चोभारमा जुट्यो मानवीय समुदाय : आत्मीयता, अनुभव र सहकार्यको संगम

विश्व मानवीय दिवस २०२६ को अवसर पारेर नेपालको मानवीय सहायता तथा विपद् व्यवस्थापन क्षेत्रमा क्रियाशील विभिन्न पक्षहरूबीच आपसी आत्मीयता, सहकार्य र अनुभव आदान-प्रदान गर्ने उद्देश्यले चोभारमा विशेष भेटघाट तथा वनभोज कार्यक्रम सम्पन्न भएको छ।

७ भदौ, काठमाडौँ- विश्व मानवीय दिवस २०२६ को अवसर पारेर नेपालको मानवीय सहायता तथा विपद् व्यवस्थापन क्षेत्रमा क्रियाशील विभिन्न पक्षहरूबीच आपसी आत्मीयता, सहकार्य र अनुभव आदान-प्रदान गर्ने उद्देश्यले चोभारमा विशेष भेटघाट तथा वनभोज कार्यक्रम सम्पन्न भएको छ।

‘ह्युम्यानिटेरियन कम्युनिटी गेट-टुगेदर एन्ड पिकनिक प्रोग्राम २०२६’ नाम दिइएको कार्यक्रममा नेपाल सरकारका निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, विकास साझेदार, नागरिक समाज र मानवीय सेवामा समर्पित विज्ञ तथा पेशाकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो । मानवीय कार्य र विपद् व्यवस्थापनको क्षेत्रमा लामो समयदेखि समर्पित व्यक्ति तथा संस्थाहरूलाई एकै ठाउँमा ल्याएर अनौपचारिक वातावरणमा जोड्ने हेतुले यो कार्यक्रम आयोजना गरिएको यसका संयोजक समेत रहेका राष्ट्रिय प्रकोप व्यवस्थापन सञ्जाल नेपाल (डिमान) का अध्यक्ष सूर्यबहादुर थापाले जानकारी दिए । कार्यक्रममा सहभागीहरूले आपसमा अनुभव, सिकाइ र चुनौतीहरूबारे खुला छलफल गरेका थिए । विशेषगरी आगामी दिनहरूमा आउन सक्ने प्राकृतिक तथा मानवीय विपद्को सामना गर्न र मानवीय सहायतालाई थप चुस्त, प्रभावकारी र पहुँचयोग्य बनाउन कसरी एकीकृत रूपमा अघि बढ्न सकिन्छ भन्ने विषयमा महत्त्वपूर्ण विमर्श भएको थियो ।

कार्यक्रमले मानवीय क्षेत्रमा कार्यरत विभिन्न पुस्ताका प्रतिनिधि, सरोकारवाला निकाय र संस्थाहरूबीचको पारस्परिक सम्बन्धलाई अझ प्रगाढ बनाउन ठूलो योगदान पुर्‍याएको सहभागीहरूले बताएका थिए । सहभागीहरुले संयुक्त राष्ट्रसङ्घले तय गरेको विश्व मानवीय दिवसको मूल भावनाअनुरूप मानवीय सेवामा खटिने व्यक्ति तथा समुदायको अतुलनीय योगदानको कदर गर्दै यस भेटघाटले सहकार्य, एकता र मानवीय सेवाको साझा प्रतिबद्धतालाई थप सुदृढ बनाउने बलियो सन्देश प्रवाह गरेको प्रतिक्रिया दिएका थिए ।

कार्यक्रमको समापन गर्दै संयोजक थापाले कार्यक्रमलाई भव्य र सभ्य रूपमा सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सम्पूर्ण सरकारी तथा गैरसरकारी संस्था, सहयोगी निकाय, व्यवस्थापक र सहभागी मानवीय समुदायप्रति धन्यवाद व्यक्त गरेका थिए । सहभागिले यस्ता कार्यक्रमलाई निरन्तरता दिन सुझाव दिएका थिए ।

प्रतिक्रिया