एसीसी मेन्स प्रिमियर कप २०२६: नेपालद्वारा युएईलाई पराजित गर्दै उपाधि कब्जा, एसिया कपमा छनोट

एसीसी मेन्स प्रिमियर कप २०२६ को फाइनलमा युएईलाई पराजित गर्दै नेपालले ऐतिहासिक जित हात पारेको छ ।

मलेसिया । एसीसी मेन्स प्रिमियर कप २०२६ को फाइनलमा युएईलाई पराजित गर्दै नेपालले ऐतिहासिक जित हात पारेको छ । क्वालालाम्पुरस्थित ओभल मैदानमा भएको रोमाञ्चक फाइनल भिडन्तमा नेपालले प्रस्तुत गरेको ३१४ रनको विशाल लक्ष्य पछ्याउने क्रममा युएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २६९ रन मात्र बनाउन सक्यो । फाइनल खेलमा संयुक्त अरब इमिरेट्स (युएई) लाई ४४ रनले पराजित गर्दै जित हात पारेको हो ।

नेपालको इनिङ्स: आसिफ र गुलशनको विस्फोटक ब्याटिङ

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३१३ रनको बलियो योगफल तयार पारेको थियो। नेपालका लागि ओपनर आसिफ शेखले सानदार शतक प्रहार गर्दै १०६ बलमा ८ चौका र ४ छक्काको मद्दतले १०२ रनको उत्कृष्ट इनिङ खेले। यस्तै अर्का ओपनर अर्जुन कुमालले ६३ बलमा ४३ रन जोड्दै आसिफसँग पहिलो विकेटका लागि ९३ रनको महत्वपूर्ण साझेदारी गरे।

मध्यक्रममा कप्तान रोहित पौडेलले ४४ बलमा ४० रन बनाए भने गुलशन झाले विष्फोटक ब्याटिङ गर्दै मात्र ३८ बलमा ३ चौका र ४ छक्कासहित ५२ रनको अर्धशतकीय योगदान दिए। त्यसैगरी, दिपेन्द्र सिंह ऐरीले १८, इशान पाण्डेले १३ र वासिर अहमदले अविजित १५ रन (४ बलमा) बनाएपछि नेपाल ३१३ को उचाइमा पुग्न सफल भयो। युएईका लागि इbrar अहमद शाहले सर्वाधिक ४ विकेट लिए भने खुजैमा तन्वीरले २ विकेट हात पारे।

युएईको जवाफी ब्याटिङ र नेपाली बलरहरूको अनुशासित प्रदर्शन

३१४ रनको ठूलो लक्ष्य पछ्याउने क्रममा युएईको सुरुवात राम्रो हुन सकेन र सुरुवाती ओभरहरूमै उसका महत्वपूर्ण विकेटहरू पतन भएका थिए। युएईका लागि राहुल चोप्राले सर्वाधिक अविजित १०० रन (१०५ बल) बनाए पनि टोलीलाई जिताउन सकेनन्। यस्तै, सोहेब खानले ५२ रन र तानिष सुरीले ४२ रन जोडे पनि अन्य बलरहरूको टिकेर खेल्न नसक्दा युएई निर्धारित ओभरमा २६९ रनमा सीमित भयो। नेपालको जितका लागि बलिङतर्फ ललित राजवंशी र करण केसीले कसिलो बलिङ गर्दै महत्वपूर्ण विकेट लिए। ललितले १० ओभरमा ४३ रन खर्चिएर २ विकेट लिए भने करण केसी, सन्दीप लामिछाने, कप्तान रोहित पौडेल र गुलशन झाले समान १-१ विकेट हात पारे। यस जितसँगै नेपालले एसोसिएट क्रिकेटमा आफ्नो वर्चस्व थप मजबुत बनाउनुका साथै प्रतिष्ठित प्रतियोगिताको उपाधि आफ्नो नाममा पार्न सफल भएको छ। यससँगै नेपाल एसिया कपमा छनोट भएको छ ।

प्रतिक्रिया