चौतर्फी दबाबपछि सभामुखद्वारा प्रधानमन्त्रीलाई रुलिङ, भदौ १० मा प्रश्नोत्तर, संसद जालान बालेन ?

चौतर्फी दबाबपछि सभामुख डोलप्रसादअर्यालले सोमबार प्रधानमन्त्री बालेन्द्र शाहलाई संसद्मा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिन रुलिङ गरेका छन् ।

१ भदौ, काठमाडौँ – प्रतिनिधि सभामा लामो समयदेखि अवरुद्ध रहेको प्रधानमन्त्रीसँग सांसदहरूको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सुचारु हुने भएको छ । विपक्षी दलहरूको लगातारको विरोध र चौतर्फी दबाबपछि सभामुख डोलप्रसादअर्यालले सोमबार प्रधानमन्त्री बालेन्द्र शाहलाई संसद्मा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिन रुलिङ गरेका छन् ।

प्रतिनिधि सभाको सोमबारको बैठक सुरु हुनेबित्तिकै विपक्षी दलका सांसदहरू आफ्नो आसनबाट उठेर विरोध जनाएका थिए । उनीहरूले प्रधानमन्त्री शाहलाई संसद्मा उपस्थित गराएर प्रश्नोत्तर गराउन सभामुखलाई रुलिङ गर्न माग गर्दै आएका थिए । यस विषयमा ध्यान आकर्षण भएको बताउँदै सभामुख अर्यालले भने, “माननीय सदस्यहरूले लामो समयदेखि प्रतिनिधि सभा नियमावली बमोजिम प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग सम्बन्धित विषयमा प्रश्नोत्तरको माग गर्दै गरिरहेको विरोधप्रति मेरो ध्यानाकर्षण भएको छ।” त्यसपछि सभामुख अर्यालले स्पष्ट रूपमा रुलिङ गर्दै भने, “प्रतिनिधि सभाको बैठकमा उपस्थित भई नियमावलीको नियम ५६, ५७, ५८, ५९ र ६० बमोजिम माननीय सदस्यहरूको प्रश्नको जवाफ दिन म सम्माननीय प्रधानमन्त्रीलाई निर्देश गर्दछु। ” यो प्रधानमन्त्री शाहलाई सभामुखले पहिलो पटक दिएको रुलिङ हो ।

सभामुख अर्यालले बैठकको अन्त्यमा प्रश्नोत्तर कार्यक्रमका लागि भदौ १० गतेको मिति तोकेका छन् । उनले भने, “प्रतिनिधिसभा नियमावली, २०८३ को परिच्छेद ९ बमोजिम प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धी कार्यक्रम २०८३ भदौ १० गतेको बैठकमा हुने गरी निर्धारण गरेको व्यहोरा जानकारी गराउँछु ।” सांसदहरूलाई शुक्रबार (भदौ ५) दिउँसो १ बजेभित्र आफ्ना प्रश्नहरू प्रतिनिधिसभा सचिव समक्ष लिखित रूपमा दिन निर्देशन दिएका छन् । प्रत्येक दलबाट कम्तीमा एक जना सांसदको एक प्रश्न सुनिश्चित हुनेछ भने प्रतिनिधित्वको आधारमा बढीमा १५ वटा प्रश्न सोध्न सकिने व्यवस्था रहेको सभामुखले स्पष्ट पारेका छन् । उनले सांसदहरूलाई छोटो प्रश्न राख्न पनि आग्रह गरेका छन् ।

विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री शाहले यसअघि संसद्मा दिएको अभिव्यक्ति (नेपालले पनि भारतको जमिन मिचेको भन्ने) लाई लिएर स्पष्टीकरण माग गर्दै आएका थिए । त्यसैगरी, प्रतिनिधि सभा नियमावलीमा हरेक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राख्नुपर्ने व्यवस्था भए पनि त्यो नियमित रूपमा कार्यान्वयन नभएको भन्दै उनीहरूले प्रधानमन्त्रीको उपस्थिति अनिवार्य गराउन माग गर्दै आएका थिए ।

संसद्मा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिन रुलिङ भएपनि प्रधानमन्त्री जाने निश्चित भने छैन । प्रधानमन्त्रीले अर्को दिन मात्र जाने भनेर समय सार्न पनि पाउँछन् । यसअघि अटेर गर्दै आएको संसदमा उनी गएनन् भने पनि नौलाे भने हुने छैन ।

प्रतिक्रिया