भोटेकोशी बाढीपछि चीनद्वारा मौसम सम्बन्धी जानकारी दिने एआइ प्रविधि सहयोग

विपद् आएदेखि नै चीनका मौसम विज्ञान तथा जलस्रोतसम्बन्धी निकायहरूले नेपालका सम्बन्धित निकायसँग नजिकबाट सहकार्य गर्दै आएको चीनको विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले बताएका छन्।

२१ भदौ, बेइजिङ । नेपालमा गएको विनाशकारी बाढी तथा पहिरोपछि चीनले नेपाललाई मौसमसम्बन्धी सहयोग थप तीव्र बनाएको छ। चीनले सीमापार विपद् निगरानी तथा आपत्कालीन उद्धारमा सहयोग पुर्‍याउन उपग्रहबाट प्राप्त तथ्याङ्क र मौसमसम्बन्धी सेवाहरू उपलब्ध गराइरहेको चीनको मौसम विज्ञान प्रशासनले जनाएको छ।

चीनले आफ्नो एआइ अर्थात कृत्रिम बुद्धिमत्तामा आधारित मौसम पूर्वसूचना प्रणाली ‘माजु’मार्फत नेपाललाई विभिन्न मौसमसम्बन्धी सामग्री उपलब्ध गराउँदै आएको छ। यसअन्तर्गत बहुस्रोत उपग्रह तथ्याङ्क तथा फेङयुन–३ र फेङयुन–४ मौसम उपग्रहबाट प्राप्त सामग्रीसमेत समावेश छन्।

भदौ १० गते नेपाल चीन सीमास्थित जिरोङ–रसुवा नाका क्षेत्रमा भीषण बाढी तथा पहिरो गएको थियो। त्यसपछि चीनको राष्ट्रिय उपग्रह मौसम केन्द्रले विपद् प्रभावित क्षेत्रमा वर्षा तथा मौसममा भइरहेको परिवर्तनको निरन्तर निगरानी गरिरहेको जनाएको छ । चीनले उच्च क्षमताका उपग्रह तस्बिर तथा तथ्याङ्क प्रयोग गरी भोटेकोशीको माथिल्लो क्षेत्रमा रहेका हिमपहिरो तथा ढुङ्गा पहिरो प्रभावित क्षेत्र र नदीका धाराहरूको निगरानी गरिरहेको जनाएको छ। यसबाट विपद्को क्षतिको मूल्याङ्कन, उद्धार कार्य तथा मौसमसम्बन्धी सेवा सञ्चालनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

चीनको मौसम विज्ञान प्रशासनले नेपालका लागि तयार पारिएका मौसमसम्बन्धी सेवाहरूलाई फेङयुन मौसम उपग्रहसँग वास्तविक समयमै जोडेको छ। यसबाट बादलको तीव्र विकास, चट्याङ तथा वर्षाको अवस्थालगायत गम्भीर मौसमी गतिविधिको व्यापक क्षेत्रमा तत्काल निगरानी गर्न सकिनेछ। विपद् आएदेखि नै चीनका मौसम विज्ञान तथा जलस्रोतसम्बन्धी निकायहरूले नेपालका सम्बन्धित निकायसँग नजिकबाट सहकार्य गर्दै आएको चीनको विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले बताएका छन्। दुवै पक्षले निगरानीबाट प्राप्त सूचना आदानप्रदान गर्दै विपद्को संयुक्त रूपमा सामना गरिरहेका छन्। चीनले आगामी दिनमा नेपालसँग सम्बन्धित क्षेत्रमा सहकार्य अझ सुदृढ गर्दै नेपालको आपत्कालीन उद्धार तथा विपद् व्यवस्थापन प्रयासमा थप बलियो सहयोग जारी राख्ने जनाएको छ।

प्रतिक्रिया