सिन्धुपाल्चोक भोटेकोशी तटीय क्षेत्रमा विपद् पूर्वसूचना प्रणाली जडानबारे गम्भीर छलफल भयो : सापकोटा

सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का पूर्वसांसद एवं नेपाली कम्युनिस्ट पार्टीका वन, वातावरण एवं जलवायु विभाग प्रमुख माधव सापकोटाले सिन्धुपाल्चोकको भोटेकोशी नदी तटीय क्षेत्रमा विपद् पूर्वसूचना प्रणाली जडान गर्नेबारे सिंहदरबारमा गम्भीर छलफल भएको बताएका छन्।

१६ भदौ काठमाडौँ, सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का पूर्वसांसद एवं नेपाली कम्युनिस्ट पार्टीका वन, वातावरण एवं जलवायु विभाग प्रमुख माधव सापकोटाले सिन्धुपाल्चोकको भोटेकोशी नदी तटीय क्षेत्रमा विपद् पूर्वसूचना प्रणाली जडान गर्नेबारे सिंहदरबारमा गम्भीर छलफल भएको बताएका छन्।

उनले सामाजिक सञ्जालमार्फत सिन्धुपाल्चोकको भोटेकोशी तटीय क्षेत्रमा हुनसक्ने जोखिम न्यूनीकरणका लागि लिपिङदेखि दोलालघाटसम्म पूर्वसूचना प्रणाली जडान गर्ने विषयमा गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा महत्त्वपूर्ण परामर्श भएको जानकारी गराएका हुन्। प्राधिकरणको सिंहदरबारस्थित कार्यालयमा कार्यकारी प्रमुख डा धर्मराज उप्रेतीलगायतको टोलीसँग महत्वपूर्ण छलफल भएको उनले बताए । तिब्बत क्षेत्रमा रहेका हिमतालहरू फुट्न सक्ने जोखिम कायमै रहेकाले सम्भावित क्षतिबाट जोगिन दीर्घकालीन महत्त्वको यो पहल अघि बढाइएको हो। छलफलमा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य युवराज दुलाल, बागमती प्रदेश सभा सदस्य अमृता नेपाल र काठमाडौँमा उपलब्ध सिन्धुपाल्चोकका स्थानीय तहका जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो।

भोटेकोशी, ब्रह्मायणी र इन्द्रावती नदी किनारमा घना बस्ती, शिक्षण संस्था, पर्यटकीय केन्द्र सुकुटे, तातोपानी नाका, भन्सार कार्यालयका साथै थुप्रै जलविद्युत् आयोजनाहरू सञ्चालनमा र निर्माणाधीन अवस्थामा रहेका छन्। अर्कोतर्फ पूर्वसूचना प्रणालीको अभावमा बेलाबेलामा फैलिने अफवाहका कारण स्थानीय नागरिकले अनावश्यक सास्ती व्यहोर्नुपरेकाले लिपिङदेखि दोलालघाट क्षेत्रसम्म यो प्रणाली यथाशीघ्र जडान गर्न सरोकारवालाहरू सहमत भएका छन्।

यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी हिमाली बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको छ। उक्त घटनालगत्तै नेताद्वय सापकोटा र दुलाल बाढी प्रभावित क्षेत्र नुवाकोट पुगेर स्थलगत निरीक्षण तथा उद्धार कार्यमा खटिएका थिए। रसुवामा जस्तै कहालीलाग्दो नियति सिन्धुपाल्चोकमा दोहोरिन नदिनका लागि पूर्वसूचना प्रणाली स्थापना गर्ने कार्यमा एकजुट भएर लाग्न, सहजीकरण गर्न र प्राविधिक सहयोग पुर्‍याउन उनले सबै सरोकारवालाहरूसँग अपिलसमेत गरेका छन्।

प्रतिक्रिया