मेरो त फोन नम्बर पनि छैन, साथी पनि छैन !

उनी सुक्क-सुक्क गर्न थालिन्, म एकोहोरिएँ। काश ! यो देशको परिस्थिति हो कि भाग्यको खेल हो, के होला ? यो उमेरमा म देश छोडेर विदेश जान खोज्दै छु ! मन भारी भयो !

झट्ट हेर्दा उमेरले ५० काटेझैँ देखिने मानिस, व्यक्तित्व हेर्दा लाग्छ पढाइलेखाइ खासै छैन । न त उनी देश विदेश घुमेका छन्, न त घुम्न नै भनेर जापान आउन सक्ने आर्थिक अवस्था नै छ तर पनि भिजिट भिसामा जापान आएका उनी टोकियो रिजनल इमिग्रेसन ब्युरोमा भेटिएका थिए । अरूभन्दा फरक थिए, अलग थिए, सोझा थिए, एक अबोध बालकझैँ थिए । भने “मेरो त फोन नम्बर पनि छैन, साथी पनि छैन !”

उनको यो कुराले एक पटक सबै हाँसे, अनि मौन भए । केही छिनपछि उत्सुक भएर मैले सोधेँ, “दाजु, घर कता हो ? कहिले आउनुभएको जापान ?” मलिन स्वरमा उनले भने, “घर म्याग्दी हो, जापान आएको एक वर्षजति भयो।” “अनि यहाँ के काम थियो र ?”

उनले भने, “हाम्रो देशको अवस्था त्यही त हो नि ! अनेकौँ किसिमका अभाव, संकट, उल्झन। त्यसमाथि पनि हामी त राजधानीबाट टाढा भौगोलिक विकट ठाउँका मान्छे। न जागिर, न व्यापार। अलि-अलि भएको खेतीबाट सबै आवश्यकता पूरा नहुँदो रहेछ। अहिलेको जमानाअनुसार छोराछोरीको पालनपोषण, शिक्षा, स्वास्थ्य पुर्‍याउनै पर्‍यो। सबै रहर पूरा गर्न नसके पनि ‘बाहिर जान्छु, पढ्छु, केही सिक्छु, अलि-अलि कमाउँछु पनि अनि तपाईंहरूको दुःखमा साथ दिन्छु’ भन्छन्। हुन पनि हो, उनीहरूको कुरा पनि नराम्रो त होइन। तर अहिले १२ सकेर बाहिर पढ्न जाँदा पनि १५–१६ लाख लागिहाल्छ। हामी सामान्य परिवारको मानिसलाई त्यो रकम जुटाउन अलि गाह्रो होला कि! सबै ब्याजमा लिँदा पनि उता पढ्न जाने हो, कतिबेला पढ्ने? कतिबेला काम गर्ने? कति कमाउने? कति कलेजको फि तिर्ने ? कति बचाउने ? साहुले त्यो बुझ्दैनन्। बरु आफूले पनि कुनै देश गएर अलि-अलि बचत गर्न सके उनीहरूलाई बोझ पर्ने थिएन कि भनेर सोच्दै थिएँ।

एक जना चिनेकै मान्छेले जापान जान मिल्ने बताए। मैले सोधेँ पढाइ चाहिन्छ, भाषा पनि जान्नुपर्छ रे नि! म त न पढाइलेखाइ छ, कसरी मिल्छ र? उसैमाथि उमेरले पनि ५० काटिसक्यो, मिल्छ र? उनले भने त्यो सब केही पनि चाहिँदैन। भिजिटमा जाने अनि बस्ने, काम जति पनि पाइन्छ। खाएर-बसेर महिनाको १ लाखजति त बचत हुन्छ रे, जानेहरूले राम्रै छ भन्छन्, तपाईं पनि जाने भए विचार गर्नुस्। पठाउने मानिस मैले चिनेकै मान्छे हुन्, बेइमानी गर्दैनन्। पैसा चाहिँ १२ लाखजति लाग्छ रे। मैले भनेँ त्यति धेरै पैसा त कहाँबाट जम्मा गर्नु र? गाह्रो हुन्छ नि! फेरि उनले भने चिन्ता नगर्नुस्, मिलेसम्म अलि-अलि मिलाउन लगाउँला, उता पुगेपछि त सबै मिलिहाल्छ नि! म विचार गर्छु भनेर फर्किएँ। घर पुगेर श्रीमतीसँग पनि सल्लाह गरेँ, छोराछोरीसँग पनि सल्लाह गरेँ। अलि-अलि उत्साह पनि लाग्यो, अलि-अलि डर पनि लाग्यो। तैपनि मनको अलि धेरै अंशले भन्यो– नराम्रो कुरो त होइन, विचार गर्नुपर्छ कि के हो? १–२ दिन घरसल्लाह गरेर मैले जापान जाने निधो गरेँ। अनि त्यही मान्छेलाई भेटेँ र भनेँ– म जापान जान्छु, बरु पैसा अलि कम गरिदिनु भन्नुस् न! उनले म कुरा गरौँला, तपाईं जाने हो भने अहिले पासपोर्ट र भिसा आवेदनका लागि १ लाखजति पैसा चाहिन्छ, त्यति भएपछि आवश्यक कागजात उहाँले नै तयार गर्नुहुन्छ, तपाईं बाँकी पैसा जम्मा गर्दै गर्नुहोला, भिसा आएपछि तुरुन्तै जानुपर्छ भने। एक कप चिया खाएर हामी छुट्टियौँ।”

उनले भनेबमोजिम मैले पासपोर्ट र पैसा दिएपछि मलाई कम्तीमा पनि १ महिना लाग्छ, काम पक्का हुन्छ, तपाईं बाँकी पैसा तयार गर्दै गर्नु भनेका थिए। नभन्दै २१–२२ दिन भएको थियो होला, उनले मलाई फोन गरेर भेट्न बोलाए। म गएँ, उनलाई एउटा चिया पसलमा भेटेँ जहाँ पहिले पनि भेट्थ्यौँ। खुसी हुँदै उनले मलाई एउटा कागज दिएर भने, “बधाई छ, तपाईंको भिसा लाग्यो!” मेरो मन भने एक्कासि भरियो, आँखा टिलपिलाए। सायद त्यो मेरो खुसी थियो होला या बढ्दो उमेर र घट्दो शक्तिको डर। मुस्किलले मुस्कुराएँ अनि उनलाई धन्यवाद दिएँ। केही बेरको कुराकानीपछि हामी चिया खाएर छुट्टियौँ।

मनमा अनेकौँ कुरा खेलाउँदै म घर पुगेँ। श्रीमतीसँग सबै कुराको बेलिविस्तार लगाएँ। उनी मलिन अनुहार र भरिएका आँखाले मलाई हेर्दै भनिन्, “यो उमेरमा विदेश गएर काम गर्न सक्नुहुन्छ होला त?” मैले भनेँ, “सकेको गर्छु। छोराछोरीले भोलि विदेश गएर पढ्न खोज्लान्, यहीँ पनि राम्रो स्कुल पढ्न खोज्लान्, नसक्दा हामीलाई पनि नराम्रो, उनीहरूलाई पनि नराम्रो लाग्ला। त्योभन्दा बरु म पनि केही दुःख गर्छु, उनीहरूको उज्ज्वल भविष्य निर्माणमा कुनै अवरोध नआओस्।” उनी सुक्क-सुक्क गर्न थालिन्, म एकोहोरिएँ। काश ! यो देशको परिस्थिति हो कि भाग्यको खेल हो, के होला ? यो उमेरमा म देश छोडेर विदेश जान खोज्दै छु ! मन भारी भयो !

भिसा आएको पनि लगभग २ महिना पुगिसकेको थियो। एक दिन उही मान्छेको फोन आयो, “तपाईंको भिसाको समय सकिन लागिसक्यो, कहिले जाने तयारी गर्नुभएको छ?” मैले भेटेर कुरा गरौँ भनेँ र पहिलेकै ठाउँमा भेट्ने बाचासहित फोन काटेँ र गएँ। केही बेरको पर्खाइपछि उनी आए। चिया खाँदै सबै बेलिविस्तार लगाएँ– डर, ऋण, घरव्यवहार, आशा र परिवार। उनले ढाडस दिँदै ढुक्क हुन भने र म हवाई टिकटको मिति निश्चित गर्नका लागि तयार भएँ। पैसाको बन्दोबस्त गरेको सुनाएँ र फेरि केही कम गर्नका लागि अनुरोध गरेँ। उनले सबै कुरा हुने र हवाई टिकट तयार भएपछि भेट्ने निधो गर्दै छुट्टियौँ। त्यसको एक हप्ता नबित्दै टिकट तयार भएको खबर आयो। मन कस्तो-कस्तो भयो, डर र चिन्ता दुवैले एकै पटक घाँटी अठ्याए। परिस्थिति जस्तो भए पनि सम्हाल्नै पर्यो, त्यसमाथि पनि म त घरको मूल खम्बा, जसलाई लरबराउने छुट छैन– अर्को मनले सम्झायो। अनि तयारीमा लागेँ, जानका लागि र बस्नका लागि।

निश्चित दिन, निश्चित समय। थोरै आफन्त र परिवारसँग बसेर बिदा भएँ। त्यस दिनको बसाइ राजधानीको थियो। घरबाट कसैलाई पनि लगिनँ। ‘राजधानीसम्म त सँगै जाऔँला, त्यसपछि त म पनि उता एक्लै जानुपर्छ, उनीहरू पनि यता एक्लै फर्कनुपर्छ। म त आफूलाई जसोतसो सम्हालौँला, घर फर्कनेको मन कति रोला?’ यही चिन्ताले एक्लै राजधानी जाने बस चढेर जापानका लागि काठमाडौँको यात्रामा निस्किएँ। मनभरि कुरा खेलाउँदा-खेलाउँदै कतिबेला निदाएछु, पत्तै भएन। ब्युँझिँदा त पोखरा पुगिसकेछु। बस रोकियो, एक छिन बाहिर निस्किएर सबै जना बसमा बसे अनि बसले बिस्तारै आफ्नो गति लियो। सुन्दर नगरी पोखरा हेर्दै मनमनै सोचेँ– केका लागि म विदेशीँदै छु?

बिस्तारै बस नागढुङ्गाको उकालो चढ्दै थानकोट, कलङ्की हुँदै नयाँ बसपार्क पुग्यो। साँझ परिसकेकाले नजिकै एउटा होटलमा गएर परिचयपत्र देखाउँदै बस्ने कोठा र खाना अर्डर गरेँ। सामान राखेँ, घरमा फोन गरेर काठमाडौँ पुगेको जानकारी गराएँ अनि हातमुख धोएँ। केही बेरपछि होटलको स्टाफले खाना तयार भएको जानकारी गराए, खाना खाएँ र ओछ्यानमा पल्टिएँ। घरमा फोन गरेर केही समय कुराकानी गरेँ अनि सुतेँ। भोलिपल्ट दिउँसोको फ्लाइट थियो, खाना खाएर होटलबाट निस्किएँ, बस चढेर विमानस्थल गएँ। गेटमा ओर्लिएर सानो ब्याग गुडाउँदै गएँ, लाइनमा बसेँ। कर्मचारीले कागजात मागे, भएका सबै दिएँ। एक पटक मुखमा हेरे अनि ती सबै फिर्ता दिँदै भित्र छिर्न अनुमति दिए। बिस्तारै पाइला अघि बढाएँ। केही बेरको पर्खाइपछि प्लेन चढेँ, घरपरिवार र पशुपतिनाथलाई सम्झेँ, आँखा भरिए, प्लेन उड्यो।

करिब ६ घण्टाभन्दा बढीको उडानपछि प्लेन जापानमा अवतरण भयो। म ओर्लिएँ, केही बेरको अध्यागमनको बसाइपछि मलाई १५ दिनको जापान बस्ने अनुमतिसहित मेरो पासपोर्ट र अन्य कागजात फिर्ता दिइयो। म निस्किएँ। लिन एक जना जापानी आएका रहेछन्, उनैले मलाई बस्ने ठाउँ पुर्‍याइदिए। सुरु भयो सङ्घर्षका दिन। इन्टरनेट चल्ने सिम लिएँ, सबैलाई फोन गरेँ। केही दिनको आराम, बसाइ लम्ब्याउने अध्यागमनको प्रक्रिया र विश्रामपछि जापानको एउटा प्रान्तमा काठ कम्पनीमा पुर्‍याइयो। त्यस कम्पनीमा पुगेको २ दिनपछि सोमबारबाट काम सुरु गरेँ। दैनिक ८ घण्टाको काम, हप्तामा ५ दिन। बस्ने कोठा कम्पनीले दिएको छ। खाना आफ्नै पैसाले खान्छु, काम पनि ठिकै छ, कमाइ पनि ठिकै छ। आएको १ वर्ष भयो। समग्रमा दुःख पनि छैन, सुख पनि होइन, जिन्दगी चलेकै छ।

आज चाहिँ ‘यहाँ आउनू’ भनेर चिठी पठाएको रहेछ। आएँ, म्याडमले केही कुरा भन्नुभयो, सुनाउनुभयो। मन कस्तो कस्तो भयो। फोन नम्बर लेख्न भन्नुभयो, “यो सिममा फोन आउँदैन, इन्टरनेट मात्रै चल्छ” भनेँ । “कोही साथीको भए पनि हुन्छ” भन्नुभयो। मेरो कम्पनीमा त नेपाली साथी छैनन्, अरू नै देशका छन्, उनीहरूको फोन नम्बर थाहा छैन। त्यही भएर भनेको “मेरो त फोन नम्बर पनि छैन, साथी पनि छैन !”

उनको कुराले मन गह्रौँ भयो। यो उमेरमा यो सङ्घर्ष कसका लागि? केका लागि? उनले देशलाई के दिए? देशले उनलाई के दियो? अझै सन्तानको सुरक्षित भविष्य खोज्दै कति बाबु-आमा परदेशिनुपर्ने हो ? कहिलेसम्म परदेशिनुपर्ने हो ? उत्तर भेटिइनँ, या भेटिएका उत्तरहरूले चित्त बुझेन !

प्रतिक्रिया