तिब्बतबाट आएको लेदो बाढीले टिमुरे बगायो: ‘पहाडतिर नभागेको भए हामी पनि खोलामै मिसिन्थ्यौँ’ प्रत्यक्षदर्शी

चीनको तिब्बत क्षेत्रबाट अचानक आएको विनाशकारी लेदो बाढीले उत्तरी सीमावर्ती जिल्ला रसुवाको टिमुरे र स्याफ्रुबेँसी क्षेत्र पूर्ण रूपमा क्षतविक्षत बनाएको छ।

१० भदौ । काठमाडाै‌ँ । चीनको तिब्बत क्षेत्रबाट अचानक आएको विनाशकारी लेदो बाढीले उत्तरी सीमावर्ती जिल्ला रसुवाको टिमुरे र स्याफ्रुबेँसी क्षेत्र पूर्ण रूपमा क्षतविक्षत बनाएको छ।

बुधबार बिहान करिब ९:०० बजे लेन्दे खोला हुँदै भोटेकोशीमा पसेको लेदोसहितको बाढीले टिमुरे बजार, भन्सार कार्यालय परिसर, सीमा नाका, प्रहरी चौकी तथा भन्सारमा खटिएका सयौँ मालवाहक ट्रक र साना सवारी साधनहरू सोहोरेर लगेको छ। स्थानीय जल तथा मौसम विज्ञान विभागका अनुसार रसुवामा कुनै वर्षा नभएका कारण तिब्बततर्फ हिमताल विस्फोट वा भीषण हिमपहिरोका कारण यो विनाशकारी बाढी आएको अनुमान गरिएको छ। बाढीका कारण जलविद्युत् आयोजना, २२० केभी सबस्टेसन तथा सञ्चार टावरहरू ध्वस्त हुँदा सो क्षेत्र पूर्ण रूपमा सञ्चारविहीन बनेको छ।

घटना हुँदा टिमुरे बजारमै रहेर ज्यान जोगाउन सफल भएका प्रत्यक्षदर्शी कपिल पाख्रिनले त्यो भयावह क्षणको अनुभव सुनाउँदै एक्कासि माथि खोलाबाट हुरी, बादल, धुलो, धुवाँ र हिलोको ठूलो हुरीसहित लेदो बाढी आएको बताएका छन्। चाइनातिरै ताल फुटेको हुन सक्ने अनुमान गर्दै उनले आफूहरू समयमै माथि भित्ता वा पहाडतर्फ भाग्न सफल भएका कारण ज्यान जोगिएको उल्लेख गरेका छन्। उनका अनुसार भाग्न नभ्याएका धेरै मान्छेहरू बाढीमा परेको आशंका छ भने डिलबाट हेर्दा ८-१० जना मात्र सुरक्षित रूपमा जम्मा हुन सकेका छन्। बजारमा रहेका होटल, पसल, भन्सार कार्यालय, प्रहरी चौकी र मालवाहक ट्रकहरू केही पनि बाँकी नरहेको र खोलाले आफ्नो धार परिवर्तन गरेर पुरानो बजार क्षेत्रबाटै भोटेकोशी बगिरहेको उनले जानकारी दिएका छन्। मौसम सफा भए पनि तलको क्षेत्र लेदो र धुलोले ढाकिएको र खोलाको बहाव केही सामान्य भएपछि बाँचेकाहरूले तल झरेर खोजी गर्ने प्रयास गरिरहेका छन्।

बाढीको प्रभाव भोटेकोशी हुँदै त्रिशूली नदी र तल्लो तटीय क्षेत्रतर्फ तीव्र गतिमा बढेपछि गृह मन्त्रालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवन (मुग्लिन तथा देवघाटभन्दा तलका क्षेत्र) का नदी किनारमा रहेका सम्पूर्ण बस्तीका बासिन्दालाई तत्काल सुरक्षित तथा उच्च स्थानमा सर्न उच्च सतर्कता (रेड अलर्ट) जारी गरेका छन्। सम्भावित जोखिम टाल्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले उपत्यकाबाट ती जिल्लातर्फ जाने सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाएको छ भने गल्छी–स्याफ्रुबेँसी, पृथ्वी राजमार्ग र मुग्लिन–नारायणगढ सडक खण्डमा अत्यावश्यक बाहेकका यात्रा नगर्न अपिल गरिएको छ।

विपद्को गम्भीरतालाई मध्यनजर गर्दै सरकारले खोज तथा उद्धारका लागि राज्यका सम्पूर्ण संयन्त्र परिचालन गरेको छ। नेपाली सेनाका दुईवटा हेलिकप्टरसहित विशेषज्ञ टोली रसुवा र नुवाकोटका प्रभावित क्षेत्रमा पुगिसकेका छन् भने निजी हेलिकप्टरहरूलाई पनि तयारी अवस्थामा राखिएको छ। गृह मन्त्रालयको कमान्ड पोस्टमा बसेको आपत्कालीन बैठकले उद्धारलाई पहिलो प्राथमिकतामा राख्दै प्रभावित क्षेत्रमा थप एम्बुलेन्स र मेडिकल टोली परिचालन गर्ने निर्णय गरेको छ भने स्थानीय प्रशासनले नदी किनारमा नजान र कुनै पनि आपत्कालीन सहयोगका लागि टोल-फ्री नम्बर १२३४ मा सम्पर्क गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।

बाढीमा परेर निधन भएकाहरुकाे संख्या ठुलो हुनसक्ने आँकलन गरिएको छ । हालसम्म ९ सशस्त्र प्रहरी र टिमुरेका प्रहरी सम्पर्क विहिन छन् ।

प्रतिक्रिया