

१२ भदौ, नुवाकोट – रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण सम्पर्कविहीन बनेका सिन्धुपाल्चोकका नागरिकहरूको खोजी, उद्धार तथा उपचार प्रक्रियालाई थप तीव्र र प्रभावकारी बनाउन नेपाली कम्युनिष्ट पार्टिका नेताहरु फिल्डमा पुगेका छन् ।
नेकपाका वन वातावरण तथा जलवायु विभागका प्रमुख माधव सापकोटा र क्षेत्र नम्बर २ का सांसद युवराज दुलालसहितको टोलीले नुवाकोटको त्रिशूलीस्थित सैनिक तालिम केन्द्र पुगी बाढी प्रभावित तथा उद्धार कार्यको अवस्थाबारे विस्तृत जानकारी लिएका छन् । रसुवा बाढीका कारण सिन्धुपाल्चोकका कम्तिमा पनि २२४ जना नागरिक सम्पर्क विहिन छन् । नेता द्वयले उनीहरुको खोज, उद्धार कार्य र घाइतेहरूको उपचारको स्थितिबारे सुरक्षा निकाय तथा सम्बन्धित अधिकारीहरूसँग प्रत्यक्ष समन्वय गरेका छन् ।
स्थलगत अवलोकनपछि सापकोटाले सम्पर्कविहिनहरुको खोजी कार्य जारी रहेको र यसलाई थप प्रभावकारी बनाउन समन्वय गरिएको जानकारी दिएका छन् । उनले आफन्तजनमा धैर्य गर्न अपिल गर्दै गरेका छन् । उनले स्थलगत अवलोकन गर्दा रसुवा बाढी आँकलन गरेकोभन्दा धेरै ठूलो रहेको बताएका छन् । यो बाढीलाई देशैभरका नदी तटीय क्षेत्रमा वसोबास गर्ने नागरिकहरुले ठूलो पाठका रुपमा लिनु पर्ने उनको भनाई छ । सम्पर्कविहीन नागरिककाको खोजिका लागि स्थानीय प्रशासन, नेपाली सेना, नेपाल प्रहरी र सरोकारवाला निकायहरूसँग निरन्तर समन्वय भइरहेको नेता दुलालले जानकारी दिए । छलफलका क्रममा विगतमा सिन्धुपाल्चोक लगायतका बाढी प्रभावित जिल्लाहरूमा विपद्पछिको व्यवस्थापन र पुनर्स्थापनामा अपनाइएका व्यावहारिक उपायहरूबारे समेत अनुभव आदानप्रदान गरिएको नेताहरुले जानकारी दिएका छन् ।

