारमा आधारित भएकाले कतिपय वृद्धवृद्धाहरू घरभित्रै परलोक हुन्छन् र त्यसको केही दिनपछि मात्र छिमेकीले थाहा पाउँछन् । दुर्गन्ध फैलिएपछि मात्र प्रहरी बोलाएर ढोका खोलिन्छ। न त प्राण जाँदा पानी खुवाउने कोही हुन्छ, न त प्राण जानेबित्तिकै थाहा पाउने यो नै जापानको कहालीलाग्दो वास्तविकता हो । अनेकौँ समस्याका कारण हुने डिप्रेसन पनि यहाँको ठूलो समस्या हो; रेलको लिकमा हामफालेर आत्महत्या गर्ने घटनाहरू यहाँ बारम्बार भइरहन्छन् । विवाह नगर्ने, गरे पनि सम्बन्धविच्छेद गर्ने र एकल आमाले बच्चा हुर्काउन सङ्घर्ष गरेका समाचारहरू पनि बेलाबेला आइरहन्छन् । हप्तामा ५ दिन काम र २ दिन मनोरञ्जन यहाँका जनताको कार्यसूची हो ।

जापानको वार्षिक बजेटको ठूलो हिस्सा रक्षा र देशको सुरक्षामा खर्च हुने भएकाले लगभग सबै वस्तुमा कर लगाइन्छ । अरू देश र भाषामा यहाँका मानिसको खासै चासो हुँदैन; उनीहरू अंग्रेजी बोल्न खासै रुचाउँदैनन् । केही समयअघि १७ प्रतिशत जापानीसँग मात्र पासपोर्ट रहेको तथ्यांक सार्वजनिक भएको थियो । एक पटक एक जापानी साथीलाई सोधेको थिएँ, तपाईंहरू अंग्रेजी भाषा बोल्न वा पढ्न किन चाहनुहुन्न ? उसले हाँस्दै भन्यो, अंग्रेजी सिकियो भने इन्टरनेटको दुनियाँबाट विश्वको खबर थाहा हुन्छ । अनि जापानी मानिसहरूले ‘मेरो देश कसरी चलेको छ’ भन्ने बुझ्न थाल्छन्। नराम्रो कुराको विरोध हुन सक्छ, नारा-जुलुस र हडताल हुन सक्छ; त्यसैले सरकारले नै अंग्रेजी भाषा सिकाउन खासै प्राथमिकता दिँदैन ।

उसले थप्दै भन्यो, तिमीलाई थाहा छ ? जापानमा अरू सबै महँगो छ, तर रक्सी किन सस्तो छ ? मैले थाहा छैन भन्दै टाउको हल्लाएँ । उसले फेरि हाँस्दै भन्यो, सबै महँगो भएपछि जीवनयापनका लागि ५ दिन दौडिनै पर्यो । ५ दिनको थकान र तनाव मेट्न १ दिन मस्तसँग परिवार वा साथीहरूसँग बसेर रक्सी खाएर रमाइलो गर्नै पर्यो । १ दिन सरसफाइ र भोलिको कामको तयारी गर्दा हप्ता बितिहाल्छ । अनि फेरि उही दैनिकी ! यसरी मानिसहरू व्यस्त भएपछि जापानबाहिर के भइरहेको छ र के परिवर्तन हुँदै छ भनेर कसले सोच्न भ्याउने ? त्यसैले जति कर तिराए पनि हुन्छ भनेर सरकार बाठो बनेको हो, बुझ्यौ ? मैले फेरि टाउको हल्लाएँ र मनमनै सोचेँ के उसले भनेको सत्य होला ? मेरो आफ्नै मनले पनि ‘होइन’ भन्न सकेन ।

आकाश छुने बजारभाउ, बदलिरहने सरकारी नीति, उच्च कर, निश्चित आम्दानी र बढ्दो विदेशी जनसंख्याका कारण सुगम क्षेत्रमा कामको अभाव हुँदै छ भने ग्रामीण क्षेत्रमा बसाइ कष्टकर बन्दै छ । पछिल्लो परिवर्तित सरकारी नीतिले यहाँ लामो समयदेखि व्यवसाय गरेर बसेका मानिसदेखि विद्यार्थीसम्मलाई प्रभावित बनाएको छ । कहिले भाषा त कहिले भिसाको समस्या देखाएर सयौँ विदेशीहरूलाई फर्काइँदै छ । इतिहासका विभिन्न युद्ध र विभीषिकाका कारण कठोर मन भएका जापानीहरू विदेशीहरूसँग घुलमिल हुन खासै रुचाउँदैनन् । कोरोना महामारीपछि अधिकांश महिलाहरू मास्कसम्म खोल्न चाहँदैनन् । बस तथा रेलजस्ता सार्वजनिक यातायातमा मोबाइलमा कुरा गर्न वा साथीहरूसँग ठूलो स्वरमा बोल्न पूर्ण बन्देज छ ।

समग्रमा भन्दा, जापानमा नियम कडा छ र त्यही भएर अनुशासन छ । तर हामीले घर मात्र होइन, समाजको पनि संरक्षण गर्नुपर्छ भन्नेहरूका लागि भने जापान मानवता र संवेदना नभएको मुलुकझैँ लाग्न सक्छ । किनभने यहाँ कोही व्यक्ति बाटोमा अचानक ढल्यो वा लड्यो भने पनि कसैले छुँदैनन् र उठाउँदैनन् । यो हाम्रो समाजको बाटोमा हिँड्दै गरेको अपरिचित मानिसलाई पनि बोलाएर ‘पानी खाएर जानुस्’ भन्ने संस्कारभन्दा पूर्णतः फरक छ ।

त्यसैले, हामी अधिकांश नेपालीहरू जापानलाई एउटा सुन्दर ‘सपनाको मुलुक’ ठानेर अगाडि बढ्छौँ । तर जब यहाँ पाइला टेक्छौँ, तब मात्र थाहा हुन्छ देखिएको दृश्य र भोगिएको सत्यबीच कति ठूलो फरक छ। अरूले अग्ला महल र चिल्ला सडकअगाडि खिचेका सुन्दर फोटोहरू मात्र हेरेर भ्रममा नपरौँ । ती फोटोहरू खिच्नुअघि र पछिको समय मेसिनजस्तै भएर खटिनुपर्ने बाध्यता, पानीले मेट्नुपर्ने भोक र प्यास, अनि घरमा केही पर्दा दुख्ने मन र एकाकीपनका बिच सम्हालिनुपर्ने थकान कति हुन्छन्त्यो भोग्नेलाई मात्र थाहा हुन्छ । देख्ने र भन्नेले डलर र सम्पत्ति मात्र देख्छन् तर भोग्नेको भोगाइ पूर्णतः अलग हुन्छ । हामी सबैको सुख सबैले देख्छन् । दुःख मात्र लुक्ने गर्छ।

प्रतिक्रिया