बाढीबाट सम्पर्कविहिन सिन्धुवासीको स्थिति पत्ता लगाउने कार्यमा सहजीकरण गर्न पूर्वसांसद सापकोटा आग्रह

सिन्धुपाल्चोक १ का पूर्वसांसद माधव सापकोटाले बाढीमा बेपत्ता सिन्धुपाल्चोकवासीको स्थिति पत्ता लगाउन र उद्धार कार्यमा सहजीकरण गर्न स्थानीय निजी क्षेत्र र व्यावसायिक संस्थाहरूलाई आह्वान गरेका छन्।

१० भदौ, सिन्धुपाल्चोक – सिन्धुपाल्चोक १ का पूर्वसांसद माधव सापकोटाले बाढीमा बेपत्ता सिन्धुपाल्चोकवासीको स्थिति पत्ता लगाउन र उद्धार कार्यमा सहजीकरण गर्न स्थानीय निजी क्षेत्र र व्यावसायिक संस्थाहरूलाई आह्वान गरेका छन्।

सामाजिक सञ्जालबाट अपिल जारी गर्दै नेपाली कम्युनिष्ट पार्टीका वन वातावरण तथा जलवायु परिवर्तन विभागका प्रमुक समेत रहेका सापकाेटाले यस्तो अपिल गरेका हुन् । उनले रोजगारी, व्यापार व्यवसाय तथा धार्मिक पर्यटनका सिलसिलामा छिमेकी जिल्ला रसुवा र नुवाकोट पुगेका सिन्धुपाल्चोकवासी नागरिकहरू बाढी पहिरोको प्राकृतिक विपदमा परेकाले उनीहरूको खोज तथा उद्धारका लागि सहजीकरण गर्न आग्रह गरेका हुन्। सापकोटाले संकटको यस कठिन घडीमा सम्पूर्ण सिन्धुबासी दाजुभाइ तथा दिदीबहिनीहरूलाई धैर्यता र संयमता अपनाउन आग्रह गरेका समेत गरेका छन्।

पूर्वसांसद सापकोटाले नेपाल हिमालय सीमापार व्यापार संघ र सिन्धुपाल्चोक उद्योग वाणिज्य संघलाई नुवाकोट र रसुवा पुगेका नागरिकहरूको तत्काल विवरण संकलन गरी उद्धारमा सक्रिय भूमिका निर्वाह गर्न अनुरोध गरेका छन्। उनले आफ्ना आफन्त तथा परिवारका सदस्यहरू सम्पर्कविहीन भएका नागरिकहरूलाई यथाशीघ्र विवरण उपलब्ध गराउन आग्रह गर्दै आफूले राज्यका सम्बद्ध निकायहरूसँग निरन्तर समन्वय र पहल लिने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले विपद प्रतिकार्यलाई प्रभावकारी बनाउन नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै तत्काल कार्यान्वयन गर्नुपर्ने ७ बुँदे माग अघि सारेका छन्। उनले छिमेकी मित्रराष्ट्र चीनको भूगोलबाट अझै बाढीको खतरा कायमै रहेको खबर आएकाले कूटनीतिक पहलकदमी मार्फत त्यसको वस्तुस्थिति यकीन गरी सोही अनुसार पूर्वतयारी गर्न सरकारसँग माग गरेका छन्। यसका साथै उद्धारको पर्खाइमा रहेका सयौँ नागरिकहरूको यथाशीघ्र उद्धार गर्न, घाइतेहरूको खोज, उद्धार तथा उपचारको व्यवस्थित योजना बनाएर जनशक्ति परिचालन गर्न र हराइरहेका नागरिकहरूको खोजी कार्यलाई तीव्रता दिन आग्रह गरेका छन्।

भौतिक संरचना पुनर्निर्माण र राहत व्यवस्थापनका सम्बन्धमा सापकोटाले क्षतविक्षत भएका टेलिफोन टावर, विद्युत् लाइन र सडक लगायतका आधारभूत पूर्वाधार संरचनाहरूलाई तत्काल अस्थायी रूपमा सञ्चालनमा ल्याउन काम थाल्नुपर्नेमा जोड दिएका छन्। त्यसैगरी घरबारविहीन भएका प्रभावितहरूलाई सुरक्षित स्थानमा अस्थायी सेल्टर निर्माण गरी व्यवस्थापन गर्ने योजना अविलम्ब कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। उनले सम्पूर्ण राजनीतिक दल, तीनवटै तहका सरकार, निजी क्षेत्र र राज्यका संयन्त्रहरूलाई विश्वासमा लिई राष्ट्रिय एकताका साथ विपद प्रतिकार्यमा नेतृत्व लिन सरकारलाई अपिल गरेका छन्। सापकोटाले सिन्धुपाल्चोकमा यस अघि भएका विपदहरुमा अग्रभागमा रहेर काम गरेका थिए ।

प्रतिक्रिया