पहाडमा पहिरो : बाढीभन्दा पहिरोले धेरैको ज्यान लिँदै

मनसुन सक्रिय भएसँगै मुलुकका विभिन्न भागमा डुबान र बाढीको भन्दा पहाडी क्षेत्रमा गएको पहिरोका कारण मानवीय क्षति तीव्र रूपमा बढ्न थालेको छ ।

१ भदौ, काठमाडौँ — मनसुन सक्रिय भएसँगै मुलुकका विभिन्न भागमा डुबान र बाढीको भन्दा पहाडी क्षेत्रमा गएको पहिरोका कारण मानवीय क्षति तीव्र रूपमा बढ्न थालेको छ । हिमाली तथा पहाडी भूभागमा निरन्तर भइरहेको वर्षाले जमिन कमजोर भई सोहोरिएर आउने पहिरोले बस्तीहरू पुर्ने र धनजनको ठूलो क्षति पुर्‍याउने क्रम बढेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ । जोखिमको क्षेत्र फेरिएसँगै व्यवस्थापनको ध्यान पनि पहिरो नियन्त्रणतर्फ केन्द्रित भएको छ ।

प्राधिकरणका अनुसार प्राप्त पछिल्ला तथ्याङ्क र घटनाक्रमले बाढीको तुलनामा पहिरोका कारण हुने मानवीय मृत्यु र अन्य क्षति बढेको देखाएका छन् । यस वर्ष विशेष गरी रोल्पा, जाजरकोट र बाजुरालगायतका पहाडी जिल्लाहरूमा हालै गएको विनाशकारी पहिरोले धेरै सर्वसाधारणको ज्यान लिनुका साथै ठूलो भौतिक क्षति पुर्‍याएको छ । पहाडी भूभागमा जमिन गलेर जुनसुकै बेला पहिरो खस्ने जोखिम बढेपछि त्यसबाट हुने क्षति न्यूनीकरण र प्रतिकार्यलाई प्राथमिकतामा राखेर सरकारी निकायहरू लागिपरेको प्राधिकरणले जानकारी दिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज सिंहदरबारस्थित कार्यालयमा पत्रकार भेटघाट गरी मनसुनजन्य विपद्बका बेला भइरहेका कामबारे विस्तृत जानकारी दिएको हो । प्राधिकरणले बाढीबारे पूर्व सूचनामा उल्लेख्य प्रगति भएपनि पहिरोबारे थप अध्ययन हुन बाँकी रहेको जानकारी दिएको छ । हालै पहिरोबाट प्रभावित भएका रोल्पा, जाजरकोट, बाजुरालगायतका जिल्लाहरूमा खोज, उद्धार तथा राहत व्यवस्थापनलाई थप प्रभावकारी र द्रुत बनाउन प्राधिकरणले सम्बन्धित स्थानीय तह, जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समिति र अन्य सरोकारवाला निकायहरूसँग समन्वय गरिरहेको जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा साउनको पहिलो साता प्राधिकरणका कार्यकारी प्रमुख नियुक्त डा. धर्मराज उप्रेतीले विपद्बाट हुने धनजनको क्षति न्यूनीकरण गर्न पूर्वतयारी र प्रतिकार्यलाई थप प्रभावकारी बनाइने बताए । उनले विपद्लगत्तै खोज, उद्धार र समयमै राहत व्यवस्थापनमा जोड दिइएको जानकारी दिँदै प्रभावित परिवारलाई सरकारले तोकेको अनुदान उपलब्ध गराउन तत्काल प्रक्रिया अघि बढाउन सम्बन्धित निकायहरूलाई निर्देशन दिइसकिएको स्पष्ट पारे। उप्रेतीले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८३ अनुसार प्रभावितहरूलाई राहत र अनुदान जुटाउन सरकारी तथा गैरसरकारी निकाय, विकास साझेदार, निजी क्षेत्र र नागरिक समाजलाई सहयोगका लागि आह्वान समेत गरेका छन् ।

वर्षा अझै जारी रहेकाले देशका हिमाली तथा पहाडी भेगमा जमिन भिजेर गलेकाले पहिरोको उच्च जोखिम रहेको भन्दै प्राधिकरणका प्रवक्ता शान्ति महतले उच्च सतर्कता अपनाउन आग्रह गरिन् । प्राधिकरणका उपसचिव रामबहादुर केसीले विपद्का समयमा सूचना पाएर पनि अटेर हुने घटनाले मृत्युका घटना बढेकाे बताए । बाढीमा पाैडिने, काठ झिक्न जाने वा यात्रामा रोक लगाउँदा लगाउँदै जबरजस्ती सवारी चलाउने घटनाले एक तिहाइ मृत्युदर बढाएको बताए । उनले बाढी पहिरोका कारण अवरुद्ध भएका सडक, खानेपानी, सिँचाइजस्ता अत्यावश्यक सेवाहरूलाई तत्काल सञ्चालनमा ल्याउन निर्देशन दिइएको जानकारी दिए । उनका अनुसार प्राधिकरणले जोखिमयुक्त क्षेत्रको प्राविधिक अध्ययन गर्ने निर्णय गरेको छ। जसअनुसार रोल्पाको थवाङ र सुनछहरी गाउँपालिका, बाजुराको त्रिवेणी नगरपालिका तथा जाजरकोटको भेरी नगरपालिका–२ र आसपासका क्षेत्रमा प्रारम्भिक भौगर्भिक अध्ययन गर्न प्राधिकरणको नेतृत्वमा आगामी तीन दिनभित्र भौगर्भिक अध्ययन टोली स्थलगत रूपमा परिचालन गरिने भएको छ । विपद्को कठिन समयमा पूर्वतयारी, उद्धार तथा राहतका काममा हातेमालो गर्न प्राधिकरणले विकास साझेदार, सङ्घसंस्था, सञ्चारकर्मी, निजी क्षेत्र र आम नागरिकलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया