

१७ साउन काठमाडाैं, न्यौपाने बन्धु समाज सिन्धुपाल्चोकको चौथो जिल्ला भेलाले शिव न्यौपानेको अध्यक्षतामा ११ सदस्यीय नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।
बन्धुत्व, सामाजिक उत्तरदायित्व, सांस्कृतिक संरक्षण तथा भावी पुस्तामा पारिवारिक मूल्य र पहिचान हस्तान्तरण गर्ने उद्देश्यका साथ आयोजित भेलाले नयाँ नेतृत्व चयन गरेको हो। शनिवार सानाे ठिमि क्याम्पस भक्तपुरमा आयोजित भेलाबाट नवगठित कार्यसमितिको उपाध्यक्षमा देवराज न्यौपाने, सचिवमा कान्ति न्यौपाने र सहसचिवमा हरिकृष्ण न्यौपाने चयन भएका छन् । सदस्यहरूमा दुर्गाप्रसाद न्यौपाने, वासुदेव न्यौपाने, यमु सुवेदी न्यौपाने, मछिन्द्र न्यौपाने, पार्वती न्यौपाने, योगेन्द्र न्यौपाने र सविता घिमिरे न्यौपाने सर्वसम्मत चयन भएका छन् । कार्यसमितिको कोषाध्यक्ष पदमा भने पछि एक जना पदाधिकारी मनोनयन गरिने समाजले जनाएको छ।
भेलालाई सम्बोधन गर्दै न्यौपाने बन्धु समाजका केन्द्रीय अध्यक्ष बलराम न्यौपानेले समाज एउटा औपचारिक संस्था मात्र नभई पुस्तौँदेखि कायम रहँदै आएको साझा पहिचान र सामाजिक उत्तरदायित्वको मूल आधार भएको बताए । उनले आधुनिक जीवनशैली र बढ्दो व्यस्तताका कारण समुदायबीचको आत्मीय सम्बन्ध कमजोर बन्दै गइरहेको अवस्थामा यस्ता जिल्ला भेलाहरूले आपसी सम्बन्ध र भाइचारालाई पुन: सुदृढ बनाउन अहम् भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए ।
नवनिर्वाचित कार्यसमितिले आगामी कार्यकालमा जिल्लाभित्रका न्यौपाने बन्धुहरूबीच आपसी सद्भाव र सहकार्यको वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाएको छ। साथै, संस्थाले शिक्षा, स्वास्थ्य, सामाजिक सेवा, विपद् व्यवस्थापन र सांस्कृतिक संरक्षणका क्षेत्रमा विभिन्न कार्यक्रमहरू अगाडि बढाउने योजना बनाएको छ। त्यसैगरी, समाजका ज्येष्ठ नागरिकहरूको अनुभव र ज्ञानको सम्मान गर्दै नयाँ तथा युवा पुस्तालाई समुदायको इतिहास, संस्कार, परम्परा र मौलिक पहिचानसँग जोड्दै सामाजिक नेतृत्व विकासमा परिचालन गर्ने प्राथमिकता समेत नवनिर्वाचित नेतृत्वले अघि सारेको छ।

