सर्वोच्चको परमादेशपछि पत्रकार किशोर श्रेष्ठ थुनामुक्त

सर्वोच्च अदालतको परमादेशपछि 'जनआस्था' साप्ताहिकका प्रधानसम्पादक तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठ थुनामुक्त भएका छन् ।

१ भदौ, काठमाडौँ – सर्वोच्च अदालतको परमादेशपछि ‘जनआस्था’ साप्ताहिकका प्रधानसम्पादक तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठ थुनामुक्त भएका छन् । व्यक्तिगत गोपनीयता उल्लङ्घनको आरोपमा प्रहरी हिरासतमा रहेका श्रेष्ठलाई थुनाबाहिरै राखेर अनुसन्धान अघि बढाउन सर्वोच्चले परमादेश दिएपछि उनी रिहा भएका हुन् ।

श्रेष्ठकी पत्नी सरस्वती श्रेष्ठले दर्ता गराएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले श्रेष्ठलाई हाजिरी जमानी वा तारिखमा छाड्न प्रहरीलाई परमादेश दिएको हो । जनआस्थाले सार्वजनिक गरेको जाहेरवालाको तस्बिर जाहेरवालाले नै सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेको देखिएको र उक्त तथ्यलाई विपक्षीले खण्डन गर्न नसकेको सर्वोच्चको आदेशमा उल्लेख छ।

प्रहरीले साउन २७ गते श्रेष्ठलाई उजुरीका आधारमा नियन्त्रणमा लिएको थियो । इजलासले समाचार वा फोटो प्रकाशनसँग सम्बन्धित विवादमा प्रेस काउन्सिल नेपालको क्षेत्राधिकार आकर्षित हुने र हिरासतमा राखिरहनु पर्ने पर्याप्त आधार नदेखिएको उल्लेख गर्दै रिहा गर्न भनेको हो । यसैगरी अदालतले प्रहरीद्वारा जनआस्थाको कार्यालय र श्रेष्ठको निवासबाट जफत गरिएका ६ थान सीपीयू तथा २ थान ल्यापटपसमेत रजिस्ट्रारको रोहवरमा तत्काल फिर्ता गर्न आदेश दिएको छ।

प्रतिक्रिया