चौतारा द्वारा प्रम राहत कोषमा ३५ लाख सहयोग, नगरका प्रभावित परिवारलाई १ लाख ५० हजार राहत

रसुवाको भोटेकोशी नदी लगायतका क्षेत्रमा गत भदौ १० गते आएको विनाशकारी बाढी पहिरोका कारण पुग्न गएको क्षतिप्रति चौतारा साँगाचोकगढी नगरपालिकाले दुःख व्यक्त गर्दै राहत र सहयोगको घोषणा गरेको छ।

१७ भदौ, चौतारा – रसुवाको भोटेकोशी नदी लगायतका क्षेत्रमा गत भदौ १० गते आएको विनाशकारी बाढी पहिरोका कारण पुग्न गएको क्षतिप्रति चौतारा साँगाचोकगढी नगरपालिकाले दुःख व्यक्त गर्दै राहत र सहयोगको घोषणा गरेको छ।

नगरपालिकाले आफ्ना जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा स्वास्थ्यकर्मीहरूको भदौ महिनाको सेवा-सुविधाबाट ३ देखि १० दिनको तलब कट्टा गरी संकलन गरेको ३५ लाख रुपैयाँ ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा जम्मा गर्ने निर्णय गरेको छ। कामको सिलसिलामा रसुवा पुगेका आफ्ना १२ जना नागरिक अझै अज्ञात अवस्थामा रहेको भन्दै नगरपालिकाले उनीहरूको खोज तथा उद्धारका लागि केन्द्रीय कमाण्ड पोष्टसँग निरन्तर समन्वय गरिरहेको जनाएको छ। साथै नगरपालिकाको विपद् कोष खाताबाट बेपत्ता तथा मृतकका परिवारलाई प्रतिव्यक्ति १ लाख ५० हजार रुपैयाँका दरले तत्काल आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ।

नगरप्रमुख कृष्णप्रसाद सापकोटाद्वारा जारी विज्ञप्तिमा विपद्को यस घडीमा राहत, उद्धार र पुनर्स्थापनाको कार्यमा सहयोग र समन्वय गर्न सबै नगरवासी, संघ-संस्था र नागरिक समाजसँग अपिल गरेका छन्। चौताराका १२ नागरिक भदौ १० को रसुवा भोटेकोसी बाढीमा परी सम्पर्कविहीन रहेको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया