

१२ भदौ, नुवाकोट – विपद् प्रभावित क्षेत्रमा राहत, उद्धार तथा पुनर्स्थापनाका कार्यलाई थप प्रभावकारी, पारदर्शी र व्यवस्थित बनाउन नुवाकोटको बट्टारमा एकीकृत सूचना डेस्क सञ्चालनमा ल्याइएको छ।
गैरसरकारी संस्था महासंघ नेपालको सहजिकरणमा डेस्क सञ्चालनमा ल्याइएको हो । आज नुवाकोटको बट्टारमा महासंघ र जिल्ला समन्वय समिति नुवाकोट तथा स्थानीय संघ-संस्थाहरूको संयुक्त बैठकले राहत तथा सहयोग सामाग्रीको अनिवार्य अभिलेखीकरण गर्दै एकद्वार प्रणालीमार्फत सेवा प्रवाह गर्ने सामूहिक निर्णय गरेको छ। सरकारले सञ्चालन गरिरहेको खोज तथा उद्धारको कार्य निरन्तर अगाडि बढिरहेको भए पनि अझै हराइरहेका व्यक्तिहरूको संख्या थपिन सक्ने जोखिमकालाई ध्यानमा राख्दै यो कदम चालिएको हो।
विगतमा सिन्धुपाल्चोक लगायतका जिल्लाहरूमा आइपरेका ठूला विपद् प्रतिकार्यबाट प्राप्त सिकाइ र अनुभवलाई आधार मान्दै सम्पूर्ण गैरसरकारी क्षेत्रलाई सरकारी निकायसँग जोड्ने प्रयास गरिएको छ। गैरसरकारी संस्था महासंघ नेपालका उपाध्यक्ष तथा विपद् फोकल पर्सन राजेन्द्र शर्माका अनुसार अबको मुख्य प्राथमिकता प्रभावकारी समन्वयमार्फत राहत वितरण, पुनर्स्थापना र दिगो पुनर्निर्माणका कामलाई अघि बढाउनु रहेको छ। शर्माले सम्भावित दोहोरोपन हटाउन र वास्तविक पीडितसम्म सहयोग पुर्याउनका लागि समाज, गैरसरकारी संस्था र सम्पूर्ण सहयोगी हातहरूलाई सहकार्य गर्दै हातेमालो गर्न अपिल गरेका छन् ।
महासंघका अध्यक्ष अर्जुन भट्टराईलगायत महासंघका पदाधिकारीको उपस्थितिमा भएको छलफलमा संस्थागत अभिलेखिकरणका विषयलाई ध्यानमा राख्नेगरी अघि बढ्ने सहमती भएको छ ।

