आईएसएफ कार्यकारी सदस्य कार्की र बहराइन जिमनासाइडका पदक विजेता सम्मानित

नेपाल विद्यालय खेलकुद महासंघले आईएसएफको कार्यकारी सदस्यमा निर्वाचित महासचिव राजकुमार कार्की र बहराइन जिमनासाइडका पदक विजेता नेपाली टोलीलाई आइतबार सम्मान गरेको छ।

१८ साउन, काठमाडौं – नेपाल विद्यालय खेलकुद महासंघले आईएसएफको कार्यकारी सदस्यमा निर्वाचित महासचिव राजकुमार कार्की र बहराइन जिमनासाइडका पदक विजेता नेपाली टोलीलाई आइतबार सम्मान गरेको छ। महासचिव कार्की सन् २०२६–२०३० कार्यकालका लागि दोस्रोपटक आईएसएफको कार्यकारी सदस्यमा निर्वाचित भएका हुन् ।

आइतबार काठमाडौंमा आयोजित सम्मान कार्यक्रममा बहराइनमा सम्पन्न आईएसएफ जिमनासाइडमा नेपाललाई पदक दिलाएर देशको गौरव बढाउने खेलाडी र प्रशिक्षकहरूलाई नेपाल विद्यालय खेलकुद महासंघ (एनएसएसएफ) का तर्फबाट सम्मान गरिएको हो । जिमनासाइडको बक्सिङ प्रतियोगितामा नेपालका लागि नोर्बु थेन्डुप शेर्पा र स्वस्तिका तिरुवाले स्वर्ण पदक जित्न सफल भएका थिए भने रोहित जनाला र सूर्यन वैद्यले कांस्य पदक हात पारेका थिए। त्यसैगरी तेक्वान्दोतर्फ उज्ज्वल वाग्लेले स्वर्ण र निविता केसीले कांस्य पदक जितेका थिए। टोलीका बक्सिङ प्रशिक्षक दिपक महर्जनलाई पनि सोही अवसरमा विशेष सम्मान प्रदान गरियो।

महासचिव कार्की सहित सबैलाइ विद्यालय खेलकुद महासंघका अध्यक्ष विनोद श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष माधव सापकोटासहित उच्च शिक्षा तथा निजी विद्यालय सञ्चालक संघहरू (हिसान, प्याब्सन, एनप्याब्सन, अपेन) एवं त्रिभुवन विश्वविद्यालयका प्रतिनिधिहरूले संयुक्त रूपमा सम्मान पत्र र बधाई ज्ञापन गरेका थिए । महासंघका वरिष्ठ उपाध्यक्ष सापकोटाले नेपाली विद्यालय खेलकुदलाई अन्तर्राष्ट्रिय उचाइमा पुर्‍याउने यो ऐतिहासिक सफलताले भावी पुस्ताका युवा खेलाडीहरूलाई अझ बढी प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया