

१७ भदौ, सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको जुगल गाउँपालिकाले भोटेकोशी र रसुवामा गएको बाढीमा परी बेपत्ता भएका व्यक्तिका परिवारलाई राहत र विपद् व्यवस्थापनका लागि आर्थिक सहयोगको घोषणा गरेको छ।
गाउँपालिकाका अध्यक्ष रेशम स्याङ्बोका अनुसार पहिरोमा बेपत्ता भएका पालिकाका प्रत्येक व्यक्तिको परिवारलाई सान्त्वना स्वरूप नगद रू १ लाख उपलब्ध गराइने भएको छ। यसका साथै जुगल गाउँपालिकाको तर्फबाट राष्ट्रिय विपद् कोषमा रू १० लाख जम्मा गर्ने निर्णय गरिएको छ।
विपद्को कठिन घडीमा हातेमालो गर्दै गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूले पनि आफ्नो सेवा सुविधा कोषमा जम्मा गर्ने भएका छन्। गाउँपालिकाका वडा सदस्य, वडा अध्यक्ष, उपाध्यक्षदेखि अध्यक्षसम्मका सबै निर्वाचित जनप्रतिनिधिहरूले बागमती प्रदेश सरकारको नियम बमोजिम पाउने १ महिना बराबरको भत्ता विपद् कोषमा जम्मा गर्ने निर्णय भएको अध्यक्ष स्याङबोले जानकारी दिए । साथै गाउँपालिकामा कार्यरत कर्मचारीहरूको तर्फबाट पनि विपद् कोषमा स्वेच्छिक योगदान गर्ने निर्णय भएको छ।

