

सिन्धुपाल्चोक । जिल्लाको क्षेत्र नं १ का निवर्तमान सांसद माधव सापकोटाले अरनिको लोकमार्ग अन्तर्गत बाह्रबिसे तातोपानी सडक खण्डमा पर्ने इको पहिरो क्षेत्रकाे सडक निर्माणका लागि छानिएको निर्माण कम्पनीसँग सकारले हतारमा ठेक्का तोडेर गम्भीर गल्ती गरेको बताएका छन् ।
विपद् पूर्वतयारी गर्नुपर्ने संवेदनशील समयमा भइरहेको ठेक्का बिना कुनै ठोस विकल्प र हचुवाका भरमा तोड्दा अहिले नाका पूर्ण रूपमा ठप्प हुने बेहाल परिस्थिति सिर्जना भएको उनको भनाइ छ। उनले सामाजिक सञ्जाल मार्फत यो असहमती जाहेर गरेका हुन् । सिन्धुपाल्चोकबासी र राष्ट्रिय अर्थतन्त्रकै प्रमुख लाइफलाइनको रूपमा रहेको तातोपानी नाकाबाट वार्षिक २५ अर्ब रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएको छ।
चीनसँगको व्यापारको मुख्य नाकाका रूपमा रहेको यो सडकको बाह्रबिसे तातोपानी खण्ड भौगोलिक रूपमा निकै जोखिमयुक्त छ । विशेष गरी इको क्षेत्रमा हरेक वर्ष पहिरो र सडक अवरोधको समस्या बल्झिरहन्छ। सापकोटाले विगतमा जनप्रतिनिधिका रुपमा निरन्तर पहलकदमी लिएर चिनियाँ राजदूतसहितको टोलीबाट स्थलगत अनुगमन गराई चीन सरकारले इको पहिरो निर्माण गरेर नेपाललाई हस्तान्तरण गर्ने सहमतिस्वरूप लेटर अफ एक्सचेन्ज पठाएको पुन स्मरण गराएका छन्। सो पत्र आएपछि सरकारले ठेक्का तोडेको थियो। ठेक्का तोडिएका कारण अहिले उक्त पहिरो व्यवस्थापनका लागि नेपाली निर्माण कम्पनी पनि छैन भने चिनियाँ पक्ष नै आइपुगेको छैन।
सापकोटाले विगतका वर्षहरूमा मनसुन सुरु हुनुअघि नै संसदमा विषय उठाएर, संसदीय टोलीलाई स्थलगत रूपमा देखाएर, मन्त्रालय, विभाग, सडक डिभिजन र निजी क्षेत्रलाई समेत परिचालन गरी सामूहिक रूपमा समस्या समाधान गर्ने अभ्यास गरेको स्मरण गरेका छन् । उनले आफूलाई नयाँ भन्नेहरूले न पुरानो अनुभवबाट नसिकेको र नयाँ व्यवस्थापन नै गर्न नसकेको टिप्पणी गरेका छन् । उल्टै जिम्मेवार मन्त्रीले प्रभावित क्षेत्रको भ्रमण गरेर स्थानीयबासीलाई धम्क्याउने तथा समस्याको दिगो समाधान खोज्नुको सट्टा बाटो नै बन्द गर्ने वा बस्ती नै सार्ने जस्ता गैरजिम्मेवार अभिव्यक्ति दिने काम भइरहेको विषयमा उनले असहमती जनाएका थिए ।

