भोटेकोशी बाढीमा बेपत्ता र मृतक पालिकाकाबासीलाई बलेफीले सहयोग गर्ने, विपद कोषमा ४० लाख छुट्याइयो

सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाले भदौ १० गते आएको विनासकारी बाढीमा परी बेपत्ता र मृत्यु  भएका पालिका भित्रका नागरिकका परिवारलाई आर्थिक सहयोग गर्ने भएको छ ।  

१५ भदौ, सिन्धुपाल्चोक ।  सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाले भदौ १० गते आएको विनासकारी रसुवा बाढीमा परी बेपत्ता र मृत्यु  भएका पालिकाका परिवारलाई आर्थिक सहयोग गर्ने भएको छ ।  

नेपाल चीन सीमा नजिकै रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी मृत्यु र सम्पर्क विहिन भएका ३४ जना बलेफीका स्थायी बासिन्दाका परिवारलाई गाउँपालिकाले तत्कालिन राहत उपलब्ध गराउने भएको हो । सोमबार बलेफी ५ बगालेगाउँस्थित पालिका कार्यालयमा बसेको गाउँ कार्यपालिकाको बैठकले सो निर्णय गरेको पालिकाका अध्यक्ष गंगाबहादुर तामाङले जानकारी दिए ।

‘परिवारका सदस्यहरूले पाँच दिनदेखि ठाउँठाउँमा पुगेर खोजी गरिरहेका छन् तर अहिलेसम्म मान्छे भेटिएका छैनन् । खोजी कार्यमा ठूलो खर्च भइरहेको छ,’ अध्यक्ष तामाङले भने, ‘यस्तो कठिन र पीडादायी अवस्थामा आँगनमै सरकार छ भन्ने अनुभूति दिलाउन स्थानीय तहका तर्फबाट सहयोग गर्न लागिएको हो ।’ उनले पालिका स्थानीय विपद् काेषमा हाल ४० लाख रकम छुट्याइएको जानकारी दिए । यही रकमबाट सम्पर्कविहिन र मृतकका परिवारलाई सहयोग गरिने उनको भनाई छ । साथै पालिकाले त्यस्ता परिवारका बालबालिकाको शिक्षाका लागि पनि सहयोग गर्ने भएको छ ।

रोजगारी तथा व्यवसायका सिलसिलामा रसुवा पुगेका बलेफीका ३३ जना बाढीपछि सम्पर्कविहीन छन् । एक जनाको शव फेला परेको छ । पालिकाका अनुसार बेपत्ता हुनेहरूमा वडा नं. १ बाट ४ जना, वडा नं. २ बाट २ जना, वडा नं. ३ बाट १ जना, वडा नं. ४ बाट छ जना, वडा नं. ५ बाट १ जना, वडा नं. ६ बाट ९ जना र वडा नं. ८ बाट १० जना रहेका छन् । वडा नं ८ झोलुङ्गेका विवेक श्रेष्ठको शव फेला परेको छ।

पालिकाले बेपत्ता नागरिकहरूको खोजतलास तथा उद्धारका लागि सम्बन्धित सम्पूर्ण निकायहरूसँग अपिल गर्दै उनीहरूको विवरण सार्वजनिक गरेको छ ।

बाढीमा परी बेपत्ता भएका बलेफीका नागरिकहरूको विवरण:

वडा नं. १ (जलविरे)

वडा नं. २ (फुल्पिङ कल्लेरी)

वडा नं. ३ (धुस्कोट)

वडा नं. ४ (डाँडागाउँ)

वडा नं. ५ (बलेफी)

वडा नं. ६ (माङ्खा)

वडा नं. ८ (लामोसाँघु टोप्का)

कुल सम्पर्क विहिन : ३३ जना

बेपत्ता नागरिकहरूबारे कुनै जानकारी वा सम्पर्क प्राप्त भएमा तत्काल उहाँहरूको परिवारजन वा नजिकैको प्रहरी कार्यालयमा खबर गरिदिन गाउँपालिकाले अनुरोध गरेको गरेको छ । बलेफीका ३५ जना सम्पर्क विहिन भएकामा वडा नं ४ केरावारीका सुवास खड्का सम्पर्कमा आएका छन् ।

प्रतिक्रिया