मुलुक सुगौली सन्धिपछिकै गम्भीर राष्ट्रिय स्वाधीनताको संकटमा : प्रचण्ड

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपाल अहिले ऐतिहासिक सुगौली सन्धिपछिकै सबैभन्दा गम्भीर राष्ट्रिय स्वाधीनताको संकटबाट गुज्रिरहेको बताएका छन् ।

७ भदौ, काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल अहिले ऐतिहासिक सुगौली सन्धिपछिकै सबैभन्दा गम्भीर राष्ट्रिय स्वाधीनताको संकटबाट गुज्रिरहेको बताएका छन् । आइतबार काठमाडौँमा आयोजित कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले मुलुकको वर्तमान परिस्थितिलाई सामान्य राजनीतिक संकटका रूपमा मात्र लिन नहुने बताए ।

कम्युनिस्ट शक्तिहरूले राष्ट्रिय स्वाधीनताको रक्षा, उत्पीडित वर्गका मुद्दा तथा वैदेशिक हस्तक्षेपका विरुद्धको संघर्षलाई समयमै पर्याप्त प्राथमिकता दिन नसक्दा अहिलेको असाधारण र भयावह परिस्थिति सिर्जना भएको उनले स्वीकार गरे। प्रचण्डले विगतका गल्ती र कमजोरीलाई लिएर राजनीतिक दलहरूले एक-अर्कामाथि आरोप-प्रत्यारोप गर्नुको साटो सामूहिक रूपमा गम्भीर आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता औँल्याए । कम्युनिस्ट आन्दोलन र राष्ट्रिय स्वाधीनताबीच ‘नङ र मासु’ को जस्तै प्रगाढ सम्बन्ध रहने उल्लेख गर्दै उनले देशलाई वर्तमान crisis बाट बाहिर निकाल्न देशभक्त तथा विचार मिल्ने कम्युनिस्ट शक्तिहरूबीच पुनर्गठन, सहकार्य र सुदृढ एकता अपरिहार्य रहेको निष्कर्ष निकाले। कार्यक्रममा सहभागी विभिन्न दलका प्रतिनिधिहरूलाई साझा निकासका लागि गम्भीर चिन्तन र मनन गर्न उनले आह्वानसमेत गरे।

प्रतिक्रिया