

१६ भदौ काठमाडौ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढी गएको सात दिन पछि प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको छ । जस अनुसारनेपाल-चीन सीमा नजिकै आएको भयानक प्राकृतिक विपत्तिका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन गरी पाँच वटा जिल्ला प्रभावित भएका छन्। जसमध्ये रसुवा र नुवाकोटमा बढी प्रभाव परेको छ । बाढीका कारण करिब १६ लाख मानिसहरू प्रत्यक्ष रूपमा मर्कामा परेका छन्।
भोटेकोशी र त्रिशूली नदी तटीय क्षेत्रका जिल्लाहरू (रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन तथा नवलपरासी पूर्व र पश्चिम) बाट हालसम्म १०५० जनाको शव तथा मानव अङ्गहरू फेला परेका छन्। देशका ६२ जिल्लाहरूबाट कुल ३,९१६ जना मानिसहरू हराइरहेका छन् ।उद्धार कार्य अन्तर्गत हालसम्म २५३ जना विदेशी नागरिकसहित कुल ११,८१४ जनाको सकुशल उद्धार गरिएको छ। उद्धार कार्यलाई तीव्र बनाउन चीन, कोरिया र भारतका विशेषज्ञ टोलीसहित कुल २१,०११ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षाकर्मीहरू परिचालन गरिएका छन्।
रसुवाका अति प्रभावित गोसाइँकुण्ड र आमाछोदिङ्मो गाउँपालिकाका ३,७०२ घरधुरीका १४,४६१ जना मानिस (३,६५० बालबालिका र १,२०४ ज्येष्ठ नागरिक) विगत ७ दिनदेखि बाहिरी संसारबाट पूरै अलगिएका छन्। सडक, बिजुली र सञ्चार सम्पर्क विच्छेद भएकाले उनीहरूसम्म आपत्कालीन राहत र सहायता पुर्याउन निकै कठिन भइरहेको छ। यस बाढी र पहिरोले कुल ४१ वटा पक्की पुलहरू पूर्ण रूपमा बगाएको छ भने ४ वटा पुलमा क्षति पुर्याएको छ।भदौ १० अर्थात सन् २०२६ अगस्ट २६ का दिन बिहान करिब ८:४० बजे रसुवागढीभन्दा माथिल्लो नेपाल-चीन सीमा नजिकैको लेन्दे खोला आसपास ठूलो हिमपहिरो खसेको थियो। स्याटेलाइटबाट लिइएका तस्बिरहरू अनुसार करिब १ वर्ग किलोमिटर क्षेत्रफलको हिउँ र चट्टानको ठूलो भाग खसेर लेदो पहिरोमा परिणत भएको थियो। यो सामान्य मौसमी बाढीभन्दा कैयौँ गुणा ठूलो र विनाशकारी थियो।
हिमपहिरो खस्दा ५ म्याग्निच्युडभन्दा ठूलो भूकम्प सरहको कम्पन रेकर्ड गरिएको थियो । त्यो भूकम्प नभई त्यत्रो ठूलो परिमाणको चट्टान र हिउँ खसेको कडा धक्का थियो। यस घटनापछि नदीको बहाव रोकिएर ठाउँठाउँमा अस्थायी तालहरू बनेका थिए। केही तालहरू फुटिसकेको भएपनि निरन्तरको पहिरो र वर्षाका कारण अझै पनि नयाँ तालहरू बन्ने, नदी रोकिने र एक्कासि फुटेर फेरि अर्को बाढी आउने जोखिम कायमै छ।यस विपत्तिले भोटेकोशी, त्रिशूली र नारायणी नदी किनारका मुख्य बस्तीहरू, भन्सार तथा अध्यागमन कार्यालयहरू, पर्यटन मार्गहरू र रसुवागढी, चिलिमे तथा त्रिशूली जस्ता प्रमुख जलविद्युत् आयोजनाहरूमा ठूलो क्षति पुर्याएको छ। रसुवाको साँघुरो पहाडी भूगोल र बाक्लो बस्तीका कारण त्यहाँ बढी क्षति भएको छ ।
विपत्ति सुरु भएलगत्तै जल तथा मौसम विज्ञान विभागले तल्लो तटीय क्षेत्रमा पूर्वसूचना जारी गरेको थियो। बाढीको ठूलो छाल गल्छी, मलेखु, मुग्लिन हुँदै दिउँसो ४:०० बजेसम्ममा देवघाट पुगेको थियो । देवघाटमा नदीको बहाव इतिहासकै उच्च तहमा पुगेको अनुमान गरिएको छ। सम्भावित जोखिमबाट बचाउन नेपाल टेलिकम र एनसेल मार्फत तल्लो क्षेत्रका बासिन्दालाई ६ लाख ७९ हजारभन्दा बढी चेतावनीमूलक सन्देशहरू पठाइएको थियो। उच्च हिमाली क्षेत्रबाट सुरु भएको यो हिमपहिरो अहिले ठूलो लेदो बाढी र बहुप्रकोपिय आपत्कालीन अवस्थामा परिणत भएको छ र यसको जोखिम अझै पूर्ण रूपमा टरिसकेको छैन।

