​बाढीग्रस्त नुवाकोटमा जे देखियो, ‘नदी तट कतै सुरक्षीत छैन’

२०८३ साल भदौ १० गते विहान जसरी नेपाल चीन सीमानाबाट भोटेकोशीमा बाढी आयो र त्यसले दायाँ बायाँका तटीय क्षेत्रमा ठूलो क्षति गर्‍यो, “यो कसरी यस्तो भयो ?” भन्ने कुरामा धेरैको जिज्ञासा छ।

​कति मानिसको मृत्यु भयो भन्ने कुराको अहिलेसम्म टुङ्गो छैन; करिब ७०० पुग्न लागेको छ, २००० भन्दा बढी सम्पर्कविहीन छन्। सुरुङभित्र फसेका मानिसहरूलाई उद्धार गर्न सकिएको छैन। क्षति भएका घरहरूमा अवस्था के छ भनेर हेर्न सकिएको छैन; बाटोहरू खोल्ने क्रम जारी छ। खास कसरी भइरहेको छ त्यहाँ राहत वितरण, कसरी उद्धार भइरहेको छ, कसरी मानिसहरूलाई ल्याइँदै छ, कसरी काम हुँदै छ भन्ने कुरा अलिकति जानकारी दिनुभन्दा अगाडि मैले २०८३ साल भदौ ११ गते यो विपत्ति भएको भोलिपल्ट नुवाकोटको दुई वटा ठूला-ठूला बजारहरूमा अवस्था के रहेछ भनेर जानकारी लिने अवसर पाएँ।

​म सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का पूर्व सांसद एवम् नेपाली कम्युनिष्ट पार्टीका वन, वातावरण तथा जलवायु विभागका प्रमुख माधव सापकोटा ‘सुबोध’ र सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य युवराज दुलालसहितको टोली त्यहाँ गएका थियौँ। सिन्धुपाल्चोकबाट कम्तीमा २२४ जना मानिसहरू बेपत्ता भएको र बलेफी गाउँपालिकाबाट मात्रै पनि ३७ जना बेपत्ता भएको सूचना छ । सिन्धुपाल्चोकका जिल्लाभरिका क्षेत्रमा यति ठूलो मानिसहरू बेपत्ता भएको भनेपछि जाने निधो भएको थियो । तातोपानी नाकामा जाने इको पहिरोले बाटो अवरुद्ध भयो। त्यहाँ भ्यान चलाउने चालकहरू, त्यहाँ व्यापार गर्ने व्यापारीहरू र रसुवाका विभिन्न हाइड्रोपावरमा काम गर्ने इन्जिनियरदेखि लिएर कामदारहरूसम्म पनि गएको भन्ने थाहा पाएपछि, हामी ती मानिसहरूको सहज रूपमा उद्धार गर्न सकिन्छ कि, उनीहरूलाई सम्पर्कमा ल्याउन सकिन्छ कि, त्यहाँ आएका घाइतेहरू, अपाङ्गहरू अथवा शवहरू पनि छन् कि मिल्दाजुल्दा  भनेर तस्बिरहरू पनि बोकेर गएका थियौँ।

​नुवाकोटको बटारमा श्री १ नम्बर सैनिक तालिम केन्द्रमा हेलिकप्टरले मान्छे धमाधम ओसार्ने काम गरिरहेको थियो। गरिरहेको छ । त्यो ओसार्दै गर्दा हरेक झरेका मानिसलाई टिमुरेबाट ल्याइएका मानिसहरू अथवा स्याफ्रुबाट ल्याइएका मानिसहरू र मैलुङबाट ल्याइएका मानिसहरू अनि अरू क्षेत्रबाट ल्याइएका मानिसहरूलाई पनि हामीले हरेकलाई यस्ता मानिसहरू देख्नुभएको थियो कि थिएन? कस्तो अवस्था थियो?” भनेर फोटो देखाएर सोध्ने काम गर्‍यौँ। यसमा सबैभन्धा धेरै सक्रिय पूर्व सांसद सापकोटा थिए । 

​टिमुरेबाट ल्याइएका मानिसहरूले थप मानिसहरू त्यहाँ बाँचेको सम्भावना एकदमै कम छ भने। यो त्रिशुली ‘ए’ हाइड्रोपावर र अन्य हाइड्रोपावरका सुरुङहरूमा बसेका मानिसहरू बेलैमा निकाल्न सकियो भने बचाउन पनि सकिन्थ्यो; तर चाँडै गर्नुपर्छ, त्यहाँ मानिसहरू धेरै छन् भनेर जानकारी गराएका थिए।

​अरू त अरू, धेरै मात्रामा बाढी आएको हुनाले भागेर बाँच्न सफल भएका महिलाहरू अनि वृद्धवृद्धाहरूले पनि “चाँडोभन्दा चाँडो जानुपर्छ, खोज्नुपर्छ है, त्यहाँ मानिसहरू माथि-माथि भागेका छन्” भने । यो सबै देखेर मनहरू आत्तिएको कुरा पनि भनेका थिए ।

​उद्धार गरेर ल्याइएका घाइतेहरू, अपाङ्गहरू र अरू आफन्त खोज्न आएका मानिसहरूको धेरै लामो लाइन थियो। त्यो सबै देख्दा-देख्दै हामी लामो समयसम्म बस्यौँ। सिन्धुपाल्चोकबाट हराएका, गाउँबाट हराएका सबै अरू मानिसहरूलाई पनि फेला पार्न सकिन्छ कि भनेर खोजि गरिरहेका थियौं । प्रहरीले आएका मानिसहरूको सूची तयार गरेको थियो । ती सबै सूचीको फोटो खिच्ने काम भयो। ती हराएका मानिसहरूको नामसँग जोडेर हेर्ने प्रयास गर्‍यौँ। अनि सम्पर्कविहीन भएका मानिसहरूको नाम र ती नामहरू मिलाउने, तस्बिरहरू देखाउने र अरू काम पनि गर्‍यौँ। ​भारतीय पर्यटकहरू पनि त्यहाँबाट उद्धार गरि ल्याइएका थिए। पर्यटकका रुपमा मानसरोवर वा गोसाइँकुण्ड जान हिँडेका मानिसहरूसँग पनि उनीहरूले कोहि देखे कि? यस्ता फोटो भएका मानिसहरू देख्नुभएको थियो कि?” भनेर पनि हामीले सोध्ने काम गर्यौँ । अनि अरू मानिस पनि आउँछन् कि  भनेर प्रतीक्षा गरियो। लामो समयसम्म त्यहाँ बसेर यिनै मानिसहरूसँग कुरा गर्ने क्रममा सापकोटाले धेरै त्यहाँका महिलाहरूसँग, अरू पुरुषहरूसँग, जो-जो मानिसको उद्धार गरेर ल्याइएको छ, ती मानिसहरूसँग कुरा गर्नुभयो।

​यी सबै कुरा गर्दा पनि हामीले कतिपय हराएका मानिसहरूको बारेमा जानकारी पाउन सकेनौँ। सबै मानिसलाई तालिम केन्द्रभित्र जान दिइएको छैन। त्यहाँ भीड ठूलो छ; कोही मानिस बाढी-पहिरोको वितण्डा हेर्न गएका छन्, कोही आफन्तको खोजीमा गएका छन्। यति धेरै ठूलो भीडभाड छ कि त्यहाँ मानिसहरूको नै धेरै भीड भइसकेको अवस्था छ।

​कोही मानिसहरू मिडियाबाट पनि गएका छन्, कोही मानिसहरू आफन्त खोज्नलाई, साहनुभूति दिनलाई गएका छन्, त्यहाँ भीडको कुरा गरी साध्य छैन। फेरि बेला-बेलामा माथिबाट “ताल फुट्यो रे! ताल फुट्यो रे! बाढी आउँछ रे!” भनेर फेरि अर्को माइकिङको अवस्था आउँछ। मानिसहरू फेरि भाग्छन्, “होइन रे, सानो आयो रे” भन्छन्, फेरि त्यहाँ जम्मा हुन्छन्। त्यस्तो अवस्था पनि सँगसँगै भइरहन्छ।

​यति धेरै हिलो, माटो, गन्ध, मरेका जनावरहरू, मरेका मानिसहरू सब बगाएर ल्याएको छ, त्यो खोतल्ने काम भएको छैन।  सकिएको छैन। त्यो सबै यति धेरै उग्र गन्ध भइसकेको छ, यस्तो गर्मी छ, त्यो गन्धले पनि अब त्यहाँ अर्को महामारी फैलिने डर देखा परेको छ।

​त्यहाँ त्यति ठूलो बजार थिए । अहिले  केही घर उभिएका छन्, केही घर पुरिएका छन्, केही घर ढलेका छन्, केही घर बगेका छन्। पानीले जुन लेदो बगाएर ल्यायो, त्यो लेदो माथिल्लो तहसम्म दलदल भएर बसेको छ। त्यो दलदल पन्छाउन एउटा घरको अगाडि चाहना राख्ने हो भने एउटा घरको मान्छेले त्यो वर्षदिनमा पनि सक्ने अवस्था छैन। त्यसलाई कसरी पन्छाउने? निजी क्षेत्रबाट, अरू सबै भएका एक्साभेटरहरूलाई सरकारी संयन्त्रबाट तेल हालिदिने र पन्छाउने काम गर्न सकिन्थ्यो कि भनेर पनि धेरै उपायहरूबारे कुरा भयो तर त्यस्तो कामको पनि केही छाटकाँट देखिएको छैन।

​धेरै मानिसहरू दर्शक मात्र भएका छन्। को प्रभावित हुन्, को दर्शक हुन्, को हेर्न आएका बाढी-पर्यटकहरू हुन् वा को चाहिँ साच्चै सहयोग गर्न आएका हुन् भन्ने कुरा छुट्ट्याउन सकिएको छैन। हिजो मात्रै गैरसरकारी संस्था महासंघ, विभिन्न संघ-संस्थाबाट कसरी राहत दिन सकिन्छ भनेर छलफल गर्न त्यहाँ पुगेका थियौँ। त्यसका फोकल पर्सन राजेन्द्र शर्मासँग पनि कुरा भयो। उहाँहरूले सूचनालाई एकीकृत गर्ने भनेर एउटा हेल्प डेस्क बनाउनुभएको छ।

​सरकारले एकद्वार प्रणालीबाट सामग्रीहरू बाँड्ने भनेको छ तर त्यो सामग्री बाँड्नको लागि त्यहाँ लगेर दिएपछि अहिले एक ठाउँमा थुपार्ने काम भएको छ, प्रभावितले त्यो सामान पाउन सकेको अवस्था पनि छैन। त्योभन्दा पनि सबैभन्दा दुःखद कुरा रसुवाको माथिल्ला भागहरूमा जो प्रभावित भएका छन्, ती मानिसहरूलाई उद्धार गरेर लिएर आउने काममा नै कमजोरी देखिएको छ।

​त्रिशुली र देवीघाट सबैभन्दा तल्लो स्थानको क्षति भएका ठाउँहरू हुन्। त्योभन्दा माथितिर क्षति भएका ठाउँहरूमा सरकार पुग्न सकेको छैन। यो कुरा भन्यो भने अहिलेको सरकारका संयन्त्रहरूका मानिसहरू रिसाउने, जथाभावी बोल्ने गर्छन्। जस्तो कुरा पनि गर्छन्। यो अति गर्नु हुँदैन। मानिसहरूको हरेक जीवनले मूल्य राख्छ, त्यो मूल्य राख्ने कुरालाई ख्याल गरिएको माथिल्लो स्तरमा देखिएको छैन।

​यो विपत्तिमा काम गर्ने भन्ने कुरा अनुभवले पनि गर्छ। सिन्धुपाल्चोक लगायतका जिल्लाहरूमा मेलम्ची बाढी, जुरे पहिरो वा अन्य बाढीहरूमा, मनाङको बाढीमा काम गरेको एउटा दक्ष जनशक्ति छ। त्यो जनशक्तिहरू, अनुभवहरूलाई कसरी काममा लगाउने भनेर समन्वय गर्ने कुराहरूमा पनि अलमल भएको देखिन्छ।

​अनि सुरुङभित्र फसेका मानिसहरूलाई कसरी बाहिर निकाल्ने भन्ने सन्दर्भमा नेपालसँग सीप  छैन। भारत, चीन अथवा अरू सुरुङ भएका देशहरूमा, कोइला खानी भएका देशहरूमा त्यो निकाल्ने सीप छ। त्यस्ता मान्छे पठाइदिनुपर्‍यो भनेर आग्रह गर्न पनि सरकार हिचकिचाइरहेको छ। यो अनौठो कुरा देखिन गएको छ।

​यो कुरालाई सरकारले सहजै लिएर यो काम गर्नुपर्दछ ।

अर्को कुरा कुनै पनि नदी तटीय क्षेत्र सुरक्षित छैन। यो त्रिशुली किनारमा पनि छैन, ब्रह्मायणी किनारमा पनि छैन, भोटेकोशी किनारमा पनि छैन वा अन्य किनारहरूमा पनि छैन। कम्तीमा ५०० मिटर माथि बस्न सकिएन भनेदेखि खोलामा घर जोडेर बनाउने कुरा, खोलालाई हेप्ने कुरा, पानीको बहावलाई हेप्ने कुराले अन्ततः मानव जीवनलाई सखाप पार्छ।

​कति मान्छे हराए, टुङ्गो छैन, यकिन छैन। कहीँ हात मात्र भेटिएका छन्, कहीँ टाउको मात्र भेटिएका छन्, कहीँ कम्मरमुनिको भाग मात्र भेटिएको छ, कहीँ कम्मरमाथिको मात्र भाग भेटिएको छ । यस्तो धेरै देखिएको छ। ​मानिससँगसँगै मानिसहरूले पालेका पशुचौपायाहरू कहाँ पुगे? के भए? कस्ता भए? भन्ने कुराको त लेखाजोखा नै गर्न चाहँदैन मान्छे, किनभने मान्छे पहिलो भन्ने कुरा गरिएको छ। यहाँ यति धेरै क्षति भएको छ, ती मानिसहरूको घरमा भएका पैसा, सुनचाँदीहरू पनि सँगसँगै गए। भनेको, मानिससँगसँगै ठूलो धनको पनि क्षति भएको छ।

​फाँटहरू पुरिएका छन्, सबै भएका अन्नबालीहरू पुरिएका छन्, सबै भएका आफूले राखेका सामग्रीहरू पुरिएका छन्। खाद्यन्नका पसलहरूमा पनि ठूला-ठूला गोदामहरू पुरिएका छन्, बगेका छन्। यस्तो हृदयविदारक अवस्था छ। सहयोग गरौँ, आफ्नो-आफ्नो सीप प्रयोग गरौँ, को-को जाने, को नजाने, के गर्ने?  भन्ने कुराको एउटा संयन्त्र बनाऔँ भन्ने कुरामा सरकारलाई त्यो सोच आएको देखिँदैन। सरकारले त्यो विचार लिन चाहिरहेको पनि देखिँदैन।

​आफू मात्रै सक्छु भनेर आँट्दाखेरि धेरै मानिसको जीवन मृत्युमा परिणत हुन सक्छ। जो मान्छे भागेका छन्, उद्धारको पर्खाइमा छन्, त्यहाँ टावर नभएको हुनाले फोन लाग्दैन, ती पर्खाइमा भएका मानिसहरूलाई तत्काल गएर ल्याउन सक्ने अवस्था सिर्जना गर्नुपर्ने, सोलारहरूबाट चार्ज गर्ने अवस्था सिर्जना गर्ने अथवा त्यहाँ अस्थायी टावरहरू (जस्तै माथिल्लो क्षेत्रहरूमा अस्थायी टावरहरू, यो मोबाइल भ्यान लगेर पनि गर्न सकिने अवस्था छ)। धुन्चेसम्म जाने बाटो खुलेको छ, त्यहाँ अहिले टावरहरू सम्पर्कमा आउने, फोन लाग्ने अथवा व्यवस्था गर्न पनि सकिन्थ्यो। त्यसतर्फ पनि तत्काल केही चालिएको कदम देखिएको छैन।

​आलोचना गरेको होइन, सम्भव भएसम्म मान्छे बाँच्ने उपायमा लाग्नुपर्छ भनेर सुझाव दिइएको हो। यो सुझावलाई मनन गर्नुपर्छ। मालिक पर्खिरहेका कुकुरहरूदेखि लिएर किलामा बाँधिएका र मरेका पशुहरूसम्म देख्दाखेरि साह्रै नै पीडा हुँदो रहेछ। मान्छे, मान्छे मात्रै भएर बाँचेको होइन; मान्छेसँगसँगै थुप्रै जनावरहरू पनि सँगै थिए। कोही कुखुरा पालेर, कोही बाख्रा, कोही अनेक जनावरहरूलाई पालेर बसेका हुन्। उ भाग्न भ्यायो तर ती सबै पशु बस्तु मरेको पनि देखिन्छ। अब बचाउन थालेको भए उ पनि मर्थ्यो होला अथवा “मालिक कहाँ बगेर मर्यो” थाहा छैन, तर मालिक कहाँ गयो? भनेर कुरिरहेका कुकुरहरू देख्दा पीडा हुने ।

​अनि धेरै माथि रहेको गाउँबस्तीमा पनि बाढीले क्षती गरेको देख्दा आश्चर्यचकित हुनु स्वाभाविक छ। मान्छेले कति ठूलो बाढी आउँछ भनेर एउटा अनुमान गर्छ, त्यो अनुमान गरेभन्दा धेरै ठूलो आएको हुनाले पनि धेरै मान्छे झुक्किएको पाइएको छ ।  धेरै मान्छे अलमलिएको पाइएको छ।

​अलमलिनुपर्ने, झुकिनुपर्ने कुरा चाहिँ यसभन्दा अगाडि आएको बाढीको मात्राको कुरा पनि हुँदो रहेछ। “यति ठूलो बाढी त आएकै थिएन, यो अहिले आउँछ भनेर हामी पत्याउँदैनौँ” भन्ने सन्दर्भमा पनि कुरा भएको देखिन्छ। नपत्याउँदाखेरि पनि जीवन गुमेको छ । यति ठूलो पनि आउन सक्दो रहेछ भनेर ठूलो पाठ पनि सिकाएको छ।

​यति ठूलो बाढी आउँछ, आउन सक्छ; त्यसैले हाम्रा नदी तटीय क्षेत्रहरू (देशैभरि हाम्रा ६,००० जति नदीहरू छन्), ती ६,००० जति नदी किनारमा बसेकाहरूलाई कसरी हामीले सुरक्षित ठाउँमा लैजाने? कसो गर्ने? भन्ने सन्दर्भमा धेरै कुरा सोचनीय छ । सोच्नुपर्ने कुराहरू छन्। त्यसलाई विचार गरौँ। त्यसलाई विचार गर्न सक्दा मात्रै अनि हामी सुरक्षित रहन सक्छौँ।

​आज त्रिशुलीको किनारमा, भोटेकोशीको किनारमा बस्नेहरूले यो नियति भोग्नुपर्यो। भोलि अरू खोला किनारमा बस्नेहरूले यो नियति भोग्नुपर्छ। नेपालको भौगोलिक अवस्था नै त्यस्तै छ। यो हिन्दुकुश हिमालय क्षेत्रबाट तिब्बती पठारमा मात्रै धेरै—२७ वटा हिमतालहरू त तत्काल जुनसुकै बेला फुट्न सक्छ भनिएको छ। बर्खामा मात्र होइन, हिउँदमा पनि फुट्न सक्छन्; किनभने त्यहाँ भूकम्प वा अरू खालको कुनै हलचल हुने बित्तिकै तत्कालै त्यस्ता तालहरू फुट्ने र तल्लो तटीय क्षेत्रमा बाढी आउने कुराको निश्चित जस्तै छ।

​हामीकहाँ पूर्वसूचना प्रणाली पनि त्यति राम्रो छैन। त्यसो नहुनुको अर्थ हामीलाई भाग्नका लागि पनि प्रशस्त ठाउँ छैन। फेरि खोला किनारहरूमा अलि खोँचहरू हुने र भाग्नका लागि पनि ठाउँहरू नहुने भइरहेको छ। संयोगले लाइन लागेको बेलामा विद्यार्थीहरूलाई भगाउन सकेका हुनाले धेरै विद्यार्थी बाँचे तर धेरै विद्यार्थीहरूको पनि जीवन खेर गएको भन्ने कुरा छ। ​तत्कालै सूचना दिएर तत्कालै भगाउन सक्ने अवस्था पनि छैन, भाग्ने ठाउँ पनि छैन। सार्वजनिक भवनहरू र बस्ने ठाउँहरूको पनि अभाव छ। विद्यालयहरू अलि माथि बनाएको हुनाले काहीँ-काहीँ बस्न पाएको मात्रै हो, त्यस्तो पर्याप्त छैन।

​७२ घण्टासम्म बाँच्ने आशमा “उद्धार हुन्छ” भनेर सुरुङभित्र थुनिएका मानिसहरूको अवस्था कस्तो होला? मनमा दोधार छ । उनीहरू कति बाँचे होला, कति मरे होला थाहा छैन। एक-एक मिनेटको महत्व हुने बेलामा अलिकति चाँडै उद्धार गर्न सरकार पुग्नुपर्दछ भन्ने सन्दर्भमा अप्ठ्यारो नकानीकन काम गर्ने, नसकेकोलाई बोलाउने। अब हरेक मिनेट ढिला गर्नु भनेको धेरै अझै मानिसहरूको जीवन गुमाउनु हो। ती बाँचेका, आशा गरेका मानिसहरूलाई झिक्नुपर्छ। मान्छे जिउँदै झिक्न सकियो भनेदेखि ठूलो राहत हुन्छ। त्यहाँ तिनीहरूलाई लाश बनाएर झिकियो भने त्यसले साह्रै ठूलो क्षति हुन्छ। यो कुरामा पनि सरकारको ध्यान जानुपर्दछ।

​जे त्रिशुलीमा देखिएको छ, जे देवीघाटमा देखिएको छ, जे यो भिडियो वा अरू माध्यमबाट माथिल्लो भागमा देखिएको छ यो अकल्पनीय, अशोचनीय र हामीले सोच्नेभन्दा धेरै माथिको कुरा भएको छ। यो अहिले यहाँ भएको छ, त्योभन्दा पहिला मेलम्ची र हेलम्बुमा भएको थियो। अब तेस्रो कहाँ हुन्छ भन्ने कुरा थाहा छैन।

​नदी तटीय क्षेत्रमा बस्ने बासिन्दाहरूले “म सुरक्षित ठाउँमा सर्छु, यो ठाउँ सुरक्षित छैन” भन्ने कुरा मनमा सोचेर, योजना बनाएर अलिकति सर्नुपर्ने अवस्था छ। नत्र भने हामी यसै पनि मृत्यु त निश्चित छ, कुरेर बस्ने होइन, सुरक्षित ठाउँमा बस्न सक्नुपर्दछ। यसमा स्थानीय तहदेखि संघीय र प्रदेश सरकारले पनि अलिकति मिहिनेतपूर्वक ध्यान दिन सक्यो भने मात्रै सहज ढङ्गले काम गर्न सकिन्छ। यो कुरामा ध्यान दिऊँ।

​यो हृदयविदारक दृश्य त्रिशुलीमा देखिएको छ, जुन देवीघाटमा देखिएको छ र खोला किनारमा देखिएको छ, तल्लो भागमा गजुरीसम्म पनि देखिएको छ, गल्छीमा पनि देखिएको छ। यी दृश्यहरू देख्दा एउटा मानव मन साच्चै नै पीडादायी, साच्चै नै हृदयविदारक हुँदो रहेछ। त्यो नहोस् भन्नका लागि पनि हामी सुरक्षित स्थानमा बस्नुपर्छ भन्ने हो। यसमा खोला किनारमा बस्नेले अलि बढी नै ध्यान दिनुपर्छ।

प्रतिक्रिया