

२६ भदौ, सिन्धुपाल्चोक । जिल्लाको बलेफी जलविरे कात्तिके तेम्बाथान सडक खण्डको तिप्लिङ खोला सुख्खा पहिरोले अवरुद्ध बनेको छ। वैकल्पिक राष्ट्रिय राजमार्गका रूपमा स्तरोन्नति भइरहेको यस सडकको बलेफीबाट ३ किलोमिटर जलबिरेतर्फ तिप्लिङखोलामा हिजोदेखि पटकपटक यातायात अवरुद्ध हुँदै आएको छ। सडक खुलाउन खटिएका सुरक्षाकर्मीका अनुसार बिहानैदेखि दुईवटा डोजर प्रयोग गरेर सडक खुलाउने प्रयास गरिए पनि पहिरो खस्ने क्रम रोकिएको छैन। पहिरो रोकिएको बेला मात्र सीमित सवारीसाधनहरू पार गराउने गरिएको प्रहरीले जनाएको छ। पहिरो पन्छाउन बन्देउबाट सशस्त्र प्रहरी तथा जलविरे र बलेफीबाट नेपाल प्रहरीको टोली खटिएको छ।
यो सडकखण्ड बलेफी, जुगल र चौताराका केहीभागका गरी तीनवटा स्थानीय तहका बासिन्दाका लागि मुख्य यातायातको माध्यमका रूपमा प्रयोग हुँदै आएको छ। ब्रह्माणायणी करिडोरको लाइफलाइन मानिएको यस सडकमा अवरोध सिर्जना हुँदा चाडपर्वको समयमा बाबुको मुख हेर्न तथा आफन्त भेट्न हिँडेका यात्रुहरू बाटोमा हैरानी बोहोर्न बाध्य छन् । निरन्तरको पहिरोका कारण थप जोखिम हुन सक्ने भन्दै सुरक्षा निकायले यस सडकखण्ड भएर रात्रिकालीन यात्रा नगर्न अनुरोध गरेका छन्। प्रहरीले यात्राका लागि वैकल्पिक मार्गको रूपमा चौतारा, बन्देउ र नौबिसे सडक खण्ड प्रयोग गर्न सुझाव दिएको छ।

