

२२ साउन चाैतारा । राष्ट्रिय स्वतन्त्र पार्टी सिन्धुपाल्चोकको सभापतिमा पर्वतारोही माया गुरुङ निर्वाचित भएकी छिन्। कुल २९६ प्रतिनिधिमध्ये २४६ मत खसेकोमा गुरुङले १४९ मत ल्याएर सभापतिमा विजयी भएकी हुन्। गुरुङ रास्वपा सिन्धुपाल्चोककी संस्थापक प्रमुखसमेत हुन्। प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा पार्टीले झलककुमार श्रेष्ठलाई टिकट दिएपछि उनी रुष्ट थिइन्। उनकाे यो जितसँगै संघीय संसदका लागि टिकटमा न्याय नपाएपनि सभापतिमा भने न्याय मिलेकाे चर्चा सुरु भएकाे छ ।
आज भएको चुनाबमा सभापतिका लागि पाँचजनाको उम्मेदवारी दर्ता भए पनि अन्तिम समयमा दिलराम श्रेष्ठले गुरुङलाई समर्थन गरेका थिए। अरू तीन उम्मेदवारहरू कमला खड्काले ६१, पासाङ तामाङले १३ र कुमार श्रेष्ठले २० मत प्राप्त गरे। एमालेबाट रास्वापा प्रवेश गरेका जेपी सिलवाल सभापतिमा उठ्ने चर्चा भएपनि उनले उमेदवारी दिएनन् । अधिवेशनबाट उपसभापतिमा सरोजा श्रेष्ठ निर्वाचित भएकी छिन्। उनले १२३ मत प्राप्त गरिन्। अरू दुई उम्मेदवार निमा याङ्छेन लामाले ६५ र मुके शेर्पाले ४७ मत ल्याए। सचिवमा राजिव हमाल निर्विरोध निर्वाचित भए ।

