भोटेकोशी बाढी प्रभावित क्षेत्रमा शीघ्र उद्धार र सबै पक्षको सक्रिय योगदानका लागि डिमानको अपिल

राष्ट्रिय प्रकोप व्यवस्थापन सञ्जाल, नेपाल (डिमान) ले भोटेकोशी नदीमा आएको अप्रत्याशित र भीषण बाढीका कारण रसुवा, नुवाकोट र धादिङ जिल्लाको तटीय क्षेत्रमा भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ।

काठमाडौँ, १२ भाद्र — राष्ट्रिय प्रकोप व्यवस्थापन सञ्जाल, नेपाल (डिमान) ले भोटेकोशी नदीमा आएको अप्रत्याशित र भीषण बाढीका कारण रसुवा, नुवाकोट र धादिङ जिल्लाको तटीय क्षेत्रमा भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ। सञ्जालले यस विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक संवेदना प्रकट गरेको छ।

बाढीबाट प्रभावित बनेका नागरिकहरूका लागि तत्काल प्रभावकारी कदम चाल्न आग्रह गर्दै डिमानले नेपाल सरकार, प्रदेश तथा स्थानीय सरकार, जनप्रतिनिधि, सुरक्षा निकाय, नागरिक समाज, राजनीतिक दल, सामाजिक संघ-संस्था, अन्तर्राष्ट्रिय संघ-संस्था, दातृ निकाय र आम नागरिक सबैलाई एकीकृत सहयोग, समन्वय र एकबद्धताका लागि आह्वान गरेको छ। सञ्जालले प्रभावितहरूको तत्काल उद्धार, घाइतेहरूको निःशुल्क तथा प्रभावकारी उपचार, बेपत्ता भएकाहरूको शीघ्र खोजी, सुरक्षित बसोबासको प्रबन्ध र पर्याप्त राहत सामग्रीको व्यवस्थापन गर्न जोड दिएको छ। साथै, मानसिक तथा सामाजिक रूपमा विक्षिप्त बनेका परिवारलाई मनोसामाजिक परामर्श प्रदान गर्न र ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, सुत्केरी, गर्भवती, महिला तथा बालबालिकाहरूका लागि विशेष राहत सामग्री उपलब्ध गराउन आग्रह गरिएको छ।

विपद्को यस संवेदनशील घडीमा सामाजिक सञ्जाल तथा सञ्चार माध्यमबाट सत्यतथ्यहीन र भ्रमपूर्ण अफवाह नफैलाउन, प्रभावित क्षेत्रमा अत्यावश्यक वस्तु तथा सेवामा कालाबजारी, कृत्रिम अभाव वा मूल्य वृद्धि नगर्न र पीडितको सम्पत्ति लुटपाट गर्ने जस्ता अमानवीय गतिविधि नगर्न-नगराउन डिमानले अपिल गरेको छ। यस्ता गैरकानुनी र अनैतिक गतिविधिलाई तत्काल नियन्त्रण गरी प्रभावित क्षेत्रमा विपद् सुशासन कायम गर्न सम्बन्धित सबै पक्षलाई अनुरोध गरिएको छ। अध्यक्ष सूर्यबहादुर थापा र महासचिव विष्णु प्रसाद तिमिल्सिनाद्वारा हस्ताक्षरित सो विज्ञप्तिमा दीर्घकालीन पुनर्निर्माण, पुनर्स्थापना र भविष्यमा हुने विपद् जोखिम न्यूनीकरणका पूर्वतयारी कार्यक्रमहरूलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सबै क्षेत्रको सक्रिय योगदान आवश्यक रहेको औँल्याइएको छ।

प्रतिक्रिया