जान्नेलाई छान्ने नाराले पाँच महिनामै नागरिक पछुताए : सापकोटा

प्रतिनिधि सभाका पूर्वसांसद एवम् नेकपा (माओवादी केन्द्र) का प्रभावशाली केन्द्रीय सदस्य माधव सापकोटा सुबोधले पछिल्लो समय 'जान्नेलाई छान्ने' नाराको हुटहुटीका कारण आम नागरिकहरू अभाव, महँगी र अस्तव्यस्तताबिच पछुताउनुपर्ने स्थिति बनेको बताएका छन् ।

६ भदौ, सिन्धुपाल्चोक । प्रतिनिधि सभाका पूर्वसांसद एवम् नेकपा (माओवादी केन्द्र) का प्रभावशाली युवा नेता माधव सापकोटा ‘सुबोध’ले ‘जान्नेलाई छान्ने’ हुटहुटीका कारण आम नागरिक अभाव, महँगी र अस्तव्यस्तताले पाँच महिनामै पछुताउनुपर्ने स्थिति बनेको बताएका छन्।

सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा बागमती प्रदेश सरकारको बजेटबाट निर्मित ‘शहीद प्रतिष्ठान नेपाल जुगल शाखा’को नवनिर्मित भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । उनले सरकारकाे कार्यशैलीप्रति असन्तुष्टि जनाएका थिए । सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा बागमती प्रदेश सरकारको बजेट सहयोगमा निर्मित ‘शहीद प्रतिष्ठान नेपाल जुगल शाखा’ को नवनिर्मित भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता सापकोटाले यस्तो बताएका हुन् । नेपाली कम्युनिष्ट पार्टी जुगल गाउँपालिकाको एकता समायोजन विस्तारित बैठक तथा भवन उद्घाटन कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका नेता सापकोटाले जनताले यति चाँडै पछुताउनु पर्ने स्थिति आएको बताएका हुन् ।

उनले नेपालमा कम्युनिष्टहरूलाई चौतर्फी रूपमा घेराबन्दी गर्ने काम भइरहेको दाबी गरे। उक्त घेराबन्दीलाई असफल पार्नका लागि ढिलो वा चाँडो वामपन्थीहरूबिच एकता र सुदृढीकरणको बाटो रोज्नुपर्नेमा उनले जोड दिए । आगामी महाधिवेशनसम्म पुग्दा वामपन्थीहरूबिच कस्तो सम्बन्ध विस्तार गर्ने र त्यो कहाँसम्म पुग्ने भन्ने स्पष्ट खाका निर्माण हुने उनको भनाइ थियो । त्यसो नभएसम्म एकता भइहाल्ने परिस्थिति नबन्ने उनले बताए । सापकोटाले गत प्रतिनिधि सभा सदस्य निर्वाचनमा आफूलाई सबैभन्दा बढी मत दिएकोमा जुगलका मतदाताहरूप्रति आभार व्यक्त गरे । उनले आगामी निर्वाचनमा अझ बढी जनविश्वास बटुल्नका लागि एकजुट भएर लाग्न सम्पूर्ण पार्टी पङ्क्तिलाई आग्रह गरे।

उक्त कार्यक्रममा बोल्दै पार्टीकी केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज अमृता नेपालले पार्टीको सदस्यता विस्तार र नवीकरणको कार्यलाई प्रभावकारी बनाउन पार्टीको सर्कुलर अनुरूप काम अगाडि बढाउन जुगल पार्टी समितिलाई निर्देशन दिइन्। उनले आगामी भाद्र मसान्तसम्म पार्टी सदस्य डिजिटलाइजेशन कार्य प्रभावकारी बनाउन एकजुट भएर लाग्न सुझाव दिएकी थिइन् । कार्यक्रममा केन्द्रिय नेता विष्णु सापकोटाको पनि उपस्थिति रहेको थियो । पार्टीका प्रदेश समिति सदस्य एवम् जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङ्बोले विगत ४ वर्ष ३ महिनाको अवधिमा कसैसँग वादविवाद नगरी जनभावना अनुरूप कार्य गरिरहेको बताए । उनले आफू एक्लैले मात्र सबै विषयमा ध्यान दिन नसक्ने भएकाले बाँकी अवधिमा समेत रचनात्मक सुझाव र सहयोग प्रदान गर्न पार्टीका नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरे ।

कार्यक्रममा बोल्दै पार्टीका बागमती प्रदेश समिति सदस्य एवम् पालिका इन्चार्ज ईश्वर गुभाजुले महाधिवेशन नजिकिँदै गरेकाले आन्तरिक पार्टी पङ्क्तिलाई फेरि एकपटक मजबुद बनाउन आ-आफ्नो ठाउँबाट लाग्न सबैलाई आह्वान गरे। उनले जुगलमा पार्टी अहिले पनि पहिलो स्थानमै रहेको र भविष्यमा पनि उक्त स्थान कायम राख्न अझ सशक्त भएर जनभावनाको कदर हुने गरी काम गर्नुपर्ने आवश्यकता औँल्याए। पार्टीका नेता तथा कार्यकर्ताहरूको व्यापक सहभागितामा सम्पन्न उक्त कार्यक्रम बागमती प्रदेश समिति सदस्य जयबहादुर लामाको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको सहजीकरण पालिका समिति संयोजक इन्द्र सिलवालले गरेका थिए। संयोजक सिलवालका अनुसार आगामी भाद्र २१ गतेसम्म सदस्यता विस्तार तथा नवीकरण कार्य समयमै सम्पन्न गरिने छ । युवा नेता मिलन लामाले सदस्यता विस्तारका लागि प्रविधिमा ज्ञान भएकाहरूलाई तालिम प्रदान गर्नेछन् ।

प्रतिक्रिया