बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा मगर नियुक्त, आर्थिक मामिला तथा योजना मन्त्रीमा नेकपाका सहयात्री

नयाँ सरकारमा नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट टोलीको नेतृत्व गर्दै बागमती प्रदेश संयोजक सरल सहयात्री पौडेल आर्थिक मामिला तथा योजना मन्त्रीका रूपमा सहभागी भएका छन् ।

४ भदौ, काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्री पदमा किरण थापा मगर नियुक्त भएका छन्। प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम थापा मगरलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।

नवनियुक्त मुख्यमन्त्री थापा मगरले पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै मन्त्रिपरिषद् विस्तार गरी ७ सदस्यीय सरकार गठन गरेका छन् । गठित नयाँ सरकारमा नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट टोलीको नेतृत्व गर्दै बागमती प्रदेश संयोजक सरल सहयात्री पौडेल आर्थिक मामिला तथा योजना मन्त्रीका रूपमा सहभागी भएका छन् ।

कार्यविभाजन अनुसार मुख्यमन्त्री थापा मगरले आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालयका साथै कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी आफैँसँग राखेका छन् ।

त्यसैगरी अन्य मन्त्रीहरूमा गिर बहादुर तामाङले स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय, राजेन्द्र प्रजापतीले उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय, र राजु विष्टले खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

भरत बहादुर के.सी. भौतिक पूर्वाधार विकास मन्त्री बनेका छन् भने ज्ञानबहादुर तामाङलाई बिना विभागीय मन्त्रीका रूपमा मन्त्रिपरिषद्‌मा सहभागी गराइएको छ। नयाँ मन्त्रिपरिषद् गठन भएसँगै प्रदेश प्रमुखको कार्यालयले बाँकी प्रशासनिक प्रक्रिया अगाडि बढाएको छ।

प्रतिक्रिया